करेन्ट लागेर दुई जनाको मृत्यु
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा मंगलबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। वेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।
हावाहुरीले चुडिएको विद्युतको लाइन मर्मतका लागि प्राधिकरणका कर्मचारी सँगै खटिएका ककनी गाउँपालिका ७ चतुरालेका ५४ वर्षीय प्रेमबहादुर तामाङ र दूध विक्रीका लागि पसलतर्फ जाँदै गर्दा बाटोमा करेण्ट लागेर वेलकोटगढी नगरपालिका ४ डाडाखर्कका ५० वर्षीय अविलाश सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव निरीक्षक सलामसिह तामाङले जानकारी दिनुभयो।
नेपाल विद्युत प्राधिकरणको चरम लापरवाहीले सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। शवलाई पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली लगिएको छ।