रसुवागढी नाका चार दिन बन्द
नुवाकोट : निर्वाचनमा सीमा सुरक्षालाई दृष्टिगत गरी नेपाल-चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका चार दिन 'सिल' गरिने भएको छ । चीनतर्फको रसुवा पोर्टमा मंगलबार नेपाल र चीनका सुरक्षा अधिकारीबीचको द्विपक्षीय बैठकले निर्वाचनको सुरक्षाका लागि रसुवागढी नाका चार दिन पूर्ण रूपमा 'सिल' गरिने निर्णय भएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, चीनको केरुङतर्फका सुरक्षा डेपुटी चिफ लियो जीलगायतको द्विपक्षीय बैठकमा वैशाख ३१ गतेको निर्वाचनलाई लक्ष्य गरी निर्वाचन सुरु हुनुभन्दा ७२ घन्टाअघि नाका सिल गर्नुपर्ने प्रावधानअनुसार बुधबार राति १२ बजेदेखि रसुवागढी नाका पूर्ण रूपमा बन्द गरिने रसुवाका प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो । रसुवागढी नाका 'सिल' गरी पूर्ण रूपमा आवतजावत बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।