चुनावी थकानमा स्वास्थ्यको हेरचाह
वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको चर्चा गाउँदेखि सहरसम्म छ । टिकट पाउने कि नपाउने चिन्ताको चरणबाट अब उम्मेदवारहरू कसरी निर्वाचन जित्ने भन्ने कोसिसमा छन् । हरेक प्रत्याशी (उम्मेदवार) पार्टीबाट उठेका हुन् वा स्वतन्त्र रूपमा, प्रत्येकको चाहना हुन्छ कि जुनसुकै हालतमा निर्वाचन जितेर पदमा आउने । अब निर्वाचनको यात्रा त्यति सजिलो छैन, जति विगतका दिनमा हुन्थ्यो । अहिलेका मतदाता जान्ने र बुझ्ने भइसकेका छन् । नेताहरूको आश्वासनमा रुमल्लिने अवस्थामा उनीहरू छैनन् । आजका मतदाताको मन जित्न गाह्रो छ । सही, इमानदार, केही गर्न सक्ने क्षमतावान्लाई नै आजका मतदाताले प्रतिनिधि छान्नेछन् ।
निर्वाचनको यात्रामा अनेक प्रकारका मानसिक एवम् शारीरिक स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छ । निर्वाचनको दौरान विभिन्न पार्टीका नेता, कार्यकर्ता, प्रत्याशी उम्मेदवारको चहलपहल, भागदौड, व्यस्तता अत्यधिक हुन्छ । आज एक ठाउँ छ भोलि अर्को ठाउँ, मतदाताको घरदैलोमा पुग्नुपर्ने, निर्वाचनसभामा भाषण गर्नुपर्ने हुन्छ । जनताका माझमा प्रभावशाली ढगंले भाषण गर्नुपर्ने, लगातार बोल्नुपर्ने हुन्छ । आफ्नो वक्तव्यले मतदातालाई आकर्षित गर्नुपर्ने हुन्छ ।
निर्वाचनमा स्वास्थ्य समस्या
निर्वाचनका क्रममा गला बस्नु, स्वर भासिनु सामान्य हो । यसबाहेक अन्य स्वास्थ्य समस्याहरू जस्तैः शारीरिक थकान, जीउ दुख्नु, निद्रा नलाग्नु, आलस्य हुनु, काम गर्ने इच्छा नहुनु, अन्य पार्टीका प्रत्याशीसँग प्रतिस्पर्धा गर्नु मुस्किल हुन्छ कि भन्ने डर वा आत्मविश्वासको कमी हुनु, टाउको दुख्नु, भारी हुनु, दिमाग फ्रेस नहुनु आदि स्वास्थ्य समस्या निर्वाचनको क्रममा नेता, कार्यकर्ता तथा विभिन्न पदका उम्मेदवारमा देखिन सक्छ ।
निर्वाचनका दौरान हुन सक्ने स्वास्थ्य समस्याको तत्कालीन समाधानका लागि होमियोप्याथिक औषधि अत्यन्त प्रभावशाली छ । यसको सेवनले नेता, कार्यकर्ता, उम्मेदवार सबैको मानसिक एवं शारीरिक स्वास्थ्य तन्दुरुस्त भई पुनः निरन्तर कार्यमा फर्कन सक्छन् ।
उपचार
स्वर भासिएमाः निर्वाचनको प्रचारप्रसारका दौरान भाषण गर्दागर्दै यदि गला बस्यो र पुनः अर्को ठाउँमा भाषण गर्नु छ भने भाषण गर्नुभन्दा दुई घन्टा अघि ‘कोका क्यु' पाँच-पाँच थोपा आधा-आधा घन्टाको फरकमा आधा गिलास पानीमा लिनाले गला सफा हुनुका साथै स्वर खुल्छ ।
निर्वाचनमा भाषण गर्दा गला बस्नु, स्वर भासिनु सामान्य हो । शारीरिक थकान, जीउ दुख्नु, निद्रा नलाग्नु, आलस्य हुनु, काम गर्ने इच्छा नहुनुजस्ता समस्यामा होमियोप्याथिक तपाईंको सहयात्री बन्न सक्छ ।
स्वर भंग हुनुः धेरै बोल्नाले प्रायजसो स्वरयन्त्रको कार्यशक्ति कम हुन जान्छ र कहिलेकाहीँ त बोल्दै गरेको बेला स्वर भंग भइदिन्छ । आवाज भारी भएर आउँछ । यस्तो अवस्था ‘माओरम ट्रिफाइलम-३०/शक्ति'को केही मात्रा औषधिले भंग भएको आवाजलाई लाभ दिन्छ । भाषणका दौरान स्वर लोप हुन लागेमा अर्जेन्ट ‘मेटालिकम-३०/शक्ति'को प्रयोगले आवाजलाई ठीक पारिदिन्छ । भाषण गरेपछि आवाज भारी हुन गएमा ‘कास्टिकम-३०'को प्रयोगले स्वरलाई पहिलेकै अवस्थामा फर्कन मद्दत गर्छ ।
आत्मविश्वासको कमी
उम्मेदवारहरू भोलिको चिन्ता गर्दछन् । भोलि कहाँबाट निर्वाचनको प्रचारप्रसार सुरु गर्ने ? राम्रो रेस्पोन्स पाइन्छ कि पाइँदैन ? भन्ने कुरालाई लिएर चिन्तित देखिन्छन् । कतिपयमा आफूप्रतिको विश्वासमा पनि कमी देखिन्छ । यदि आत्मविश्वासको कमी भएमा ‘लाइकोपोडियम-३०/शक्ति'को सेवनले प्रत्याशीको चिन्तालाई हटाउन सक्छ ।
आलस्य हुनः निर्वाचनको बेला धेरैजसो पार्टीका नेता, उम्मेदवार तथा कार्यकर्तालाई निद्रा पर्दैन । फलस्वरूप उनीहरू दिउँसो आलस्यबाट ग्रसित रहन्छन् । कसैसँग आवश्यक कुरा गर्दागर्दै वा कसैको कुरा सुनिरहेको बेला बसैकै ठाउँमा निदाउन थाल्छन् । यस्तो अवस्थामा उम्मेदवार, नेता, कार्यकर्ताले पूर्णरूपले निद्रा लिनुपर्छ । यदि निदाउन खोज्दा पनि निद्रा परेन भने ‘काली फास-६ एक्स' औषधि दुई, तीन मात्रा सेवन गर्नु फाइदाजनक हुन्छ ।
शारीरिक थकान तथा दुखाइः निर्वाचनमा दिनभरिको धपेडीले शरीर थाकेको हुन्छ । काम गर्ने इच्छा नै हुँदैन, यस्तो स्थितिमा बिहान निर्वाचनको प्रचारप्रसारमा निस्किनुअघि नै ‘एवेना सटाइवा-क्यु (अर्क) आधा गिलास पानीमा ३० थोपा हालेर सेवन गर्दा थकान हटाउछ । जीउ दुखिरहेको छ भने ‘रसटाक्स-३०' एवम् आर्निका-३०मध्ये कुनै एक औषधिको प्रयोग गर्दा लाभदायक हुन्छ । गर्मीको मौसम छ, यसबेला सुतीको लुगा लगाउनुपर्छ । जसले शरीरबाट निस्केको पसिनालाई सोस्न सकोस् । पानी आवश्यकताअनुसार पिउनु उत्तम हुन्छ । यसले डिहाइड्रेसनबाट बचाउनुका साथै थकानबाट पनि बचाउँछ ।
दिमाग ठन्डा र फ्रेस हुन जरुरी छः निर्वाचनको माहोलमा नेता, कार्यकर्ता एवं प्रत्याशी उम्मेदवार दिनभरि भाषण गर्नु, बहस, तर्कवितर्क एवम् मतदाताहरूलाई कन्भिन्स गर्न मानसिक थकान हुन्छ । यस्तो स्थितिमा ‘ऐसिड फान्स-३०' अथवा ‘फेरम फास-६' एक्स औषधि तपाईंको मस्तिष्कलाई ताजा बनाउँछ ।
होमियोप्याथिक औषधिहरू पूर्णरूपले सुरक्षित छन् । किनकि यी प्राकृतिक गुणले भरिपूर्ण हुन्छन् । यसबाट कुनै साइट इफेक्ट हुँदैन । सम्भावित खतराबाट बच्न वा बचाउनको लागि निवारकको रूपमा पनि यसलाई लिन सकिन्छ । यी औषधिहरू चुनावी दौरानमा तपाईंको सहयात्री सावित हुन सक्छन् ।