हवाई आश्वासनको वितरण

हवाई आश्वासनको वितरण

निर्वाचन आयोगले यही वैशाख ३१ र जेठ ३१ मा दुई चरणमा स्थानीय निकाय निर्वाचनको मिति तोकेको छ । जसअनुसार वैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न हुँदैछ । उक्त दिन प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २०३ स्थानीय निकाय निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताएको छ । निर्वाचनको लागि विभिन्न राजनीतिक पार्टीहरू निर्वाचन घोषणापत्रसहित प्रचार-प्रसारमा उत्रिएका छन् ।

krishna-belbase_2निर्वाचनका क्रममा प्रमुख पार्टीहरूले निर्वाचन घोषणापत्रमार्फत जनसमुदायमाझ बाँडेका आश्वासन हेर्दा अब देश नाटकीय रूपमा प्रगतिपथमा लम्कने र छिट्टै नेपाली जनताका दुःखका दिन अन्त्य हुने देखिन्छ । घोषणापत्रमा कांग्रेसले देशलाई १० वर्षमा मध्यम आययुक्त मुलुक बनाउने, वार्षिक तीनदेखि पाँच लाख रोजगार सिर्जना गर्ने, १० हजार मेगावाट बिजुली उत्पादन गर्नेलगायतका आश्वासन दिएको छ ।

एमाले पार्टीले प्रतिव्यक्ति आम्दानी १० वर्षमा पाँच हजार डलर, २५ वर्षमा १५ हजार डलर, १० वर्षभित्र १८ वर्ष पुगेका सबैलाई रोजगार, वृद्ध र सुत्केरीलाई प्रतिमहिना पाँच हजार भत्ता वितरण गर्ने जस्ता घोषणा गरेको छ । माओवादी केन्द्रले तीव्र आर्थिक वृद्धिदर, रोजगारको व्यवस्था नहुँदासम्म बेरोजगार भत्ता, सुत्केरी भत्ता, एकल महिला र ६० वर्ष पुगेकालाई पेन्सन वितरण जस्ता प्रतिबद्धता जनाएको छ । राप्रपाले एक घर एक रोजगार, सबै स्थानीय निकायमा २५ बेडको अस्पताल, स्वास्थ्य बिमालगायतका आश्वासन दिएको छ । त्यसैगरी नयाँ शक्ति पार्टीले प्रतिव्यक्ति आम्दानी पाँच वर्षमा दुई हजार, १५ वर्षमा ६ हजार र २५ वर्षमा १५ हजार डलर पु‍र्‍याउने, दुई दसकभित्र दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने, पाँच वर्षमा वार्षिक तीन लाख, १५ वर्षमा चार लाख र २५ वर्षमा पाँच लाख रोजगार सिर्जना गर्ने आश्वासन बाँडेको छ ।

 

यी दलहरूले आफ्ना घोषणापत्रहरूमार्फत जनसमक्ष बाँडेका आश्वासन मात्र हेर्ने हो भने दलहरूको इच्छाशक्ति दृढ रहेको र देश विकास गर्न दलहरू निकै लालायित छन् भन्ने देखिन्छ । यस आधारमा आजसम्म देशको विकास नहुनुको कारण दलहरू र तिनको नेतृत्वको असफलता होइन, त्यसको पछाडि अन्य कारणहरू जिम्मेवार हुनुपर्छ भन्ने निष्कर्षमा पुगिन्छ तर यथार्थ यसो होइन । दलहरूले जनसमक्ष यस किसिमको आश्वासन फगत स्थानीय निकाय निर्वाचनमा जनताको समर्थन प्राप्त गर्ने हेतुले बाँडिरहेकोमा विवाद छैन । यसभन्दा पर अझ प्रान्तीय एवं संसद्को निर्वाचनमा उनीहरूले कस्ता खाले आश्वासन एवं प्रतिबद्धताहरू व्यक्त गर्लान् ? त्यो झन् विचारणीय विषय हुन पुगेको छ ।

जनताले चटकेहरूको आश्वासनलाई विश्वास गरेर उनीहरूलाई मत प्रदान गरे भने ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने' भन्ने नेपाली उखान सार्थक हुनेछ र उनीहरूले बाँकी समय पश्चात्तापमै बिताउनुपर्नेछ ।

यी दलहरूले के, कति र कस्ता कुरा गर्छन् र तिनको बोली र व्यवहारबीच कति फरक देखा पर्छ भन्ने खुट्ट्याउन यिनीहरूले भविष्यमा गर्ने कार्यको प्रतीक्षा गर्नैपर्दैन । यिनीहरूको विगत हेर्नु पर्याप्त हुनेछ । यस प्रसंगमा राप्रपा पूर्वपञ्चहरूको पार्टी भएको र त्यसमा आबद्ध व्यक्तिहरू पञ्चायत र त्यसपछि गरी कम्ीतमा पनि ४० वर्षजति शासन सञ्चालनमा सहभागी रहेको पाइन्छ । त्यसैगरी कांग्रेसले कम्तीमा पनि १८ वर्ष (२०१५ को सहभागिता छोडेर), एमालेले कम्तीमा १० वर्ष र माओवादीले ६ वर्षजति सरकारमा सहभागिता जनाएको पाइन्छ । नयाँ शक्ति नामको समूह पनि माओवादीबाट चोइटिएर बनेकाले त्यसले पनि पाँच वर्षजति सत्ता भोग गरेकै हो । तर यसबीच दलहरूले एकदुइटा लोकप्रिय कार्यक्रम लागू गर्नेबाहेक देश विकासको लागि कुनै ठोस उल्लेखनीय काम गरेको पाइँदैन । बरु उल्टै दलहरूको जोड जुनसुकै मार्ग अवलम्बन गरेर भए पनि सत्तामा पुग्ने, त्यहाँ टिकिरहने अनि राष्ट्रिय सम्पत्तिको ब्रह्‍मलुट गर्ने मात्र रह्‍यो । यस उद्देश्य परिपूर्तिहेतु पञ्चायतकाल पञ्चहरूका निम्ति स्वर्णयुग नै रह्‍यो । तर दलहरू र नेपाली जनताको त्याग र बलिदानद्वारा पञ्चायत व्यवस्थाको अन्त्य भएपछि पनि उक्त प्रवृत्तिको अन्त्य हुन सकेन ।

यो प्रमाणित विषय हो, कांग्रेसको सरकारले निजीकरणको नाममा देशमा विदेशीहरूको सहयोगमा निर्मित उद्योगहरूलाई कौडीको मूल्यमा बिक्री गरेर दलका नेताहरू मौलाउने, तर देश दरिद्र बन्ने सिलसिला प्रारम्भ गरेको थियो । तर सत्ता पक्षको यस किसिमको राष्ट्र एवं जनविरोधी क्रियाकलापको प्रतिवाद गर्नुपर्ने प्रतिपक्षी एमालेले यसै कुरोको सिको मात्र ग‍र्‍यो । त्यस्ता कार्यमा साझेदारी खोज्यो । कांग्रेस एमालेको यस किसिमको कार्यबाट राप्रपालाई झन् सहज हुन गयो । राष्ट्रिय सम्पत्तिमा लुटको यो प्रक्रियाले त्यतिबेला पूर्णता पायो, जतिखेर ०४६ को परिवर्तनपश्चात्को राष्ट्रिय ब्रह्‍मलुटविरुद्ध सशस्त्र संघर्षमा उत्रिएको माओवादी पार्टीसमेत यसै शृंखलामा आबद्ध हुन आइपुग्यो । झन्डै १० वर्ष राष्ट्रघात एवं राष्ट्रिय लुट मच्चाउनेहरूको लागि चुनौती बनेको माओवादीका कारण लामो समय स्थानीय निकाय निर्वाचनसमेत सम्पन्न हुन सकेको थिएन । जसले गर्दा झन्डै २० वर्षपश्चात् बल्ल स्थानीय तहको निर्वाचन सम्पन्न हुँदैछ ।


भारतको नयाँदिल्लीमा सम्पन्न बाह्रबुँदे समझदारीको बलमा सम्पन्न २०६३ सालको जनआन्दोलनपश्चात् देशमा स्थापित सहमति र सहकार्यमूलक पद्धतिले वैधानिकता प्रदान गरेको राष्ट्रिय ब्रह्‍मलुटको सिलसिला अझै जारी छ । त्यसै ब्रह्‍मलुटका हिस्सेदार दलहरू नै अहिलेसम्म राष्ट्रिय राजनीतिका मूल पात्रहरूको रूपमा रहेका छन् । अनि तिनीहरू नै यतिबेला आकर्षक घोषणा एवं प्रतिबद्धता पत्रहरूसहित जनसमक्ष मतको याचना गरिरहेका छन् । यो अरू केही नभएर जनतालाई उल्लु बनाउने काम मात्र हो । यसो गरेर उनीहरूले जनताको स्मरण शक्ति कमजोर हुन्छ । तिनीहरूले हिजोका कुरा सहजै बिर्सिन्छन् । त्यसैले तिनीहरूसामु नयाँ रूपमा प्रस्तुत हुँदा र तिनीहरूबीच झुट्टा एवं असम्भव आश्वासन बाँडिदिँदा तिनीहरूलाई सहजै छक्याउन सकिन्छ भन्ने ठानेका छन् । तर नेपाली जनता सचेत भइसकेका छन् । तिनीहरूले दलहरूका व्यवहारलाई राम्ररी बुझिसकेका छन् ।

यो एउटा विवेकशील व्यक्तिले सहजै बुझ्न सक्ने कुरा हो, दलहरूद्वारा वितरीत घोषणापत्र झूटको पुलिन्दासिवाय अरू केही होइन । उनीहरूले भने झैं देशमा पाँच÷दस वर्षमा कायापलट हुने हो भने बहुदलीय व्यवस्था स्थापना भएको २७ वर्ष र गणतन्त्र स्थापना भएको १० वर्षमा किन त्यसो हुन सकेन ? बरु उल्टै मुलुक झन् ओरालो लाग्यो । अनि मुलुकको अवस्था ओरालो लागिरहँदा पनि दलीय नेतृत्व भने कसरी मालामाल हुन पुग्यो ? यसबाट दलीय नेतृत्व नेपाली जनतासामु झुट्टा सपना बाँडिरहेको छ । जनतालाई कोरा सपनामा रुमल्याएर आफ्नो लुटको स्वर्ग कायमै राख्न चाहिरहेको छ भन्ने राम्ररी प्रष्टिन्छ।

यतिबेला दलहरूले स्थानीय निर्वाचनलाई ठगी खाने माध्यमको रूपमा प्रयोग गर्न चाहिरहेका छन् । यसो भन्नुको तात्पर्य स्थानीय निर्वाचनको आवश्यकता र औचित्यता दुवै छैन भन्ने कदापि होइन । स्थानीय निर्वाचन यतिबेला देशमा राजनीतिक-संवैधानिक रिक्तता सिर्जना गर्दै देशलाई अझ अस्थिरतातिर लैजान खोज्नेहरूविरुद्धको अभियान पनि हो । यो जगजाहेर हो । केही विदेशी शक्तिहरू यतिबेला नेपालमा आफ्नो प्रभाव कायम गरेर दक्षिण एसियामै अस्थिरता सिर्जना गर्न प्रयत्नरत छन् । यसका लागि उनीहरू नेपालमा संवैधानिक व्यवस्था कायम होस् भन्ने चाहँदैनन् ।

उनीहरूको पहिलो जोड संविधान नै नबनोस् भन्ने रहेको थियो । उनीहरूको चाहनाविपरीत संविधान बने पनि यो लागू नहोस् भन्नेमा उनीहरूले जोड गरिरहेका छन् । त्यसैले कहिले संविधानको अस्वीकार्य, कहिले संघीय एकाइको पुनर्संरचना त कहिले स्थानीय निर्वाचन रोक्ने षड्‍यन्त्रहरू भइरहे । अन्ततः जनइच्छा स्थानीय निकायको निर्वाचन होस् भन्ने पक्षमा रहेका कारण यसलाई रोक्न चाहनेहरूको केही लागेन । तर पनि ती तत्वहरू निर्वाचनलाई तीन प्रदेशमा मात्र सीमित तुल्याउन सफल भएका छन् । जेठ ३१ गते बाँकी चार प्रदेशमा सहज निर्वाचन हुन नदिने हिसाबले ती शक्तिहरूले आफ्नो प्रयत्न जारी राख्नेछन् । तापनि जनबलसामु तिनीहरूको केही लाग्ने छैन र दोस्रो चरणको निर्वाचनसमेत सम्पन्न हुनेछ भन्नेमा आशावादी हुने ठाउँ छ ।

देशमा यस किसिमको परिस्थिति सिर्जना भइरहँदा पनि एकथरी तत्वहरू निर्वाचनलाई संसदीय खेल मात्र देख्ने र एकोहोरो निर्वाचन बिथोल्ने अभियानमा लागेका देखिन्छन् । आफूहरूको यस किसिमको कार्यबाट देशको राष्ट्रियताविरुद्ध षड्यन्त्र गरिरहेका देशीविदेशी तत्वहरूलाई फाइदा पुग्न जान्छ भन्नेमा उनीहरूको ध्यान गएको देखिँदैन । यसो गर्नेहरूले दसबर्से जनयुद्धलाई शान्तिपूर्ण अवतरण गर्ने नाममा मञ्चन गरिएको नाटकले राष्ट्रियतामाथि सिर्जना भएको खतराबाट समेत पाठ सिक्न चाहेको देखिँदैन । हो, जनविरोधी एवं भ्रष्टाचारीहरूले स्थानीय निर्वाचनलाई स्थानीय तहहरू कब्जा गरेर राष्ट्रिय सम्पत्तिमा लुट मच्चाउने उपायको रूपमा लिएका छन् भन्ने कुरोमा विमती राख्ने ठाउँ छैन । तर यो निर्वाचन त्यत्ति कुरोसँग मात्र सीमित छैन । यो बाह्रबुँदे दिल्ली समझदारीदेखि प्रारम्भ भएको देशभित्रका जनप्रतिनिधिमूलक संस्थाहरूलाई अस्तित्वविहीन तुल्याई देशमा विदेशी हैकम सुदृढ बनाउने षड्‍यन्त्र विफल तुल्याउने अवसर पनि हो ।

यसको लागि निर्वाचनमा राष्ट्रवादी र जनपक्षधर व्यक्ति एवं शक्तिहरूले विजय प्राप्त गर्नु आवश्यक छ । तर निर्वाचनमा पैसा र बलको बढी महत्व रहने परिपाटीले स्थान पाउने गरेकाले हिजोका भ्रष्ट र राष्ट्रविरोधी मात्र प्रतिस्पर्धामा रहेको जस्तो देखिन्छ । तिनीहरूको जोड जसरी भए पनि स्थानीय निकाय निर्वाचनको परिणाम आफ्नो हातमा पार्ने कुरामा मात्र रहेको पाइन्छ । यसका लागि उनीहरू जेजस्तो उपाय पनि अवलम्बन गर्न तयार छन् भन्ने कुरा एक त, दलहरूको घोषणापत्रहरू पढ्दा थाहा हुन्छ । त्यो किनभने स्थानीय तहहरूको संरचना जसरी निर्धारण गरिएको छ, त्यसलाई हेर्दा धेरै निकाय खर्चको अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने निश्चित छ । अनि ती निकाय सञ्चालनका लागि आवश्यक खर्च जुटाउन जनतामाथि चर्को कर लगाइनेछ । यसरी जनताबाट उठाइने कर र अन्य स्रोतहरूबाट जुट्ने रकम स्थानीय पदाधिकारीहरूको तलब, भत्ता र कार्यालय सञ्चालनको लागि मात्र खर्च हुनेछ । दोस्रो कुरा, संकीर्ण राजनीतिक आस्थाका आधारमा निर्वाचित जनप्रतिनिधिहरूमध्ये कतिले वास्तवमा जनताको सेवा गर्नेछन् भन्ने कुरा पनि सोच्नुपर्ने विषय भएको छ ।

यससँगै दलहरूले उम्मेदवार चयनमा देखाएको कार्यशैली झन् विचित्रको छ । दलीय नेतृत्वले उम्मेदवार चयन गर्दा आफ्ना नातेदार र दलालहरूलाई बढी प्राथमिकता दिएको देखिन्छ । त्यसैगरी दलहरूबीच चुनाव जित्ने हेतुले भइरहेको गठबन्धन हेर्दा त्यो सिद्धान्त, एजेन्डा कुनै पनि कुरामा आधारित देखिँदैन । स्पष्ट छ, यो अवसरवादी गठबन्धन हो । अवसरवादी कुन अर्थमा भने गठबन्धन दलहरूद्वारा अगाडि सारिएका घोषणापत्रहरूमा समावेश हवाई आश्वासनहरूको परिपूर्तिको लागि नभएर जसरी पनि स्थानीय तहको नेतृत्व हत्याएर साधन, स्रोत र बजेटमा मनोमानी गर्दै स्थानीय स्तरमा आफ्नो हैकम चलाउने कुरोप्रति लक्षित छ । त्यसैले यो निर्वाचनले विकास एवं निर्माणको हिसाबले खासै महत्व राख्दैन । यसको महत्व भनेकै देशमा संक्रमणकाल लम्ब्याएर अस्थिरतामा रुमल्याइराख्ने विदेशी स्वार्थको षड्‍यन्त्र विफल तुल्याउनु हो । यससँगै स्थानीय निकायको गठनमा देखा परेका कमीकमजोरी सच्याउँदै तिनलाई सही र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिएमा जनताले थोरबहुत सेवा र सुविधा प्राप्त गर्न सक्ने कुरा अस्वीकार गर्न सकिँदैन । तर दलहरूका निर्वाचनलगायतका व्यवहारहरू भने त्यस दिशातर्फ लक्षित रहेको पाइँदैन, जुन विडम्बनापूर्ण छ ।

त्यसैले यतिखेरको आवश्यकता जनतालाई तर्साएर स्थानीय निकाय निर्वाचन हुन नदिने र स्थानीय नेतृत्व हात पार्ने प्रयोजनका लागि जनताबीच हवाई आश्वासन बाँडेर उनीहरूलाई झुक्याउने प्रयास गर्नेहरू दुवै जनपक्षधर शक्तिहरू होइनन् र हुन सक्दैनन् । त्यसैले सचेत जनमतको दायित्व यी दुवै किसिमका प्रयासलाई विफल तुल्याउँदै सही, इमानदार र प्रतिबद्ध नेतृत्वको चयन गर्नु हो । यसो नगरी जनताले चटकेहरूको आश्वासनलाई विश्वास गरेर उनीहरूलाई मत प्रदान गरे भने ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने' भन्ने नेपाली उखान सार्थक हुनेछ र उनीहरूले बाँकी समय पश्चात्तापमै बिताउनुपर्नेछ । विगतमा नेपाली जनताले निकै हन्डर बेहोरेका छन् । उनीहरू स्वाभिमानी र राष्ट्रवादी पनि छन् । उनीहरूले मुलुक भ्रष्ट र राष्ट्रघातीहरूको चंगुलमा परेको पनि देखेका छन् । यस आधारमा उनीहरूले विवेकसम्मत निर्णय लिनेछन् भन्नेबारेमा धेरै हदसम्म आशा राख्न सकिन्छ । कामना गरौं- नेपाली मतदाताले स्थानीय निर्वाचनमा प्रयोग गर्ने मतले नेपाल राष्ट्रको स्वाभिमानलाई कायम राख्दै मुलुकको नवनिर्माणको अभियान अगाडि बढाउन सघाउनेछ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.