‘म बाँचे, अब अरूलाई पनि बचाउँछु
कालो भादगाउँले टोपी लगाउँदा राउटे कपिल शाही अघिपछि भन्दा फरक देखिनुभयो । अधिकांश भागमा बेन्डेज गरिएको उहाँको शरीर गाउनले ढाकियो । काखीमा बायाँ खुट्टाबाट निकालिएको छाला प्रत्यारोपण गरिएको छ । तर उहाँको मुहारमा पीडाको कुनै लक्षण देखिएन । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक, नर्स र शुभचिन्तकको भीडमा उहाँका आँखा अन्तै मोडिए ।
जंगलको बास, पुसको कठ्यांग्रिँदो जाडोमा अगेनामा आगो ताप्दा जलेपछि करिब सात महिनादेखि मृत्युसँग जुधिरहेका शाहीलाई उपचारका लागि सेन्टरमा ल्याएको २१ दिनपछि मंगलबार डिस्चार्ज तथा बिदाइ एकैपटक गरिँदै थियो । त्यसका लागि सभामुख ओनसरी घर्तीमगर सेन्टर आउने सुइँको पाएपछि कपिलका आँखा घर्तीमगर आउने बाटोतिर मोडिए । उपचारपछि आफू बाँच्छु र बिदाइ त्यति भव्य होला भन्ने उहाँले कल्पना पनि गर्नुभएको थिएन ।
सभामुख घर्तीमगर सेन्टरमा प्रवेश गरेपछि कपिल दंग पर्दै बिदाइका सबै गतिविधि नियाल्न थाल्नुभयो । उपचारमा संलग्न चिकित्सक कपिललाई डिस्चार्ज गर्ने सुरमा थिएनन् । कपिल भने आफू बाँचेको र अब अरूलाई पनि बचाउनुपर्छ भन्नेमा पुग्नुभयो र डिस्चार्ज गर्न चिकित्सकसँग अनुनय गर्नुभयो ।
राउटे समुदायमा हरेक १२ वर्षमा वैशाखमा कुलपूजा गर्ने परम्परा छ । कुलपूजामा सबै सदस्य अनिवार्य उपस्थित हुनुपर्छ । कुलपूजामा एकजना पनि अनुपस्थित भए समुदायका सबै पुरुषको मृत्यु हुने विश्वास उनीहरूमा छ । तर कपिल उपचारका लागि गत वैशाख ५ मा काठमाडौं आउनुभएको थियो । कपिललाई कुर्दाकुर्दै महिनै बित्न लागेपछि आत्तिएर आफन्त उहाँलाई लिन काठमाडौं नै आए । केही सीप नलागेपछि सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा तीन महिना नियमित फिजियोथेरापी गर्ने सहमतिसहित बिदाइ गर्ने निधोमा चिकित्सकहरू पुगे ।
‘मेरो ज्यान बाँच्यो, अब बाँच्छुजस्तो लाग्दैछ । कुलपूजा हाम्रा लागि सबैथोक हो । म गइनँ भने अरू मर्छन् । मलाई डाक्टरले बचाए, अब मैले अरूलाई बचाउनुपर्छ', कपिलले भन्नुभयो, ‘देउता रिसाए भने सबै नास हुन्छ । त्यसो हुन दिनु हुन्न ।' कपिल छिटोभन्दा छिटो अछाम पुग्न चाहनुहुन्थ्यो । सेन्टरका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. पियुष दाहाल कपिलको बिदाइमा त्यति खुसी हुनुहुन्न । ‘कपिलको जलेर टाँसिएको देब्रे हात अब चलाउन मिल्छ । दुईपटक शल्यक्रिया पनि भयो । अब लगभग निको भयो तर जोखिम अझै छ', डा. दाहालले भन्नुभयो, ‘कपिलले नियमित फिजियोथेरोपी गरेनन् भने फेरि बल्झन सक्छ ।'
दाहालले कपिलजस्ता जलेर घाइते भएका अन्तिम समयमा उपचार लागि आउने र उनीहरूलाई बचाउन धेरै कठिन हुने बताउनुभयो । जलेको उपचार सेवा मुलुकको सबै स्थानमा नहुँदा धेरै मानिसको ज्यान गइरहेको उहाँको भनाइ थियो । दाहालको भनाइ कपिलले ध्यानपूर्वक सुन्नुभयो । सभामुख घर्तीमगरलाई पर्खंदा कपिलले भन्नुभएको थियो, ‘हामीलाई पहिले अस्पतालको उपचारमा विश्वास लाग्दैनथ्यो । जंगलकै जडीबुटी खान्थ्यौं । निको नभई धेरै मरे । मलाई अस्पताल ल्याइयो र बाँचें । अब म अरूलाई पनि भन्छु- औषधि गर्न अस्पताल जानुपर्छ ।'
सभामुख घर्तीमगरले कपिलको उपचार सफलताले अन्य पिछडिएको समुदायलाई पनि सकारात्मक सन्देश दिएको बताउनुभयो । स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै कपिललाई घर्तीमगरले बिदाइ गर्नुभयो । उनको उद्धार गरी उपचारमा पहल गर्ने राउटे उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी भावुक बन्दै कपिलको उपचारको उपलब्धिले आफू निकै खुसी भएको सुनाउनुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले कपिलको उद्धार र उपचारपछि आफूले सन्तुष्टि पाएको बताउनुभयो ।
सबैको भाषण सुनेपछि कपिलले पनि माइक समातेर भन्नुभयो, ‘हामीलाई बचाइदियो हामी खुसी छौं । मलाई थाहा थिएन सन्चो हुन्छ भन्ने । डाक्टरलाई धन्यबात् । यसैगरी दिदीलाई पनि बचाएको भए म अझै खुसी हुन्थें । उनी उपचार नपाएरै मरिन् ।'