सुखको खोजीमा लागौं
धम्मपदको प्रारम्भमै उहाँ भन्नुहुन्छ, ‘सबै कुरा मन हो, मानिसको हकमा सबै कुराको भोक्ता मन नै रहेको पाइन्छ, दुःख होस् या सुख होस्, अनुभोक्ता यही मन हो ।' बुद्धको मनले सर्वत्र दुःख देख्यो, कहीं, कतै र केहीमा सुख पाएन र अन्त्यमा पनि दुःखरहित अवस्थामा पुग्यो । त्यसलाई सुखको अवस्था भनेन । हामी भाषामा अर्थ निकाल्दा दुःखरहित अर्थात् सुखमय भन्ने बुझ्न सक्छौं ।
भाषाको आफ्नै पंगुता हुन्छ । बुद्धले अन्त्यमा सुख अनुभव गर्नुभएको भए सुख शब्दसँग उहाँको कुनै वैरभाव थिएन । उहाँले चौथो सत्य सुखमय अवस्था भन्नुहुन्थ्यो, तर सुखमय नभनी दुःखरहित अवस्था भन्नुभयो । बुद्ध निश्चय पनि सुखको खोजीमा हिँडेका राजकुमार थिए । जुन कुरा अरूका लागि महासुख हुन सक्छ, त्यसले तृप्ति, सन्तोष, शान्ति, प्रमुदता, सुख अनुभूति हुन सकेन उहाँलाई । राजमहलमा आफूलाई दुःखी पाएर ‘कुनै कल्पनाको सुखको' खोजीमै मध्यरातमा राजकुमारले पलायन हुनुपर्यो ।
तर के कल्पनाको सुख भेटियो ? राजकुमार सिद्धार्थले बुद्ध बनेर दुःखरहित अवस्था भेट्टाए, सुख भेट्टाएको भए त आफ्नो परिस्थितिले पनि उहाँलाई ‘ऐ त्यो त्यहाँ राजमहलमा सुख होइन, मैले पाएको सुख नै साँचो सुख हो' भन्न बाध्य बनाउँथ्यो । तर उहाँ इमानदार हुनुहुन्थ्यो, जे अनुभूति पाउनुभयो त्यही भन्नुभयो, सुख अवस्था होइन दुःखरहित अवस्थामा प्रतिष्ठित हुनुभयो र त्यसैको उद्घोष गर्नुभयो ।
राजकुमार सिद्धार्थ जुन दिन बुद्ध बने, संसार त पुरानै अवस्थामा थियो, सिद्धार्थकै पालाको राजकुमारकै आँखाले हेर्ने किसिमकै थियो । परिवर्तन त राजकुमारमै घटेको थियो, बाँकी संसार कहाँसम्म भने त्यो वृक्ष पनि जस्ताको त्यस्तै थियो । के बदलियो त ? बुद्ध आत्मा र परमात्माको कुरा गर्नुहुन्न, कता-कता सांख्य दर्शनसँगै उहाँको कुरा मेल खान्छ । उहाँको मन बदलियो मन—मस्तिष्कको मीमांसा बदलियो, मनको आयाम बदलियो, शरीर त जन्मले जे थियो बाँचुन्जेल त्यही नै रहिरह्यो ।
परापूर्वकालदेखि नै मानिस खोजीमा रहिआएको देखिन्छ । यो समस्त विकास उसको खोजीको गुणले भएको हो । आगोको खोजदेखि क्वार्क कणको खोजी, चक्कादेखि वायुयानसम्मको खोजी, कृषिको खोजीदेखि कृत्रिम पानी पार्नेसम्मको खोजी, अमेरिकाको खोजीदेखि बृहस्पतिको कक्षमा ‘जुनो' पठाउनेसम्म उसले केको लागि गर्दै आएको छ । करेन्सीको अवधारणा, विद्युत्को खोज, कम्प्युटर, इन्टरनेट मात्रै किन घडी, छाता, घर, कुर्सी, सिरक, डस्ना आदि-आदि जे भने पनि उसले केको लागि बनायो ? सुख प्राप्तिको लागि होइन ? ‘स्ट्रिङ थ्योरी' कै जनक ब्राहमांड बीउकै खोजीमा किमार्थ लागिपरेका छन् ? खोज्दै जानुस् कारण त्यही आउन पुग्छ, अन्त्यमा सुखको खोजी । फ्रायड जसरी भन्छन् सबै सेक्स ओरिएन्टेड छन्, केको लागि ? त्यसै सुख प्राप्तिको लागि होइन !? तमाम कला, साहित्य, संगीत सुखकै निमित्त होइनन् !
जहाँ जुनसुकै हालतमा हुनुहुन्छ पहिला त्यसमै सुख अनुभव गर्न प्रारम्भ गर्नुस् र निश्चय गर्नुस्, म आफूलाई सुखी बनाउँछु र म सुखको खोजीमा छु भन्ने विश्वास गर्नुस् ।
हिन्दुहरूको मनोरम पौराणिक कथा छ । ब्रह्म एक्लै थियो, ऊ आफू एक्लोपनाले दिक्क भयो र त्यो दिक्कपनाको दुःख मेटाउन सुखी हुन उसले आफ्नो संकल्पद्वारा (मनद्वारा संकल्प मनसँग सम्बन्धित छ) सारा सृष्टिको निर्माण गर्यो । यस अर्थमा हामी सबै ब्रह्मको सुखको अभिलाषाका मूर्तरूप हौं । हामी सुखी भए, खुसी भए ब्रह्म सुखी-खुसी हुन्छ । हामी दुःखी भए ब्रह्म नै दुःखी हुन्छ । मानिसमा भएको सुखको खोज र चाहना ब्रह्मप्रदत्त हो ।
हिन्दुहरूको पौराणिक कथा ब्रह्म सृष्टिको प्रसंगवश उल्लेख गरे पनि मजस्ता यायावरको लागि सृष्टि कसले गर्यो, ईश्वर छ कि छैन, पुनर्जन्म हुन्छ कि हुन्न, आत्मा छ कि छैन ? कर्म, प्रारब्ध निर्वाण, मोक्ष र यसका साधन एवं विधि कुनै महत्वका प्रश्न होइनन् । मेरो मानसमा यी प्रश्नले कुनै स्थान नै ओगट्दैनन्, प्रश्न नै नभएपछि जवाफको उत्कण्ठा रहन्न । हो, यस चेतनाले यति बुझेको छ, मानिस सुख चाहन्छ, खुसी चाहन्छ । साँच्चै म सिद्धार्थ गौतमबुद्धमा विश्वास राख्ने, उहाँको अनुगामी भएको भए निश्चय नै शरीर हत्या (आत्महत्या भनेर म उहाँको अपमान गर्न चाहन्न) गरिसक्ने थिएँ, जब सुखको अवस्थाकै पूर्ण अभाव छ, दुःखरहित अवस्था मात्रै छ भने त्यो पाउन किन तमाम उपद्रो गर्नु ?
मानिस सुख चाहन्छ, एक भिखारीदेखि खर्बौंपति केको लागि भौंतारिरहेका छन् ? पाठक वर्ग, तपाईं आफैंसँग सोध्नु्स्, तपाईं के चाहनुहुन्छ ? प्रधानमन्त्रीको कुर्सी, महाकविको उपमा, राजकीय सम्मान, इच्छित सुन्दरीको सामीप्य, आलिशान बंगला, बीएम डब्लू गाडी, आकर्षक जागिर आदि अन्य । केको लागि चाहनुहुन्छ सुख प्राप्तिकै लागि होइन र ? दुःखका साथ भन्नुपर्छ- आज मानव जातिले नै यो मूल कुरा बिर्सेको छ कि उसको लक्ष्य सुख प्राप्ति हो । यसको एउटा कारण हाम्रा तथाकथित माडसापहरू पनि हुन् ।
उनले सुखको सधैं निन्दा गरे, आम मानिसको मस्तिष्कमा आफ्नो लागि सुखको खोजीलाई घृणित एवं निन्दनीय हो भनी भरिदिए, यसलाई स्वार्थको संज्ञामा रूपान्तरण गरिदिए । आफ्नो लागि क्षणिक सुख होइन, वरन, मुक्ति, मोक्ष, निर्वाण, परमपद, कैवल्य, आत्मसाक्षात्कार, अहं ब्रह्मास्मीको कहिल्यै ननासिने, कहिल्यै नहराउने, कहिल्यै नघट्ने स्थिर सुख, आनन्दको खोजी गर, यही नै मानव जीवनको लक्ष्य हो भनी बुद्धि भुट्ने कार्य गरिदिए । मानिसका नजरमा आफ्नो लागि ‘सुख खोज्दैछु' भन्नु अपयशमूलक बन्न पुग्यो तर प्रकृति मानवीय शिक्षाले कहाँ बदलिन्छ । मानिसको प्रकृति त आफ्नो लागि सुख खोज्नु थियो र छ फरक यति मात्र आयो ऊ छद्मी बन्यो । नभनीकन, नजानीकन, नबुझीकन भए पनि ऊ सुखकै खोजीमा हुन्छ ।
अर्कोतिर भौतिकवादीहरूले पनि समाज, देश, जाति, मानवता, समुदाय, सम्प्रदाय, धर्मको लागि उसलाई व्यक्तिगत सुखको चाहना गर्नु निन्दनीय हो भनी ‘कन्भिन्स' गरे । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि, सत्यमेव जायतेको घोकाइले ऊ मर्न र मार्न तयार भयो । परिणामतः व्यक्तिगत सुख निन्दनीय बन्यो । आज परिस्थिति यो छ कि कसैसँग पनि सोध्नुस्, ऊ म सुख चाहन्छु, सुखको खोजीमा छु भन्ने मानसिक स्पष्टता राख्दैन ।बुद्ध कसरी बुद्ध भए, शंकराचार्य आमाको सुखको लागि आफू पनि रमाएर आमाको काखमै बसिराखेका भए के आदिगुरु बन्ने थिए ? मुकेश अम्बानी पिता धीरुभाई अम्बानीले थुपारिदिएको धनराशिमै अल्मलिएका भए के ‘अन्तालियो' बन्ने थियो । उपलब्ध सुखले सन्तुष्ट भएको भए उपर्युक्त अथवा अन्य कोही पात्र पनि सफलताको शिखर छुन सक्ने थिएनन् ।
बुद्धको निर्वाण पनि सुख हो, विल गेट्स्को धनदौलतको संसार पनि सुख हो, अमत्र्य सेनको सतत् अध्ययन र अर्थशास्त्र पनि सुख हो, ह्विल चेयरमा बसेका स्टिफन हाकिन्सको ‘क्वान्टम फिल्ड थ्योरी' का जटिल समीकरणको व्याख्या गर्नु पनि सुख हो । यही सुखमा टेक्दै कुनै दिन उनी ब्रह्माण्ड बीउको खोजी गर्न सफल हुन सक्छन् । सारा प्रकृति सुखमय छ, को दुःखी छ यहाँ मानिसबाहेक ! फेरि मानिसलाई दुःखी बनाउने उसकै सदृश्य मानिस नै होइनन् ? जहाँ जुनसुकै हालतमा हुनुहुन्छ पहिला त्यसमै सुख अनुभव गर्न प्रारम्भ गर्नुस् र निश्चय गर्नुस् म आफूलाई सुखी बनाउँछु र म सुखको खोजीमा छु भन्ने विश्वास गर्नुस् प्रकृतिसँग बुद्ध बनाउने कोटा पूर्ण भएको छैन र न त वारेन बफेटजस्तो बन्ने कोटामा आरक्षण पद्धति कायम गरिएको छ ।