यसरी स्वास्थ्य सुधारौं

यसरी स्वास्थ्य सुधारौं

ठूला नेता, अभिनेता, अभिनेत्री, कलाकार, लेखक, पत्रकार उच्च रक्तचाप, मुटुको रोगको समस्या भएर अस्पतालमा भर्ना हुन्छन् । समाचार बन्छ तर उनीहरू किन त्यस्तो समस्याबाट पीडित भए ? उनीहरूको जीवनशैलीमा के खराबी थियो, उनीहरूले कति चुरोट, रक्सी सेवन गर्थे ? वा कस्तो किसिमको अस्वस्थकर खाना खान्थे ? कति तनावमा थिए ? भन्नेबारेमा कहीँ कतै छलफल हुँदैन । पत्रपत्रिकामा आउँदैन । वास्तवमा मृत्यु र रोगमात्रै समस्या वा खबर नबनेर जीवनशैली सपारेर कसरी स्वस्थ रहन सकिन्छ भन्ने पनि बहस हुनुपर्ने होइन र ? ती नेता, अभिनेता, कलाकारहरू के गरेको भए स्वस्थ रहन्थे होला भन्ने छलफल गरे उत्तम हुँदैन र ?

स्वास्थ्य मन्त्रालयले सन् २०१३ मा गरेको एक अध्ययनअनुसार नसर्ने रोगहरू बढ्दै गएका छन् । त्यसअनुसार नेपालमा हाल ४२ प्रतिशत मृत्युको कारण नसर्ने रोगहरूबाट र त्यसमा पनि विशेष गरी मुटुको रोग, क्यान्सर, मधुमेहजस्ता रोगबाट भएको पाइएको छ । साधारण मानिसहरू भकाभक मर्दा, पक्षाघात हुँदा, मिर्गौलाको समस्याले पीडित हुँदा त्यो समाचार बन्दैन । खराब जीवनशैली र बढी चिल्लो भएका पत्रु खाना नै यस्ता नसर्ने रोगहरूको प्रमुख कारण भनेर प्रमाणित भइसकेको छ । जीवनशैली सुधार्न के गर्नुपर्छ भन्नेबारे विशेषज्ञहरूले भन्दै पनि आएका छन् । तर, औपचारिक रूपमा त्यस्ता छलफल गर्न र कुनै पनि सरकारी निकायमा रोकथामका लागि संस्थाहरू बनाइएका छैनन् । ठूला अस्पतालमा समस्या भएपछि उपचार त गरिन्छ तर तिनै अस्पतालमा जीवनशैली र भोजन सुधार्ने परामर्श दिने कोठा वा विभाग कतै देखिएको छ त ?

उपचारमात्रै गरिने तर नसर्ने रोगहरू नहोस् भन्ने उद्देश्यले उपाय नलगाउने हो भने त स्वास्थ्यका लागि राखेको सबै स्रोत उपचारमा नै सकिनेछ । यसले गर्दा केही प्राइभेट अस्पतालहरूको कमाइ त पक्कै बढ्छ तर जानकारीको अभावमा पिल्सिएर नसर्ने रोगबाट पीडित हुने गाउँका व्यक्ति वा सहरमा बस्ने गरिब व्यक्तिचाहिँ उपचारको अभावमा मर्छन् । झन् अहिले त कतिपय युवा पनि नसर्ने रोगबाट पीडित भएपछि उनीहरूले श्रम गर्न सक्दैनन् र देश विकासमा नै बाधा पुग्छ । अध्ययनअनुसार नेपालमा केवल ०.४ प्रतिशत व्यक्तिमात्र नसर्ने रोगका खतराहरूबाट मुक्त थिए । अर्थात्, ९९ प्रतिशत व्यक्तिलाई नसर्ने रोग हुनसक्ने कुनै न कुनै एक खतरा पाइएको थियो । कुनै सानो ठाउँमा गरिएको यो तथ्यांकले सम्पूर्ण देशको प्रतिनिधित्व गर्न नसकेमा यसले स्थितिको गम्भीरता भने देखाउँछ ।

जुन अस्पतालमा हृदयाघात भएका, मोटोपन भएर उच्च रक्तचाप भएका, मधुमेह भएकालाई भर्ना गरेर उपचार गरिन्छ, त्यही अस्पतालको खाजा खाने ठाउँमा केक, चिसो पदार्थ, डुनोटलगायतका पत्रु खाना बेचिन्छन् ।

सुर्ती र चुरोटको प्रयोग, पत्रु खानाको प्रयोग, बढी बोसो, मैदा भएका पदार्थहरूको प्रयोग, तनाव, योग र हिँडाइको कमी, चिनीको बढी प्रयोग र यसले गर्दा रगतमा नराम्रो खालको बोसो बढी हुनु, उच्च रक्तचाप हुनु, मधुमेह आदिले जनस्वास्थ्यमा खतरा निम्त्याएको छ । बोसो भएका पदार्थ विभिन्न चिसा पेयपदार्थ, केक, गुलियो पदार्थ आदि मुटुका लागि शत्रु नै हुन् । यो तथ्य स्वास्थ्यकर्मीले बारम्बार नभनेका पनि होइनन् तर जुन अस्पतालमा हृदयाघात भएका, मोटोपन भएर उच्च रक्तचाप भएका, मधुमेह भएकालाई भर्ना गरेर उपचार गरिन्छ, तिनै अस्पतालको खाजा खाने ठाउँमा केक, चिसो पदार्थ, डुनोटलगायतका पत्रु खाना बेचिन्छन् ।

 

भित्रपट्टि बिरामी जीवन र मृत्युको संघर्ष गरिरहेका हुन्छन्, बाहिरपट्टि उनलाई उपचार गर्ने स्वास्थ्यकर्मी वा बिरामीका परिवार त्यस्तै खाना खाँदै बिरामीको लाइनमा उभिइरहेका हुन्छन् अर्थात् पैसा खर्च गरेर नसर्ने रोगहरू किनिरहेका हुन्छन् । यो अवस्था सरकारी र प्राइभेट दुवै अस्पतालका क्यान्टिनमा देखिन्छ । एकजना मुटुरोग विशेषज्ञले भनेका थिए, ‘हाम्रो अस्पतालमा जँचाउन आउने बिरामीमध्ये ६६ प्रतिशतको रगतमा नराम्रो खालको बोसो बढेको पाइएको छ । रगतमा नराम्रो खालको बोसो बढ्नु र राम्रो खालको बोसो घट्नु स्वास्थ्यका लागि खतरा हो ।'

विभिन्न किसिमको मुटुको समस्याका लागि यो एक कारक तत्वव पनि हो तर त्यही अस्पतालकै खाने ठाउँमा नै त्यस्ता चिल्लो बढ्ने खाद्यपदार्थ र केकहरू मज्जासँग सजाएर राखिएका हुन्छन् । जब मुटुरोग उपचार गर्ने अस्पतालमा नै पोषणका बारेमा बिरामीलाई जानकारी दिइँदैन भने अरू कसले यसबारे चिन्ता लिन्छ ? स्वास्थ्य मन्त्रालयमा पोषणका बारेमा एउटा विभाग पनि छ तर उसले केवल बालबालिकालाई कसरी कुपोषणबाट बचाउने र कसरी औषधि खुवाएर कुपोषणको उपचार गर्ने भन्ने कुरामा बढी काम गर्छ ।

स्वास्थ्य मन्त्रालयले मधुमेह, उच्च रक्तचाप आदि समस्याका बारेमा केही सानासाना पुस्तिका पनि निकालेको छ । नसर्ने रोगहरूलाई जनस्वास्थ्यको प्रमुख मुद्दा हो भनेर न जानकारी दिन कार्यक्रम बनाएको छ, न प्राथमिक उपचारकेन्द्र न त स्वास्थ्यचौकीमा यसका बारेमा ज्ञान दिने योजना बुनेको छ । गाउँघरमा पनि धूमपान, मद्यपान, बढी गुलिया पदार्थको प्रयोग, विभिन्न पत्रु खानाको प्रयोग बढ्दैछ । नेपालका जुनसुकै अनकन्टार ठाउँमा गए पनि प्याकेटका पत्रु खाना जहाँ पनि पाइन्छन्, स्कुलका सानासाना नानीदेखि लिएर वस्यक व्यक्तिहरू पनि पत्रु खाना र चिसो पेय पदार्थमा झुम्मिएपछि त मुटु, रक्तचाप र मिर्गाैलाका समस्या बढ्ने नै भए । यसले विस्तारै शरीरका अंगप्रत्यंग विस्तारै गल्दै जान्छन् ।

कुनै ठूला मान्छे रक्तचाप, मिर्गौलाको समस्या आदिबाट पीडित भए उनीहरू उपचारका लागि बाहिर जान्छन् । सरकारले उनीहरूको उपचार खर्च तिरिदिन्छ । अहिले अस्पतालमा मिर्गौला उपचार निःशुल्क गर्ने भनिएको छ । यो राम्रो कदम होला तर कति जनताको र कहिलेसम्म निःशुल्क उपचार गर्न सकिन्छ ? नसर्ने रोग मुटु, मिर्गाैला आदिको समस्याबाट बच्ने उपायका लागि पैसा छुट्याइएको छैन । औषधिमात्र दिएर र उपचारमा खर्च गरेर ठूला नेताको समस्या त समाधान होला, साधारण जनताचाहिँ कता जाने ? समस्यामा पर्ने त साधारण जनता नै हुन् । साधारण जनतालाई यस्ता समस्याबाट बचाउनका लागि जानकारी दिन स्वास्थ्य मन्त्रालयले कुनचाहिँ कार्यक्रम ल्याएको छ ? थाहा पाउन पाए उत्तम हुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.