आज अन्तिम प्रचार

आज अन्तिम प्रचार

काठमाडौं : दल र उम्मेदवारहरूले वैशाख ३१ गते हुने पहिलो चरण निर्वाचनका लागि प्रचारप्रसार कार्य बिहीबार मध्यरातिसम्म मात्र गर्न पाउने भएका छन् । बिहीबार राति (१२ बजेबाट) चुनाव प्रचार बन्द (मौन अवधि) सुरु हुने निर्वाचन आयोगले उल्लेख गरेको छ ।

मतदान हुनु ४८ घन्टा अघिदेखि मतदान सम्पन्न नभएसम्मको अवधिलाई मौन अवधि भनिन्छ । यो अवधिमा चुनावी प्रचारप्रसार, र्‍याली, सभा-सम्मेलनजस्ता कुनै पनि गतिविधि गर्न पाइँदैन । स्थानीय तह निर्देशिकामा मौन अवधिमा कुनै पनि प्रचारप्रसार कार्य गर्न नपाइने व्यवस्था छ ।

‘मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिनु हुँदैन', निर्देशिकाको दफा (६१) को १ मा उल्लेख छ । सोही निर्देशिकाको दफा ७० को (१) मा भनिएको छ, ‘मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न निधेष गरिएको छ ।'

निर्वाचनको स्वच्छता र निष्पक्षताका लागि मौन अवधि निकै संवेदनशील रहेको उल्लेख गर्दै निर्वाचन आयुक्त नरेन्द्र दाहालले यो अवधिलाई आयोगले निकै महत्वव दिएको र सम्बन्धित पक्ष पनि सतर्क रहनुपर्ने बताउनुभयो । मौन अवधिमा मतदातालाई आर्थिकलगायत प्रलोभन, डर र त्रास देखाएर मत पक्षमा पार्ने काम हुने भएकाले मतदाता पनि सचेत हुनुपर्ने आयुक्त दाहालले बताउनुभयो ।

उता मतदानको अवधि नजिकिँदै जाँदा दलका कार्यकर्ताबीच हत्या, आक्रमण, कुटपिटजस्ता हिंसात्मक घटना बढ्दै गएपछि निर्वाचन आयोगले मुख्य दललाई आचारसंहिता पालनामा लिखित प्रतिबद्धता जनाउन लगाएको छ । प्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री एवं फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, राप्रपाका बुद्धिमान तामाङ, संघीय समाजवादीका शिवजी यादवले आयोगको आचारसंहितामा लिखित प्रतिबद्धता जनाउनुभएको हो ।

 

‘निर्वाचन लोकतन्त्रको आधारशिला हो । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचनले मात्र लोकतन्त्रको सुदृढीकरणमार्फत सुशासनमा टेवा पुर्‍याउँछ भन्ने तथ्यलाई हृदयंगम गर्दै मुलुकमा सम्पन्न गरिने स्थानीय तहको निर्वाचनको सुव्यवस्थापनमा हाम्रो अग्रणी भूमिका रहेको तथ्यलाई आत्मसात गर्दछौं' प्रतिबद्धतामा भनिएको छ, ‘निर्वाचन आयोगले जारी गरी कार्यान्वयनमा ल्याएको निर्वाचन आचारसंहिता तथा स्थानीय तह निर्वाचन आचारसंहितामा उल्लेख भएका आचारसंहिताका बुँदाको अक्षरशः पालनाका लागि हामी प्रतिबद्धता व्यक्त गर्दछौं ।'

त्यसक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदानको दिन नजिकिँदै जाँदा विभिन्न ठाउँमा आगजनी र कुटपिटजस्ता घटना भएको तथा दोलखामा एक जनाको ज्यानै जाने घटनाप्रति आयोग दुःखी भएको भन्दै आचारसंहिता पालनामा कटिबद्ध हुन नेताहरूको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसक्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङले सत्तापक्षबाट आचारसंहिता उल्लंघनका घटना भएको र दोलखामा एमाले कार्यकर्ताको हत्यामा संलग्नलाई सरकारकै दबाबमा थुनामुक्त गरिएको भन्दै आपत्ति जनाउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.