अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन : क्वार्टरफाइनलका खेल सम्पन्न
इटहरी : सुनसरीको इटहरीमा मंगलबारदेखि सुरु भएको अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको छनोट प्रतियोगिताअन्तर्गत बुधबार क्वार्टरफाइनलका खेलहरू सम्पन्न भएका छन् ।
प्रतियोगिताका रेफ्री समीरबहादुर सिंहका अनुसार पुरुष एकलतर्फ विशाल मोक्तानले प्रमिश श्रेष्ठलाई, सुरज प्रसादले दिवस शंकरलाई, विशाल खड्काले प्रकाश लिम्बूलाई र सुजन श्रेष्ठले अजय चौधरीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।
त्यसैगरी महिला एकलतर्फ नीता लम्सालले श्वेता गिरीलाई, सुलोचना भक्तराजले रोज पाण्डेलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका छन् । यस्तै लिना चोङ्वाङ र सीमा राजवंशीले वाकओभर पाए ।
यसैगरी पुरुष युगलतर्फ प्रकाश लिम्बू र रकम लिम्बूको जोडीले रञ्जन अधिकारी र सुरेश कार्कीको जोडीलाई पराजित गर्यो । यस्तै प्रकाश राई र विशाल राईको जोडी चोलाप्रसाद आचार्य र सन्तोष कटुवालको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो । यसैगरी सूर्य श्रेष्ठ र थमन गुरुङको जोडीले हुनुहाङ गुरुङ र प्रनिश श्रेष्ठको जोडीलाई पराजित गर्यो भने अजय चौधरी र उज्ज्वल पोखरेलको जोडीले पनि विजय हासिल गर्दै सेमिफाइनलमा स्थान बनायो ।
बिहीबार सेमिफाइनल र फाइनलका खेलहरू हुनेछन् । प्रतियोगिताको समापनसमेत बिहीबार नै हुनेछ । प्रतियोगिताअन्तर्गत क्षेत्रीय छनोटका विजेता तथा उपविजेताले काठमाडौंमा अन्तर्राष्ट्रिय खेलाडीहरूसँग खेल्ने अवसर पाउनेछन् । पहिलोपटक राजधानीबाहिर सञ्चालन गरिएको छनोट खेलमा सहभागी हुन पूर्वका सुनसरी, मोरङ, पाँचथर, इलामलगायत विभिन्न जिल्लाका एक सय ३० खेलाडी इटहरी आएका थिए । प्रतियोगितामा पुरुष एकल, पुरुष युगल र महिला एकलसहित तीन विधामा खेल सञ्चालन भइरहेका छन् ।
यसअघि सुदूरपश्चिमाञ्चलको धनगढी, मध्यपश्चिमाञ्चलको नेपालगन्ज र पश्चिमाञ्चलको बुटवल र पोखरामा यस्तै छनोट खेलहरू भइसकेका छन् । प्रतियोगितालाई नेपाल ब्यान्डमिन्टन संघले प्राविधिक सहयोग गरेको छ । यसैगरी धरानस्थित विजयपुर अस्पताल प्रालिले तीन दिनका लागि प्रतियोगिता स्थलमा दुईजना कर्मचारीसहितको हेल्थ डेस्क सञ्चालन गरेको छ ।