च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि रियल मड्रिड र युभेन्ट्स भिड्ने
काठमाडौंः च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि साविक विजेता रियल मड्रिड र युभेन्ट्स क्बल भिड्ने भएका छन्। गएराति भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगको खेलमा एथ्लेटिको मड्रिडसँग २–१ गोल अन्तरले पराजित भएपनि रियल मड्रिड समग्रमा ४–२ गोल अन्तरको जित निकाल्दै युभेन्ट्ससँगको उपाधिका भिडन्त पक्का गरेको हो। युभेन्टस भने मोनाकोलाई पराजित गर्दै यसअघि नै फाइनल पुगिसकेको छ।
गएराति एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा खेलको १२ औं मिनेटमा साउलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। यस्तै खेलको १६ औं मिनेटमा एन्टोनिजयो ग्रिजम्यानले गोल गर्दै एथ्लेटिको मड्रिडको अग्रता दोब्बर पारे। तर, खेलको ४२ औं मिनेटमा रियल मड्रिड इस्कोले गोल गर्दै एथ्लेटिकोको अग्रता २–१ मा झारे। दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन।
च्याम्पियन्स लिगको दोस्रो लेगमा २–१ ले हारेपनि रियल मड्रिड समग्रमा ४–२ गोल अन्तरको जित निकाल्दै फाइनल पुग्न सफल भएको हो। घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको पहिलो लेगमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मदतमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।
रियल मड्रिडले अघिल्लो संस्करणको च्याम्पियन्स लिग फुटबलको फाइनलमा पनि एथ्लेटिको मड्रिडलाई पराजित गर्दै उपाधि उचालेको थियो। सर्वाधिक ११ पटकको विजेता रियल मड्रिड पछिल्लो चार वर्षमा तेस्रो पटक च्याम्पियन्स लिग फुटबलको फाइनल पुगेको हो। रियल मड्रिड र यभेन्टसबीचको उपाधि भिडन्त आगामी जुन ३ तारिखमा वेल्सको कार्डिफमा हुनेछ।