आर्सनलले साउथह्याम्टनलाई हरायो, शीर्ष चारमा पर्ने सम्भावना कायमै
काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ। गएराति भएको खेलमा आर्सनलले साउथ ह्याम्टनलाई २–० गोल अन्तरले पराजित गरेको हो।
जितसँगै आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावनालाई कायमै राखेको छ। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको आर्सनलका लागि ६० औं मिनेटमा सान्चेजले गोल गर्दै सुरुवाती अग्रता दिलाए। यस्तै खेलको ८३ औं मिनेटमा ओलिभर जिराउडले गोल गरेपछि आर्सनल २–० को जित निकाल्न सफल भयो।
जितपछि आर्सनल ३५ खेलबाट ६६ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ। लिगको चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलबाट ६९ अंक छ भने छैठौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ६५ अंक छ।