सावधान, गलत व्यक्तिले मत पाउला !

सावधान, गलत व्यक्तिले मत पाउला !

होला नहोला भन्दाभन्दै बहुप्रतीक्षित स्थानीय निर्वाचन दैलोमै आइपुगेको छ । आजदेखि (वैशाख २८, २९ र ३० गतेसम्म) निर्वाचन आयोगले चुनाव प्रचारप्रसार गर्न तीन दिन रोक लगाएको छ । वैशाख ३१ गते बिहान आठ बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । बीस वर्षपछि हुन लागेको यो चुनावको महत्वव कति छ, यसका भुक्तभोगी र आफ्ना जनप्रतिनिधिविहीन काल बेहोरेका जनतालाई बताउन खोज्नु बत्तीका अगाडि सूर्यको बयान मात्र हुनेछ । यो चुनावको अझ अचम्मलाग्दो पाटो त के भने ३५ वर्ष उमेर पुगेका व्यक्तिहरू जीवनमा पहिलोपटक आफ्नो स्थानीय प्रतिनिधिलाई भोट हाल्दैछन् ! सबैलाई थाहै छ, नेपालीको सरदर आयु ६७ वर्ष मात्र छ।

चुनावमा को उठे ? कसले उठ्न पाएन ? कसले पार्टीबाट टिकट पायो, कसले पाएन ? कसले उम्मेदवारी दर्ता गरेर पनि पार्टी केन्द्रले माथिमाथि नै विपक्षी पार्टीसँग तालमेल मिलाएपछि केन्द्रको दबाबमा उम्मेदवारी दिइसकेपछि पनि नाम फिर्ता लिनुपर्‍यो ? सबैको अगाडि जगजाहेर छ । यसलाई लिएर राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले त आफ्नो फेसबुक खातामा व्यंग्यवाण नै प्रहार गरे । उनले लेखे, ‘कांगे्रसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओली संविधान कार्यान्वयन गर्दैछन् ! गज्जब कार्यान्वयन गर्दैछन्, गर्दै जाँदा देउवा माओवादी र ओली राप्रपा भएछन् !'

गौतमको यो आक्रोशको पछाडि कारण छ, उनी पञ्चायतकालदेखि बहुदलीय व्यवस्था पुनस्र्थापना हुँदै गणतन्त्र स्थापनासम्मका प्रतिबद्ध लेखक÷राजनीतिक विश्लेषक हुन् । लोक-गणतन्त्र स्थापना र त्यसको कार्यान्वयनमा होमिएका व्यक्ति हुन् । जीवनभर राजनीतिक दर्शन सिद्धान्तको पक्षमा लेखिरहे र लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्न लागिपरिरहे । तर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि त्यो स्थापना गर्नेबाहक पार्टीहरू हिंसा र निरंकुश शासन व्यवस्थाका पक्षपातीसँग घाँटी जोड्न पुगेकोबाट दिक्क बनेर उनले कांग्रेस र एमालेका नेताहरूलाई चुनौती दिएको हुनुपर्छ ।

नेताहरू चुनाव जितेर शासन सुखभोग गर्नमै केन्द्रित छन् । त्यसैले भर्खर २१ वर्ष उमेर पुगेकी रन्जु दर्शना र पूर्वसचिव किशोर थापाहरू जनआवाज बोक्दै उम्मेदवारी दिएर मैदानमा आउँदा ७० वर्षको अनुभव भएका पार्टीहरूमा खैलाबैला मच्चिएको छ । यति लामो वर्षसम्म काम गरेका पार्टीका उम्मेदवारलाई औंलो ठड्याउने मानक उम्मेदवार किशोर उमेरका देखिएका छन् । निर्दलीय वा भर्खर दल दर्ता गरेर उम्मेदवार बनेका व्यक्तिहरूले नै पार्टीहरूका उम्मेदवारमा दम नभएकाले नारायणहरि बनाइदिन लागे झैं पो देखिँदै छ । यसको कारण अरू होइन, पार्टीका नेताहरूको भन्ने एकथोक र गर्ने अर्कोथोक भएकाले नै हो । होइन भने दलीय व्यवस्थामा दलहरूकै वर्चस्व हुनुपर्ने हो ।

दलीय व्यवस्थामा दलहरू नै प्रभावशाली हुन्छन् भन्ने मानिन्छ । दल भनेको संगठित विचार हो । संगठित शक्ति अगाडि एउटा व्यक्ति निरिह नै हुन्छ, तर स्थानीय निर्वाचनमा खडा गरिएका दलका उम्मेदवार निरिह र स्वतन्त्र व्यक्तिका रूपमा उम्मेदवार बनेका युवाहरू प्रखर देखिइरहेका छन् । यसको कारण ? कारण स्पष्ट छ र त्यो भनेको पार्टीका नेताहरूको ट्र्याक रेकर्ड हो । तिनको सिद्धान्तहीन चाल, चलन र व्यवहार नै हो ।

पत्रपत्रिकामा निस्किरहेका प्रभावकारी कार्टुन, विश्लेषकहरूका खोजअनुसन्धानमूलक लेख-समाचारहरू, सामान्यजनले प्रकाशित र प्रसारित समाचारप्रति जनाएका प्रतिक्रियाले अहिले देखिएको गठबन्धनलाई उजागर गरेका छन् । जीवनभर अनेक सिद्धान्त र आदर्शको लागि लडेको भनिरहने नेताहरू नै सत्तामा जान, छोरी-बुहारी, भाइ-भतिजा, साला-साली, ज्वाइँ-सम्धीलाई टिकट बाँडेर जुन फोहोरी गठबन्धनमा लागे, यसले अब दलहरू र तिनले ओकल्ने सिद्धान्त र दर्शन बोल्ने कुरा मात्रै हुन् भन्ने प्रमाणित भएको छ । व्यवहार त्यसको ठीक विपरीत रहेको सन्देश सर्वत्र प्रवाहित भइरहेको छ ।

एक प्राध्यापकले गम्भीर हुँदै भने, ‘खासमा ०४६ सालको परिवर्तनपछि नै सिद्धान्त र आदर्शको लडाइँ सकिइसकेको हो । परम्परागत समाज भएकाले मात्र बाबुबाजेका बेलामा झगडा परेको परिवार वा कुनै समयमा बाझाबाझ भएको परिवारसँग नाति पुस्ताले समेत नबोल्ने व्यवहारजस्तो भएको हो । प्रजातन्त्र वा लोकतन्त्रमा केको सिद्धान्त र वाद ? लोकतन्त्रमा सिद्धान्त भनेकै डेमोक्रेसी हो । कुनै वाद कसैले अँगाल्छ भने उसले अँगाल्न पाउँछ तर आमजनता वा मतदाताले उसलाई हेर्ने, पर्गेल्ने भनेको पात्र, प्रवृत्ति, संस्कार, आचरण, व्यवहार र जीवनशैली मात्रै हो । कुन विचार अँगाल्ने उम्मेदवार कस्तो छ भनेर मतदाताले पर्गेल्ने उसको कार्यक्रम, व्यवहार र दैनिकी नै हो । यो प्रत्येक उम्मेदवारको संस्कार र संस्कृतिमा भर पर्ने कुरा हो, उसले अँगालेको कुनै सिद्धान्तले होइन ।'

के प्राध्यापक महोदयको उक्त भनाइ नै यथार्थ हो ? कांग्रेस कम्युनिस्ट विचार अँगालेकाहरूसँग यो कुरा राख्दा सुरुमा त उनीहरू सिद्धान्तहीन र पलायनवादी तर्क भनेर कुर्लिए । तर जब उनीहरू, उनका नेता र पार्टीले गरिरहेका कुराहरूलाई उदाहरण बनाएर छलफल गर्न थालियो अन्ततः उनीहरू पनि प्राध्यापक महोदयकै लाइनमा आइपुगे । तर यसको लागि उनीहरूले आफ्ना नेता र नीतिलाई दोष दिएर आफूलाई सिद्धान्तनिष्ठ नै भनेर पन्छिन कन्जुस्याइँ गरेनन् । वास्तवमा लोकतन्त्रको चाडवाड नै रहेछ निर्वाचन । चुनावलाई पर्व त्यसै भनिएको होइन पनि । बहुदल आएको तीन दसक र गणतन्त्र आएको एक दसकपछि पनि आसन्न निर्वाचनले धेरैको बुद्धिको घैंटोको बिर्को उघारिदियो । कसको भनाइ र गराइ के रहेछ छर्लंग पारिदियो ।

चुनावमा भोट पनि मतदाताले उम्मेदवारहरूलाई बैंकले ऋणीलाई झैं हेरेर मात्र दिन्छन्, दिनुपर्छ । जो पायो त्यसलाई पाँच वर्षमा हुने चुनावमा मतदाताले भोट दिए भने पाँच वर्षसम्म आफैंले जिताएका प्रतिनिधिबाट प्रताडित हुनुपर्छ ।

ती प्राध्यापकले अर्को दिनको छलफलमा भने, निर्वाचनले मुलुकमा ठूलो परिवर्तन ल्याइरहेको छ । राजनीतिक परिवर्तनको ‘प्याराडमसिफ्ट' नै हो निर्वाचन । जब स्थानीय निर्वाचन मात्र होइन, प्रदेश र प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन भएर देशका राष्ट्रपति र प्रधानमन्त्री चुनिनेछन् । देशमा साँच्चिकै संविधानको कार्यान्वयन सुरु हुनेछ अनि मात्र तपाईंले देख्नु हुनेछ अत्यन्त सक्षम र ख्यातिप्राप्त व्यक्तिहरूले शासन गरेको नेपाल ! किनभने लोकतन्त्र भनेको सक्षम र योग्य व्यक्तिले नियम र कानुनअनुसार शासन गर्ने व्यवस्था हो । देशमा धेरै पार्टीहरू बने । पार्टीपिच्छे नेताहरू बने । एउटा एउटा सिद्धान्त बोके । हरेकलाई शासन गर्ने चाहना व्याप्त भयो । गुट, झूट र फुटले हरेकले कुण्ठा मात्र पाले । त्यसैले राम्रो मान्छेलाई न अगाडि बढाउन सके न त योग्य र असल मानिसलाई आकर्षित गर्न नै ।

 

पार्टीहरूका अनेक नाम र सिद्धान्त भए पनि उनीहरू एउटै वर्ग र परिवारबाट आएकाले तिनको आनी, बानी र स्वभाव भिन्न छैन । खान, पान र व्यवहार पनि भिन्न देखिँदैन । सिद्धान्तले पुँजीपति र सर्वहाराको, गरिब किसान र श्रमिक वर्गको भनेर वर्गीकरण गरे पनि जब उनीहरूका भनाइमा भिन्नता र गराइमा समानता पाउनु हुन्छ, तपाईंमा रहेको भ्रम हराएर जान्छ । ‘पुँजीवादी' भनिने र ‘समाजवादी' भनिने नेताहरूको कसको बिहानदेखि राति नसुत्दासम्मको र सुत्दा उनीहरू सुत्ने खाटदेखि बस्ने घरसम्मको चर्चा गर्ने ? उनीहरूले पिउने महँगा मदिरादेखि चढ्ने गाडी, उनका पत्नीहरूले लगाउने कपडा र गहना, तिनका छोराछोरी पढ्ने स्कुल कलेज अनि जाने मुलुकहरू र तिनले गर्ने विधिव्यवहार र बोलिने आइस्योस् र गइस्योस्मा कहाँनेर भिन्नता छ ?

तिनको सामाजिक हैसियत र स्रोतसाधनमा पहुँचमा के भिन्नता छ र ? यी नेताहरूलाई चन्दा दिने, पाल्ने र सेयर÷व्यापार-व्यवसायमा हिस्सा दिने, साझेदारी गर्ने स्वदेश र विदेशका पनि एउटै व्यक्ति छन् अनि यिनमा कहाँ भिन्नता देख्नुहुन्छ, ती प्राध्यापक जंगिदै आक्रोषित भए । एक व्यापारीले कुनै बेला भनेका थिए, यही सोफा हो, जहाँ को बस्नुभएन ? कुन पार्टीको नेता बसेन ? यही बोतलको रक्सी कसले पिएन ? महँगा र बास्नादार खाना कुन पार्टीको नेताले खाएन ? कसले मबाट चन्दा लिएर गएको छैन ? कांग्रेसदेखि राप्रपा, एमाले, माओवादी, वैद्य, विप्लवसम्म ? नाम भन्नुस् !
भिन्नता भनेर देखिनुपर्ने अहिले चुनावमा उठेका उम्मेदवारहरूको नीति कार्यक्रम नै हो ।

जहाँसम्म संगठित विचारको केन्द्र भनिने पार्टीहरूले बनाएका घोषणापत्रको कुरा छ, त्यो केन्द्रबाट बनाइएको हो र स्थानीय अवस्थाअनुकूल छैन । त्यसमा ठूला गफ गरिएको छ र मतदातालाई सपना देखाउने प्रयत्न गरिएको छ । एक महिना शासनमा बस्ने ठेगान छैन, दस÷बीस वर्षमा यसो गर्छु भन्ने गफ दिने ? भनौं न, प्रचण्ड नौ महिनाको लागि शासनमा आएका हुन्, उनले काम होइन, धेरै ठूला गफ दिने ? शेरबहादुर तीनपटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन्, शासनमा रहँदा राजालाई शासन बुझाए अनि उनले यो गर्छु र त्यो गर्छु भनेको कुनै कांग्रेसीले नै पत्याउँछ ? जनताको कुरा त धेरै टाढा भयो !

खुट्टा देख्दै चाल पाइयो भन्ने जुन उखान छ नि हो त्यसैसँग मिल्दाजुल्दा उम्मेदवारहरू ठूला पार्टीले उठाइरहेका छन् । तस्कर, भ्रष्टाचारी, ठेकेदार, जग्गा दलाल, अपराधी, डन, बिचौलियाले धेरै ठाउँमा पार्टीबाट टिकट उम्क्याएका छन् । अब तिनबाट केन्द्रीय घोषणा कार्यान्वयन हुने अपेक्षा न मतदाताले गरेका छन् न त पार्टीकै नेताहरूले । किनभने तिनलाई स्थानीय जनता र पार्टी पंक्तिका कार्यकर्ताले राम्रोसँग चिनेजानेका छन् ।
कुनै पनि बैंकले लगानी गर्नुपर्‍यो भने जो-जो ऋण लिन आउँछ, उसलाई ऋण दिइहाल्छ र ? एउटा बैंकका मेनेजरले त भने नै, हामी बंैक डुबाउन यहाँ बसेका होइनौं, कमाउन पो बसेका हौं । त्यसैले हामी त्यस्तो व्यक्तिलाई ऋण दिन्छौं, जो सही रूपमा काम गर्छ, इमानदार छ, तोकिएको समयमा ब्याज र सावाँ तिर्छ, ठग्दैन । पुग्दो धितो राख्छ । सबै बैंकले हेर्ने र गर्ने यसैगरी हो । यसो गरे मात्र बैंक डुब्दैन, होइन भने बैंक डुब्न धेरै समय लाग्दैन ।

चुनावमा भोट पनि मतदाताले उम्मेदवारहरूलाई बैंकले ऋणीलाई झैं हेरेर मात्र दिन्छन्, दिनुपर्छ । जो पायो त्यसलाई पाँच वर्षमा हुने चुनावमा मतदाताले भोट दिए भने पाँच वर्षसम्म आफैंले जिताएका प्रतिनिधिबाट प्रताडित हुनुपर्छ । अहिले तीन प्रदेशमा जुन चुनाव हुन लागेको छ, देशभरका ७४४ गाउँ÷नगरपालिकामध्ये ३८२ स्थानीय तहमा उठेका हजारौं उम्मेदवारहरूमा कमै पार्टीका कमै इमानदार, योग्य, क्षमतावान् उम्मेदवार छन् । ठेकेदार, बिचौलिया, डन, माफिया भ्रष्टाचारीहरूलाई पार्टीहरूले निषेध गर्न सकेनन्, जो लोकतान्त्रिक गणतन्त्रको लागि दुर्भाग्य हो । तिनीहरूसँग पैसाको खोलो, गुन्डा, जाँडरक्सी, भोजभत्तेर, पार्टीको आशीर्वाद छ ।

यही बेलामा हो, डन अपराधीलाई सुरक्षा निकायले तह लगाउने । किनभने यतिबेला नै गुन्डा, तस्कर, बिचौलिया र अपराधीहरूले वास्तविक ताण्डव नृत्य प्रदर्शन गर्छन् । निर्वाचनलाई स्वच्छ, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न हुन दिँदैनन् । तर प्रहरीमा कसलाई आईजीपी नियुक्त गर्ने र सुडान घोटाला काण्डमा परेकाले सुरक्षा निकाय पनि दिग्भ्रमित देखिन्छ, सशक्त देखिएन । चुनावको बेलामा गुन्डागर्दीरूपी विषलाई तह नलगाउने हो भने चुनावको भोलिपल्टदेखि नै तिनीहरू समाजमा डर, भय, त्रास उत्पन्न गर्न थाल्छन् ।

यी र यस्तै कुरा गाउँ÷नगरका अनुभवी, परिपक्व र इमानदारीपूर्वक जीवन धानिरहेकाहरूसँग गरिरहँदा पंक्तिकारलाई नै औंला ठड्याउँदै भने, तिमीजस्ता पत्रकार÷लेखकहरूले लेखेर नै के हुन्छ ? अरू काम, सीप नभएर न लेखेका हौ ! उनका कुरा सुनेर दिमाग नै रन्थनियो । उनी एकोहोरो भन्दै गए, तिम्रो लेखाइ मतदाताकहाँ पुग्छ भन्ठानेका छौ ? न मतदाताले त्यो पढ्छ न त प्रतिक्रिया नै जनाउँछ ! हो, सहर बजारमा बस्ने सुकुमार र विदेशमा बसेकाले भने पढ्छन् । सहर बजारकाले त केही पनि बोल्दैन किनभने राम्रो भन्यो भने त्यसबाट सकारात्मक प्रभाव पर्ला र नराम्रो भन्यो भन्ने आफैंविरुद्ध कसैले लेख्ला भन्ने डर उसलाई छ । तर विदेशमा बसेकाले सामाजिक सञ्जालमा पढ्छन् र गाली र आक्रोश पोख्छन् ।

ती महाशयलाई कसले भन्ने, निर्वाचनको मुखमा आमसञ्चार, नागरिक समाज, छरछिमेक, राजनीतिक दल र आम मानिससँग हुने छलफलले मतदातालाई सचेत बनाउने र निर्वाचनमा सहभागी हुन अभिप्रेरित गर्छ । अनिरुद्ध गौतमले भने झैं यो चुनाव सिद्धान्त र आदर्शबिनाको हो वा लोकतान्त्रिक गणतन्त्र स्वीकारेपछि अब कुनै वाद र सिद्धान्तको काम नभएको जनाउ दिने अवसर हो ? पहिलो निर्वाचन भएकाले पनि यस्ता अनेक शंकाउपशंका उत्पन्न भएको हुन सक्छ । मतदान प्रत्येक वालिग मतदाताको अधिकार हो । चुनाव स्वच्छ, धाँधलीरहित र शान्तिपूर्ण रूपमा निरन्तर भइरह्यो भने नदीले फोहोरहरू पन्छाउँदै पानी संग्लो र स्वच्छ पारे झैं निर्वाचनले आमजनताप्रति उत्तरदायी हुने नेतृत्व चयन हुन थाल्नेछ ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.