मतदान तयारी धमाधम

मतदान तयारी धमाधम

 काठमाडौं : मौन अवधिसँगै तीन प्रदेशका २ सय ८३ स्थानीय तहमा मतदाता परिचयपत्र वितरण, मतदानस्थलमा मतदानको तयारी, राजनीतिक दलसँग मतदानलाई सहज बनाउन छलफल र मतदाता शिक्षा कार्यक्रम सुरु भएको आयोगले उल्लेख गरेको छ । बिहीबार मध्यरातबाट चुनाव प्रचारप्रसार गर्न नपाइने मौन अवधि सुरु भएको हो ।

 'पहिलो चरण निर्वाचनका लागि मतदानको व्यवस्थापकीय काम सुरु भएको छ', प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अन्नपूर्णसँग भन्नुभयो, 'मौन अवधि सुरु भइसकेकाले अब मतदानकार्यलाई कसरी शान्तिपूर्ण बनाउने भन्नेमा सरोकारवाला सबैको ध्यान जाओस् भन्ने आग्रह गर्छु ।' चुनाव प्रचारप्रसारका क्रममा केही स्थानमा हिंसात्मक घटना भए पनि मतदान कार्य भने शान्तिपूर्ण रूपमा सञ्चालन गर्न राजनीतिक दलको ध्यान जानुपर्ने यादवले बताउनुभयो ।

 'निर्वाचनका लागि यहाँसम्मको अवस्थामा ल्याइपुर्‍याउन सहयोग गर्ने सबैप्रति आयोग आभारी छ', यादवले भन्नुभयो, 'अब स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन कसरी सम्पन्न गर्ने भन्नेमा ध्यान केन्द्रित छ ।' आयोगले २ सय ८३ तहमा मतदान गराउने कर्मचारी, सुरक्षाकर्मी, मतपेटिका, मतपत्र सबै पुगिसकेको भन्दै वैशाख ३१ गतेको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आग्रह गरेको छ । मौन अवधिमा दल र उम्मेदवारले मतदातालाई गलत आश्वासन, आर्थिक प्रलोभन, डर, त्रास देखाउन सक्ने भन्दै सतर्क भएर आफ्नो अधिकारको प्रयोग मतपत्रमार्फत व्यक्त गर्न आयोगले आग्रह गरेको छ ।

 

 

 

  

 मतदान हुनु ४८ घन्टा अघिदेखि मतदान सम्पन्न नभएसम्मको अवधिलाई मौन अवधि भनिन्छ । मौन अवधिमा चुनावी प्रचारप्रसार, र्‍याली, सभासम्मेलनजस्ता कुनै पनि काम गर्न पाइँदैन । स्थानीय तह निर्देशिकाको दफा ७० को (१) मा भनिएको छ, 'मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न निधेष गरिएको छ ।'

 प्रचारको अन्तिम दिन बिहीबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्नुभएको थियो भने एमाले अध्यक्ष केपी ओलीले चितवनमै अर्को सभा गरी आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । अन्य नेता पनि प्रचारको अन्तिम दिन ठाउँठाउँमा भएका सभामा सहभागी भएका थिए । आयोगले पहिलो चरण निर्वाचनलगत्तै मतगणना गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.