रोजगारीमा जाने घटे
काठमाडौं : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दो छ । सामान्यतया दैनिक नेपालबाट दुई हजारको संख्यामा कामका लागि युवा विदेश जाने गर्छन् । तर, एक सातादेखि यो संख्या १२ सयको हाराहारीमा झरेको छ । त्यसमा पनि बुधबारबाट भने रोजगारीमा जानेको संख्या एक हजारमै सीमित भएको त्रिभुवन अन्तराष्ट्रि विमानस्थल कार्यालयले जनाएको छ ।
वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका अनुसार एक सातादेखि व्यवसायीले संस्थागत रूपमा लिने अन्तिम श्रम स्वीकृत र व्यक्तिगरूपमा हुने श्रम तमा पनि क्रमशः दुई सयको हाराहारीमा झरेको छ । बिदामा आई पुनः श्रम स्वीकृति लिनेको संख्या मंगलबार ८ सयको हाराहारीमा भए पनि बिहीबार यो संख्या घटेर ६ सयमा झरेको छ । यो संख्या शुक्रबार भने तीन सयमा घट्ने कार्यालयको अनुमान छ । यस्तै पहिलो पटक विदेश जानका लागि श्रम स्वीकृत लिनेको संख्यामा भने ह्वातै गिरावट आएको कार्यालयको भनाइ छ ।
कार्यालयका अनुसार सामान्य अवस्थामा दैनिक १५ सयको संख्यामा अन्तिम श्रम स्वीकृत हुने गरेकामा मंगलबार ११ सयमा झरेको थियो भने बिहीबार आठ सय जनाको मात्रै अन्तिम श्रम स्वीकृत भएको छ । युवाको मताधिरका रक्षाका लागि म्यानपावर व्यवसायीले पनि सहयोग गर्ने भएका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघले २५ गतेदेखि नै व्यवसायीलाई युवाको भोट हाल्न पाउने अधिकार बन्चित नगर्ने गरी मतदान अवधिसम्म युवा विदेश पठाउने काममा समय मिलाउने आग्रह गरिसकेको छ । संघका महासचिव रोहन गुरूङका अनुसार भिसाको म्याद सकिने अवस्थामा मात्रै उडान गर्ने गरी अन्यका लागि उडान तालिका मिलाउने काम भएको छ । ‘विदेश जानका लागि सबै प्रत्रिया पूरा गरेको युवा पनि जाने तयारी अवस्थामा छैनन्', गुरूङ भन्नुहुन्छ, ‘व्यवसायीले पनि उनीलाई कर गर्ने अवस्था होइन ।'