नथुला, पोटाला र टोटोला
सिक्किमको नथुला घाँटी भएर तिब्बत स्वायत्त क्षेत्रको ल्हासा पुग्ने व्यापार मार्ग फेरि खोलिएको दस वर्ष नै भयो । सन् १९६२ को भारत-चीन युद्ध हुँदा यस ऐतिहासिक व्यापार मार्ग बन्द गरिएको थियो । ४४ वर्षपछि यो मार्ग ६ जुलाई २००६ मा फेरि खोलियो । खोलिनुभन्दा ५-६ वर्ष अघिसम्म पनि कसैले आशा राखेका थिएनन् कि यो मार्ग यति शीघ्र रूपमा खोलिन्छन् र व्यापार वाणिज्य चालू हुनेछ । बर्खा झरीमा यो मार्गको पुनः चालू हुने समारोहमा सिक्किमका मुख्यमन्त्री पवन चामलिङ र तिब्बत स्वायत्त क्षेत्रका उप-राज्यपालबाहेक, भारतमा चीनका राजदूत सुन युक्सी अन्य वरिष्ठ अधिकारीहरू र विश्वका कुनाकुनाबाट आएका पत्रकार उपस्थित थिए ।
तिब्बततर्फबाट व्यापारीहरूको प्रतिनिधिमण्डल र भारततर्फबाट पनि यस्तै वाणिज्यका झुण्ड उपस्थित थिए । भव्य कार्यक्रम भयो र त्यहाँ ऐतिहासिक जमघट भयो नथुला, पोटाला र टोटोलाको । नथुलाले भारत-चीनको सीमा जाहेर गर्यो, पोटालाले सिक्किम दार्जिलिङसँगको पुरानो राजनीतिक सम्बन्ध अघि ल्यायो र टोटोलाले गहिरो सांस्कृतिक एवं धार्मिक पक्षलाई अघि ल्यायो ।
हामी धेरैले यो मार्ग खोल्न धेरै बौद्धिक, राजनीतिक कूटनीतिक र संस्थागत कसरत गर्यौं । सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीसँग धेरैपटक यस विषयमा कुरा गर्यौं उनी मुख्यमन्त्री रहँदा । चर्चामा जहिल्यै पनि भारत-चीनको अस्थिर र तिक्त सम्बन्धको कुरोदेखि सिक्किम-दार्जिलिङ -उत्तर बंगालको विकास र विश्व पर्यटनको आगमनदेखि दक्षिण एसियाको चीन पुग्ने छोटो बाटो यही हुनेछ भन्ने कुरा हामी गथ्र्यौं । पछि सन् २००० मा सिक्किम सरकारमा प्रमुख आर्थिक सल्लाहकारको पद सम्हालेपछि, मेरो तीन प्रमुख प्राथमिकतामा नथुला व्यापार मार्ग खोल्ने एजेन्डा र लक्ष्य अघि ल्याएँ । अन्य दुई प्राथमिकतामा सिक्किमलाई उत्तर-पूर्वीय परिषद्को सदस्य बनाउनु अनि एउटा विकसित राज्य बनाई भारत र विश्वमा एउटा नयाँ स्थान ओगट्नु थियो । आज लगभग १७ वर्षपछि यी तीनैवटा लक्ष्य पूरा नै भएकाले आत्मसन्तुष्टि महसुस गर्दछौं । सन् २००२ मा नै सिक्किम उत्तर-पूर्वीय परिषद्को आठौं सदस्य भएँ र आज यसबाट अनेकौं फाइदा एवं उपलब्धिहरू भइरहेका छन् ।
नथुला व्यापार मार्ग पुनः खोल्न निकै गाह्रो एवं संवेदनशील प्रस्ताव एवं कार्य थियो । भारत र चीनबीचको सम्बन्ध कहिल्यै न्यानो नहोला भन्ने स्थिति पनि देखेका थियौं । सन् १९८८ मा प्रधानमन्त्री राजीव गान्धी र चीनका राष्ट्रपति देङ सिआओ पिङबीचको सौहार्दपूर्ण वार्ता र भेटघाटले सम्बन्धमा अचानक नयाँ मोड ल्यायो । त्यसपछि प्रधानमन्त्री पीभी नरसिंह राओले यस सम्बन्धलाई घतलाग्दो रूपमा अघि बढाए । सन् १९९१ मा हिमाचल प्रदेश र तिब्बतबीचको शीपकिला व्यापार मार्ग र उत्तर प्रदेश र तिब्बतबीचको लिपुलेक व्यापार मार्ग खोलिने प्रस्तावमा हस्ताक्षर गरियो । विवादपूर्ण सीमाबारे पनि दुई देशबीच विचार आदान -प्रदान सुरु भयो ।
सन् २००२ मा सिक्किमका मुख्यमन्त्री पवन चामलिङसँग नथुला मार्ग खोल्ने प्रस्तावबारे नियमित रूपमा कुराकानी सुरु गरें । उनमा गहिरो हिचकिचाहट थियो, विशेषतः भारत-चीनको सीमा विवादमा यस प्रकारको पाइला चाले के कस्तो प्रभाव पर्ला भन्ने । दिल्लीमा विभिन्न मन्त्रालय, व्यापार वाणिज्य संगठन, पत्रकार बुद्धिजीविहरू र सामरिक ज्ञान भएका कूटनीतिज्ञ आदिसँग कुराकानी गर्दै आएकाले मभित्र एउटा ठूलो आँट, विश्वास र आत्मशक्ति थियो कि, यो नहुने कुरो होइन भन्ने ।
एउटा ठूलै जमर्को अघि ल्यायौं । दिल्लीका अति वरिष्ठ र मान्य पत्रकारहरूका दललाई नथुलाको घाँटी पुर्यायौं र यो मार्गको ऐतिहासिक, राजनीतिक, सांस्कृतिक र आर्थिक पक्षहरूबारे उनीहरूलाई विस्तृत रूपमा जानकारी दियौं । विश्वका दुइटा पौराणिक सभ्यताको समागम हुने नथुला घाँटीमा हामी सबैले भारतीय सेनाका उच्च अधिकारीहरूसमेत सँग कुरा गर्यौं । पत्रकारहरू साँच्चै केही गर्न चाहन्थे किनकि यस मार्ग खोलिएको खण्डमा भारत- चीन सम्बन्धले अर्कै रूप लिन सक्छ भन्ने विश्वास उनीहरूमा पनि थियो ।
नभन्दै राष्ट्रका प्रमुख अखबारहरू हिन्दु, टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्स, टेलीग्राफ र इकोनमिक टाइम्समा नथुला घाँटी भएर तिब्बत पुग्ने व्यापार राजमार्गले सन् १९६२ पछि पहिलोपटक यति व्यापक प्रचारप्रसार पायो । अखबारहरूले सम्पादकीयसमेत लेखे । राम्रो सुरुवात भयो । मुख्यमन्त्री चामलिङमा एउटा नयाँ जोश देखें । भारतका विभिन्न सम्बन्धित मन्त्रालयहरूले चाख मानेर हामीले भनेका कुराहरू सुन्न थाले । मेरो काम नै त्यही थियो, अध्ययन र अन्वेषण गरी ऐतिहासिक तथ्यहरूलाई सरकार र जनसमूहसमक्ष पेस गरेर नथुला व्यापार मार्गमाथि एउटा स्वस्थ परिचर्चा सुरु गर्ने । विश्वका मुख्य संघसंस्थाहरूले पनि खोजी-खोजी यसबारे जान्न चाहे ।
यतिबेला सबै धर्मावलम्बीले शान्ति, विकास, सौहार्दताको दुन्दुभी बजाउँदैछन् । माथि पोटालामा न्यानो घाम लागेको छ । भारत-चीन सम्बन्धमा नथुलाले एउटा नयाँ दिशा निर्देश गरेको छ ।
हामी भाग्यमानी थियौं । राष्ट्रका प्रधानमन्त्री अटलबिहारी बाजपेयी हुनुहुन्थ्यो । अ भन्दा अलंकार बुझ्ने, विश्वलाई नै अंगाल्ने सोच भएका र अनुभवले छाती भरिएका व्यक्ति थिए उनी । उनका वरिपरि उनका प्रधानसचिव एवं राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मि श्र थिए । ज्ञानले परिपूर्ण भएका र नीति निर्धारणमा परिपक्क । प्रधानमन्त्री बाजपेयी चीन भ्रमणमा जानुहुने भयो । ठूलो मौका पायौं, नथुलाको प्रस्तावलाई अघि बढाउन । भारतलाई के के फायदा हुन्छ भन्ने कुरोको लगभग सूची नै तयार पार्यौं । सन् २००३ मा चीन भ्रमणअघि उनी सिक्किम आएर यो प्रस्ताव अघि बढाउने आश्वासन दिए । नभन्दै जून २००३ मा बेइजिङमा हस्ताक्षर नै भयो, नथुला मार्गलाई परिचालन फेरि गरिनुपर्ने विषयमा ।
हामी रमायौं । सबैले आसा गरेको कुरोलाई प्रधानमन्त्री बाजपेयीले साक्षात् रूप दिए । अब कसरी अघि बढ्ने भनेर बहस सुरु भयो । सिक्किम सरकारको आफ्नै गतिलो योजना आयोग थियो । मुख्यमन्त्री स्वयं अध्यक्ष थिए र भारतका भूतपूर्व विदेश सचिव मुचकुन्द दुवे उपाध्यक्ष थिए । प्रसिद्ध अर्थशास्त्री अशोक लाहिरी, भारतका अर्को नामी विकास अर्थशास्त्री भिजय केलकर, बंगलाका भूतपूर्व ऊर्जामन्त्री आदि सदस्यहरू थिए । म आफैं पनि सदस्य भएकोले योजना आयोगमै छलफल गर्यौं र आयोगको सुझावअनुसार नै मेरो नेतृत्वमा एउटा दल बनाई यस व्यापार मार्ग कसरी, कहिले खोल्ने र खोलेको खण्डमा के के तयार, तमार चाहिन्छ र भारत चीनबीचको सम्बन्धमा यसको के कति र कस्तो प्रभाव पर्छ भन्ने विषयमा एउटा विस्तृत प्रतिवेदन तयार पार्ने निर्णय लिइयो, यो प्रतिवेदन सिक्किम र भारत सरकारलाई बुझाउनुपर्ने भयो ।
प्रतिवेदन नै नथुला व्यापार मार्ग खोल्ने प्रस्तावको आधार मानिने हुनाले, यसलाई ऐतिहासिक रूपमा ज्ञानबद्र्धक भविष्यको रूपमा अघि देख्ने र वर्तमान रूपमा राष्ट्र र विश्वका सीमा व्यापारमा भइरहेका विकास र स्थिति आदिलाई समेट्नैपर्ने भयो । एउटा राम्रो अध्ययन दल गठन गर्यौं र सल्लाहकारहरूमा राष्ट्रिय सुरक्षा सल्लाहकार समेतलाई संलग्न गर्यौं । प्रतिवेदन तयार पार्ने सिलसिलामा चीन-मंगोलिया, चीन-बर्मा, जापान-दक्षिण कोरिया, भारत-बंगलादेश, भारत-बर्मा, भारत-नेपाल सबै सीमा व्यापार क्षेत्रहरू भ्रमण गरी त्यहाँका व्यावहारिक तथ्यहरू हाल्यौं । काठमाडौं—कोदारी राजमार्गमा तातोपानी, मणिपुरको मोरे-तमु (बर्मा), मेघालय-बंगलादेशको तामाभिल, भारत-भोटाङको जय गाउँ, उत्तर प्रदेश-तिब्बतको लिपुलेक र हिमाचल-तिब्बतको शीपकिला सीमा व्यापार क्षेत्रहरू सबै एकएक गरी घुम्यौं । व्यापारीहरूसँग कुराकानी गर्यौं । सरकारी अधिकारी, गाउँ समाज र समुदायका प्रतिनिधिहरूसँग कुराकानी गर्यौं ।
ल्हासा गयौं । त्यहाँको भन्सार, परिवहन, बाटोघाटो, वाणिज्य व्यापार, सबै सरकारी अधिकारीहरूसँग धेरै दिनसम्म कुराकानी गर्यौं । जानसे, सिगात्से हुँदै चुनिएको व्यापार केन्द्र रिन्छेगांग र कारी सबैबारे गहिरो ज्ञान प्राप्त गर्यौं । ल्हासाको भारखोर क्षेत्रमा गई विभिन्न पुराना व्यापारीहरूसँग विचार-विमर्श आदान-प्रदान गर्यौं । त्यही भेट्यौं भाजुरत्न तुलाधर, एक नाम चलेको, उमेर खाएको व्यापारीसँग । खुसी भएँ, उपहार सम्झनास्वरूप मलाई तिनताकाको व्यापारमा चलाइने चिनिया पैसा दियान एउटा चिन्हसहित दिए । व्यापारीहरू कालिम्पोङ गल्लीको कुरा गर्दै आँखा आँशुले भिजाउँथे, छरछिमेकी, खच्चड, जनसमुदायको कुरा सुनाएर हामी सबैको भक्कानो नै फुटाउँथे । १९६२ को युद्धपछि विल्लाबाट भएको कुरो, आधा परिवार यता आधा उता चिनियाँ बैंक बन्द हुँदा बैंक खातामा यति पैसा भएको हिसाबकिताब बताउँथे ।
ल्हासामा नेपालका कनसल जनरल लीलामणि पौड्याल थिए । अति नै मिलनसार र ज्ञान बोकेका व्यक्ति । कूटनीतिको सग्लो उदाहरण थिए उनी । मार्ग खोल्दा के कस्तो कुराहरू पहिल्यै सोच्नुपर्छ भन्ने उनले बताए । चिनियाँहरू भारतभन्दा बढी इच्छुक थिए यो मार्ग खोल्नमा । थानकोथान कागज पत्र हाम्राअघि राखिदिए, इतिहास नै इतिहास । उनीहरू चाहन्थे, यस प्रकारको मार्गले चीनको दक्षिण पश्चिमी राज्यहरू तिब्बत, सिचुआन, युनान, चिंगहाई, गान्सु, गुइझाओ आदिका विकासमा नयाँ मोड ल्याउनेछ । चीन सरकारको 'पश्चिम क्षेत्रको विकास' र समुद्रतटको व्यापक विकासबाट मनग्ये कमाएपछि अब भूमि क्षेत्रमा विकासको मूल फुटाउने भनी राष्ट्रिय नीतिको कार्यान्वयन गर्न पनि नथुला व्यापार मार्ग खोलिएको हो । चौध हजार किलोमिटर समुद्रतटबाट विकास सारेर ३५०० किलोमिटर भूमि शृंखलामा अब ध्यान दिने जमर्कोको फल नै थियो यो नथुला व्यापार मार्ग पनि ।
धेरै खोजेर निकाल्यौं । दार्जिलिङ जिल्लाको आयुक्त एडगारले अंग्रेज सरकारलाई नथुला र तिब्बती सिमानाबारेमा सन् १८७३ मा बुझाएको प्रतिवेदनदेखि लिएर देशीडेरी (१७१७) को तिब्बत भ्रमण, ऐटकिशन, यंगहस्व्यांड, हुकर, छिबु लामा, फ्रेसफिल्ड, रोबर्टसन, ओ माले, नेवाल, साकृत्यायन, कुलोय, मारइनी, वोशोन, डेभिड नील, ईभान्स-बेन्ज, गर्डन, टुुसी, बेरी, हारेर, डन्कन, म्याकडागाल्ड, पेम्बा, पाल, हान्डा, गुन्थर, गिन्सर्वगस्, करन वाडेल, दास, ल्याण्डोन अमर कर, शाकावपा आदि सबै सबैका पुस्तकहरू छिचोल्यौं ।
व्यापारीहरूलाई भेट्यौं, खच्चडको लस्कर कसरी जान्थ्यो र आउँथ्यो, ऊन कसरी कालिम्पोङमा सफा गरी जापान, लन्डन र सिकागो पठाइन्थ्यो, पूजा पाठमा चलाइने सरसामाग्रीदेखि लिएर गाडी कसरी टुक्राटुक्रा गर्दै तिब्बतमा पठाइन्थ्यो र मुसलमान कारीगर गई त्यहाँ कसरी जोड्थे, नन्दुराम, कोदामाल, कालुराम, बाजुरत्न, सान्दुतसांग, पानडुटसांग, सोनाम वांगचुक, रत्न शाक्य, जेठमल भोजराज तुलाधर कम्पनी सबै नामी व्यापारीहरू, अनि चुम्बिथाङको डाक बंगलो, पेदोङ रंगेली लिंगताम र नाथाङका बाटोपारीको रमाइलो खेती सबै-सबै गाथाहरू सुन्यौं । इतिहास र सम्झनाले सबै भिज्यौं । कालिम्पोङ विश्वका नामी जासुसहरूका अड्डा कसरी हुन गयो, त्यो पनि बुझ्यौं ।
ठूलो सोचले प्रतिवेदन लेख्यौं । सिक्किम र दिल्लीमा महत्वपूर्ण स्थान पदमा रहेका व्यक्ति र नीति निर्धारण गर्ने विभाग मन्त्रालय अघि निचोड पेस गर्यौं । भारत सरकारका कतिपय वरिष्ठ अधिकारीहरू हिचकिचाउने डोकोभित्रै थिए कसैले भन्थे तिब्बती शरणार्थी आउँछ, कसैले भन्थे चिनियाँ सरसामानले लछेप्रै पार्छ । मनमनै म सोच्थें, मेरो देश परमाणु शक्ति र चारजना शरणार्थी वा दसवटा चिनियाँ समानसँग किन डराउने । तर साँघुरो सोच्ने मान्छेले अँध्यारै मात्र खोज्दोरहेछ । अन्ततः भारत सरकारले नथुलाको व्यापार मार्ग पुनः खोल्ने तय नै गर्यो । २१ औं शताब्दीको भारतले एउटा ठूलो सोच लिएर, गहकिलो काम गर्यो ।
हिजोसम्म नेपाल र भोटाङ जस्तै सिक्किमलाई अलग स्वतन्त्र राष्ट्रहरू भनेर आफ्नो मानचित्रमा भारतदेखि सिक्किमलाई अलग राख्ने चीन राष्ट्रले आज मानचित्रमा नै संशोधन गरेर भारतभित्रै सिक्किमलाई हाल्यो । सदैव एकार्कालाई ताकेर आँखा पनि चिम्म नगरी बन्दुक उठाएर सर्तक बस्ने चीन र भारतीय सेनाले आज नथुलामा भलिबल खेल्छ, एकार्कासँग सौहार्दता र मुस्कान बाँड्छ, कहिलेकाहीं चिनियाँले घडी उपचार दिन्छ र भारतीय सेनाले मुस्कुराएर चिनियाँ सेनालाई बिँडी प्रदान गर्छ । कडा-चिसो-शुष्क सीमाना (हार्ड बोर्डर), आज नरम-न्यानो-रसिलो (सफ्ट बोर्डर) भएको छ । दुई देशबीचको मोठ राष्ट्रिय व्यापार सन् १९९० को पाँच करोड डलरदेखि बढेर ६५८२ करोड डलर पुगेको छ । दुइटा सभ्यताको फेरि समागम नै भयो ।
नथुलाको व्यापार पनि सन् २००६ को ३३ लाख रुपैयाँदेखि बढेर आज लगभग २० करोड रुपैयाँ पुगेको छ । हाम्रो प्रतिवेदनमा नेपाल, भोटाङ, बंगलादेश चीनसँगको व्यापार र पर्यटन सम्बन्ध पनि सन् २०२० देखि यो मार्गमार्फत हुन दिनुपर्छ भन्ने प्रस्ताव राखेका छौं । हाम्रै प्रतिवेदनमा सन् २०१५ मा यो मार्ग कैलास मानसरोवार जाने तीर्थयात्रीहरूका लागि खोलिनुपर्छ भनेका थियौं । सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदी अनि राष्ट्रपति सी जिनपिङद्वारा सहमति भएपछि २०१५ देखि नै तीर्थयात्रीहरू यस सहज मार्गमार्फत कैलास मानसरोवर जान लागे ।
यसरी नै अब भारतले नथुलासम्म र चीनले सिगात्सेबाट नथुला पल्लोपट्टि रेलको सुविधा ल्याएपछि यस व्यापार मार्गले केवल सीमाकृत व्यापार नगरेर, एउटा पूर्णतया व्यापार हुने सम्भावना अघि आउँछ । पछि गएर अझै सुविधाजनक जेलेपलाको बाटो पनि खोलिएको खण्डमा सम्पूर्ण दार्जिलिङ-कालिम्पोङ जिल्ला र उत्तर बंगालले व्यापार वाणिज्य पर्यटन उद्योग आदिको फाइदा उठाउन सक्छ ।
धर्म-संस्कृति-परम्परा-प्रकृति आदिले खर्लप्प खाएको नथुला व्यापार मार्ग विश्वको पर्यटन केन्द्र बन्न सक्छ । सिक्किमले फेरि यस दिशातर्फ अघि बढ्ने नेतृत्व दिनुपर्छ । चिसो-शुष्क सीमानामा आज न्यानो र सरस सजिवता देखिएको छ । त्यहाँ टोटोला लटरम्मै फुलेको छ । हिन्दु, बुद्धिष्ट, खिष्टान, मुसलमान, लाअसे, कन्फ्युसियस सबैले शान्ति, विकास, सौहार्दताको दुन्दुभी बजाउँदैछन् । माथि पोटालामा न्यानो घाम लागेको छ । भारत-चीन सम्बन्धमा नथुलाले एउटा नयाँ दिशा निर्देश गरेको छ ।—भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद्का सदस्य रहिसकेका लामा हाल सिचुवान विश्वविद्यालय चीनमा उच्चस्तरीय विशेषज्ञका रूपमा कार्यरत छन् ।