यात्रुबस दुर्घटनामा चालकको मृत्यु
दमौलीः व्यास ४ बागबजारस्थित बुल्दी पुल नजिकै बिहीबार राती बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन् ।
बेनीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ९६२६ नम्बरको यात्रुबाहक बस घुम्ती नजिकैको नालामा खस्दा दुर्घटनामा परेको हो । नालामा खसेपछि तीव्र गतिको बस फर्किएर राजमार्गमा बजारिएको थियो । बसले च्यापेका चालक चालक बारा निवासी ३७ वर्षका रामहरि काफ्लेको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा राती अबेर निधन भएको हो ।
दुर्घटनामा घाइते अन्य आठको दमौलीको रत्नहरि अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनालगत्तै केहीबेर पूर्ण अबरुद्ध पृथ्वी राजमार्ग मध्यरातबाट दुईतर्फी सञ्चालनमा आएको छ ।