स्मार्टफोनको आकर्षण खोइ ?

स्मार्टफोनको आकर्षण खोइ ?

यही वैशाख ३१ गते हुने निर्वाचनको सरगर्मी निकै बढेको छ यतिबेला । आजबाट निर्वाचन प्रचारप्रसार पनि सकिएको छ । यसपटकको स्थानीय तह निर्वाचनमा युवा उम्मेदवारको उपस्थिति राम्रै छ । तर राजनीतिमा युवा नेतृत्व तहमा स्थापित हुन भने सकेका छैनन्, जुन दुर्भाग्यपूर्ण हो । नेपालको नयाँ संविधानले स्थानीय निकायलाई बढी अधिकार दिएको छ । त्यसैले पनि राजधानीस्थित महानगरको मेयर पद झनै महत्वपूर्ण छ । यति धेरै जनसंख्या भएको सहरको मेयर हुनु भनेको कम चुनौतीपूर्ण छैन । यो चुनौतीको सामना गर्ने क्षमता युवामा छ । काठमाडौं महानगरपालिकाका मेयरको उम्मेदवार रहेकी रन्जु दर्शना भन्ने गर्छिन्, 'अहिलेको जमनामा स्मार्टफोनको के काम ? उनले भनेको ठीक हो, तर त्यो स्मार्टफोनले मानिस आकर्षित गर्ने खुबी पनि त हुनुपर्‍यो नि होइन ? ' त्यो खुबी उनमा कत्तिको छ, निर्वाचन परिणामपछि पुष्टि होला ।

अहिलेको परिस्थिति पहिलेजस्तो छैन । लोभलालच वा भावनामा बगेर भोट दिने मानिसको संख्या पहिलाको तुलनामा कम छ । युवा भएकै नाताले मेयरमा रन्जुलाई किन भोट हाल्ने ? उनको उमेर अहिले २१ वर्ष छ । युवा भएकै नाताले सहानुभूति देखाएर मात्र उनलाई भोट हालियो भने त्यो बिल्कुल गलत हुनेछ । यो उमेर ठूलो कुरा होइन, प्रावधान भए १९ वर्षको युवा पनि मेयरमा उठ्न सक्छ । तर उसमा एउटा बेग हुनुपर्‍यो, उचित ज्ञान हुनुपर्‍यो जसले गर्दा मानिसले उसलाई भोट हाल्दा दुईपटक सोच्न नपरोस् । उसमा समस्याको सही पहिचान गर्ने र त्यसको समाधान गर्ने अद्भूत क्षमता हुनुपर्‍यो । कम उमेर भएपनि उसमा एक किसिमको परिपक्वता देखिनुपर्‍यो । अनि मात्र सबैले विश्वास गर्ने हो ।

रन्जुको विचार सुन्दा लाग्छ- उनमा भरपुर ऊर्जा छ, जोश र जाँगर छ, तर जुन बेगमा परिपक्वता र ज्ञान हुनुपर्ने हो, त्यसको मात्रा भने कमै भएजस्तो लाग्छ । उनलाई जनताले निर्धक्क भएर छान्न सक्ने ती आधार खडा गर्न उनले निकै मेहनत गर्नुपर्ने छ । मतदाताले काठमाडौंको मेयर पदमा यति सजिलै उनलाई चुन्छन् भन्ने लाग्दैन, त्यसका लागी उनले आफूलाई थप परिपक्व बनाउँदै जानुपर्छ ।



 

काठमाडौंका वास्तविक समस्या के हुन्, समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने योजना मेयरको उम्मेदवारसँग हुनैपर्छ । रन्जु भन्छिन्, 'म काठमाडौंकै बासिन्दा भएकाले यहाँको समस्या थाहा छ । समाधान गर्ने तरिका पनि बुझेकी छु ।' त्यस्तै अर्को अन्तर्वार्तामा उनले भनिन्, 'यहाँको समस्या धुलो, धुवा र पानीको अभाव हो ।' यी त सामान्य समस्या मात्र हुन्, ५,६ कक्षा पढ्ने विद्यार्थीलाई पनि थाहा छ ।

एउटा सानो पुल र बाटो निर्माण गर्न पनि राजधानीमा रहेका मन्त्रालय धाउनुपर्ने अहिलेको वाध्यता स्थानीय तह निर्वाचनपछि स्वतः हट्ने अनुमान गरिएको छ।हो, राजधानीले युवा खोजेको छ ।

काठमाडौंलाई सुन्दर सहर बनाउने भिजन युवामा नभएको पनि होइन । त्यस्ता युवा छन्, तर बुढापाकाका क्रियाकलापबाट आजित भएका स्थानीयको मन जित्ने युवा उम्मेदवार भने काठमाडौंले पाउन सकेन यसपटकको स्थानीय निर्वाचनमा पनि । केही उम्मेदवार भन्छन्-म विज्ञको सल्लाह लिएर अघि बढ्छु । के सबै विज्ञको सल्लाह उचित नै हुन्छ भन्ने कसरी मान्ने ? विज्ञसँग सल्लाह लिने हो, तर अन्तिम निर्णय आफैंले गर्नुपर्छ, जोसुकै मेयरमा निर्वाचित भए पनि । मेयरमातहत सयौं, हजारौं कर्माचारी हुन्छन्, तिनीहरूलाई परिचालन गरेर काम गर्नुपर्ने हुन्छ । राजनीतिमा अनेकौं खेल र दाउपेच हुन्छन्, ती सबै दाउपेचलाई चिरेर कुशलतापूर्वक काम गर्नुपर्ने दायित्व हुन्छ मेयरको । जित मात्र ठूलो कुरा होइन, तर त्यो पदका लागि आफू योग्य र परिपक्व छु भन्ने विश्वास जनतामा दिलाउन सक्नुपर्छ ।

गार्जियन पत्रिकाका अनुसार टेरेन्स स्मिथ १९ वर्षकै उमेरमा लन्डनको कान्छो मेयर बनेका थिए । उनी १२ महिनाका लागि मेयरमा चुनिएका थिए । गुले नामको काउन्सिलले २२ सय एकर्डको भूभाग ओगट्छ भने करिब त्यहाँ १८ हजार पाँच सय मानिस त्यहाँ बसोबास गर्छन् । मेयर बन्नका लागि उमेर मात्र आधार होइन भन्ने सन्देश स्मिथले दिएका छन् ।

बीस वर्षपछि हुन लागेको यो निर्वाचनको रौनक देशभर छ । निकै ठूलो प्रतीक्षापछि हुन लागेकाले यसको महत्व चुलिएको हो । संघीय संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएकाले यसै पनि निर्वाचनको महत्व बढी हुने नै भयो । जनताले स्वामित्व ग्रहण गर्न सक्ने निकाय भनेकै स्थानीय तह हो । स्थानीय स्तरका सबै समस्याको समाधान स्थानीय तहबाटै सम्पन्न हुनु आफैंमा एउटा सुन्दर व्यवस्था हो । एउटा सानो पुल र बाटो निर्माण गर्न पनि राजधानीमा रहेका मन्त्रालय धाउनुपर्ने अहिलेको वाध्यता स्थानीय तह निर्वाचनपछि स्वतः हट्ने अनुमान गरिएको छ । कृषि, स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकताको सम्बोधन स्थानीय स्तरबाटै हुनुलाई ठूलो उपलब्धि मान्नुपर्छ ।

युवा भएको नाताले युवा उम्मेदवार बिजयी बनोस् भन्ने पंक्तिकारको कामना छ । बुढो नेतृत्वको कारण देशले उन्नति गर्न नसकिरहेका बेला युवाको पक्षमा आवाज उठाउनु अन्यथा हुने छैन । स्मार्टफोनको जमानामा ल्यान्ड लाइनको के काम ? तर स्मार्टफोन पनि यस्तो हुनुपर्‍यो कि सबै तप्काका मानिस यसलाई प्रयोग गर्न आकर्षित बनुन् । नेपाली जनता परिवर्तन चाहन्छन्, नयाँ जोश, जाँगर र अनुहार चाहन्छन् । यस्तो नेतृत्व चाहन्छन् जनता, जसमा जोश, जाँगर, इमान्दारिता, परिपक्वता, समस्याको सही निक्र्योल गर्न सक्ने क्षमता, त्यसको सही समाधान गर्न सक्ने खुबी होस् ।
राजधानी रहेको काठमाडौंको मेयर सक्षम व्यक्तिको जिम्मामा गयो भने त्यसले देशभर गतिलो सन्देश दिने छ । युवाले निर्वाचन जितुन् काठमाडौं संसारकै सुन्दर र समृद्ध सहर बनोस्, हाम्रो कामना छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.