महिला सहकारीमा विवाद
इटहरी : इटहरीमा कार्यरत सहकारीकी व्यवस्थापक बर्खास्त गरिएको विषयलाई लिएर अहिले विवाद बढेको छ । महिलाले सञ्चालन गरेको इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थामा उत्पन्न विवादले इटहरीभरि चर्चा पाएको हो । रकम हिनामिना गरेको भन्दै सञ्चालक समितिले संस्थाकी व्यवस्थापक यशोदा सेनेलाई एक महिनाअघि बर्खास्त गरेको थियो । पुनर्बहालीको माग गर्दै मणिराज पोख्रेलको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ । पेसागत महासंघले बनाएको उक्त संघर्ष समितिले चरणबद्ध रूपमा संघर्षका कार्यक्रम गर्ने सेनेले जानकारी दिनुभयो ।
पेसागत संगठनले सेनेलाई पुनर्बहाली गर्न सातदिने अल्टिमेटम दिएको थियो । अल्टिमेटमको समय सकिन लाग्दा पनि पुनर्बहाली नगरेपछि संघर्ष समिति गठन गरिएको छ । गत चैत १४ गते जारी गरिएको लेखापरीक्षण प्रतिवेदनमा रकम हिनामिना गरेको भन्दै व्यवस्थापक सेनेलाई संस्थाले निलम्बनपछि बर्खास्त गरेको थियो । सेनेसँगै लेखापाल निरु श्रेष्ठ र डिगमदेवी राईलगायतले झन्डै १० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।
संस्थाकी अध्यक्ष सुब्बाले प्रतिवेदनले हिनामिना गरेको देखाएपछि बाध्य भएर कारवाही गर्नुपरेको बताउनुभयो । ‘संस्थालाई तिर्नु पर्ने रकम तिरेर राजिनामा दिन वहाँ (सेने) लाई आग्रह गर्दा पनि मान्नु भएन,' सुब्बाले भन्नुभयो, ‘त्यसपछि तपाईंमाथि विश्वास गर्न सकिएन भनेर वहाँलाई बिदा दिइयो।'
आन्तरिक नीतिअनुसार कर्मचारीलाई दिन मिल्ने सहुलियत ऋणको ब्याजदरमा पनि दुई प्रतिशत घटाएर ऋण लिएको आरोप सेनेलाई लगाइएको छ । अन्य सेयर सदस्यलाई १३ प्रतिशत ब्याज लिने गरेकोमा कर्मचारीले नौ प्रतिशत ब्याजमा रकम पाउँदै आएका थिए । तर सेनेले भने आफूखुसी आफ्नो ऋण सात प्रतिशत ब्याजमा लगेको सुब्बाले बताउनुभयो । ‘२०७१ कात्तिक १४ गतेको बैठकले दुई प्रतिशत छुट दिने भनेको त थियो तर कर्मचारीको हकमा थिएन,' सुब्बाले भन्नुभयो, ‘मनोमानी रूपमा पैसा निकालिएको छ ।'
विवाद सार्वजनिक भएलगत्तै संस्थाबाट बचतकर्ताले बचत फिर्ता लान थालेका छन् ।
त्यस्तै आफूलाई मन परेको मानिसको हर्जाना नलिएको, संस्था विकास कोष र हर्जानासमेत नतिरेको आरोप सेनेमाथि लगाइएको छ । ऋण लिँदा आवश्यक हस्ताक्षरसमेत खातामा नभेटिएको सुब्बाले बताउनुभयो । तर यता सेनेले भने आरोपको खण्डन गर्नुभएको छ । बैठकले नै ब्याज दुई प्रतिशत घटाएर ऋण दिने भनेकाले आफूले सात प्रतिशतमा ऋण लिएको र संस्थाका बाँकी कर्मचारीले पनि सोही दरमा ऋण लिएको दाबी गर्नुभयो । वहाँले चिनेजानेको मानिसलाई हर्जाना छुट गरेको आरोपसमेत अस्वीकार गर्दै आफूलाई बद्नाम गर्न नियोजित षड्यन्त्र भएको बताउनुभयो ।
‘राजिनामा गर्नुभयो भने कुरा मिल्छ भनेर अमृता दिदीले दवाव दिनुभयो,' वहाँले भन्नुभयो, ‘यसबाट पनि म माथिको आरोप र कारवाहीको नियत राम्रो छैन भन्ने प्रष्ट हुन्छ ।' सेनेलाई पेसागत संगठनले साथ दिएपछि संस्थाकी अध्यक्ष सुब्बाको आग्रहमा अहिले संस्थाको कार्यालयमा प्रहरीले निगरानी बढाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी नरेशराज सुवेदीले सहकारीभित्रको आन्तरिक विवाद भए पनि झैझगडा हुन नदिन सुरक्षा बढाइएको बताउनुभयो ।
यता विवादको असर सहकारीको बचत कोषमा देखा परेको छ । विवाद सार्वजनिक भएलगत्तै संस्थाबाट बचतकर्ताले बचत फिर्ता लान थालेका छन् । साताभित्र एक करोड रुपैयाँभन्दा बढी बचत फिर्ता लगेको बताइएको छ ।
तथापि सहकारी संस्थाले भने विवादकै कारण बचत फिर्ता नलगिएको जनाएको छ । बचतकर्ताको बचत सुरक्षित रहेको संस्थाकी अध्यक्ष सुब्बाले बताउनुभयो । महिला बचत ऋण सहकारी संस्था महिलाले चलाएको नेपालकै ठूलो सहकारीमध्ये पर्छ । १० हजारभन्दा बढी सेयर सदस्य रहेको सहकारीले अन्तर्राष्ट्रियस्तरको एक्सेस ब्रान्डसमेत पाएको छ ।