मोडलिङ प्रतिभा देखाउने अवसर : पुनम राई
मोरङको बेलबारीमा जन्मिएकी पुनम राई चार्टर्ड एकाउन्टेन्ट बन्ने धुनमा छिन् । उनको अहिले अन्तिम वर्षको पढाइ चलिरहेको छ । यसबाहेक उनी व्यवस्थापनमा पनि स्नातकोत्तर गर्दैछिन् । मोडलिङमा सानैदेखि रुचि राख्ने पुनम केही समय पढाइले गर्दा आफ्नो यस रुचिलाई अगाडि बढाउन नसके पनि अबका दिनमा मोडलिङलाई गति दिने बताउँछिन् । दुई वर्षदेखि राइजिङ स्टार नामक सौन्दर्य प्रतियोगिताको कार्यक्रम निर्देशकका रूपमा काम गरिसकेकी उनै मोडलसँग अन्नपूर्ण पोस्ट्ले गरेको छोटो कुराकानीः
अबका दिनमा पढाइ कि मोडलिङ ?
पढाइलाई प्राथमिकतामा राखेर मोडलिङलाई पनि अगाडि बढाउने सोच छ ।
अहिलेसम्म कुन कुन सो गर्नुभयो त ?
मैले धेरै कार्यक्रममा मोडलिङ गरिसकेकी छु । म सन् २०१५ को मिस राईको टाइटल विनर पनि हुँ । मैले त्यो प्रतियोगितामा पब्लिक च्वाइस अवार्ड पनि जितेको थिएँ । धेरै कार्यक्रममा कोरियोग्राफी पनि गरिसकेको छु।
सीए हुने मान्छे, किन मोडलिङतिर आउनुभयो ?
नपढेका मानिसमात्रै मोडल हुन्छन् भन्ने नकारात्मक सोचाइलाई म चिर्न चाहन्छु । पढेलेखेका र प्रतिभाशाली मानिस पनि यो क्षेत्रमा आउन सक्छन् भनेर म समाजलाई देखाउन चाहन्छु । मोडलिङको क्षेत्रमार्फत म आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहन्छु ।
नेपालमा मोडलिङको भविष्य कस्तो देख्नुभएको छ ?
धेरै नै सुधार गर्नुपर्ने अवस्था छ । मोडल भन्नेबित्तिकै नराम्रो सोच्ने प्रचलनलाई हटाउन सके नेपालमा पनि यस क्षेत्रको विकास हुनसक्छ ।
अफर आए चलचित्रमा काम गर्नुहुन्छ ?
मेरो पहिलो प्राथमिकता सधैं पढाइ नै हुनेछ । पढाइ सकाएर काम पाए अवश्य पनि गर्नेछु ।
घरपरिवारको सहयोग कस्तो छ ?
फेरि कुरा त्यही हो । पढाइ नबिगार, राम्रो गर भन्नुहुन्छ सबैले ।
तपाईंलाई मन पर्ने मोडल ?
मलाई नेपालका प्रायः सबै मोडल मन पर्छ ।
अन्त्यमा ?
मोडलिङ क्षेत्र भनेको आफ्नो प्रतिभा देखाउने ठाउँ भएकाले हामी पढेलेखेका मानिसले पनि यसलाई अँगालेर अगाडि बढ्न सके समाजले यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ कि ।