मौन अवधिको पूर्ण पालना नगरे कारवाही : आयोग
काठमाडौं : निर्वाचन आयोगले मौन अवधिमा पनि निर्वाचन प्रचार प्रसार भइरहेको भन्दै यस्ता कार्य नरोक्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ। केही राजनीतिक दल, उम्मेद्वार र व्यक्तिले वेभसाइट, फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत निर्वाचनको प्रचार प्रसार गरेको भन्दै आयोगले यस्ता कार्य रोक्न आग्रह गरेको छ।
‘निर्वाचनको मौन अवधिमा वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार प्रसार गर्न नपाइने भएकाले त्यस्ता प्रचार प्रसारका क्रियाकलापहरू गरेको भए तत्काल रोकी मौन अवधिको पूर्ण पालना गर्न निर्वाचन आयोग सम्बद्ध सबैसँग आग्रह गर्दछ,’ आयोग प्रवक्ता सूर्यप्रसाद शमाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचार संहिता विपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेद्वार र व्यक्तिमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुने विज्ञप्तिमा उल्लेख छ।