निर्वाचनले मासुको बजार खस्कियो
काठमाडौं : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा केही विशेष खानपानको व्यापार बढ्नुको साटो घट्दै गएको छ । निर्वाचनको समयमा अत्यधिक खपत हुने खसी र कुखुराको मासुको व्यापार यस पटक खस्किएको छ । मासुको माग र खपत नबढ्दा व्यवसायीले मूल्य घटाउन बाध्य भएका छन् ।
कुखुरा व्यवसायी संघकाअनुसार यस अघिको संविधानसभाको निर्वाचनमाजस्तो यो पटक मासु बजारमा खासै चहलपहल देखिँदैन । सामान्य दिनमा जति व्यापार हुन्थ्यो, हिजोआज पनि त्यही अनुपातमा मासुको व्यापार भएको संघले जनाएको छ । संघका अध्यक्ष जंगबहादुर बिसीकाअनुसार निर्वाचनको समयमा उम्मेदवारले कार्यकर्ता र मतदातालाई रिझाउन विहान बेलुका खाना खुवाउने कार्य यसपटक देखिएन ।
‘पहिलेको निर्वाचनमा तीन महिना अघिदेखि निर्वाचनको चहलपहल सुरु हुन्थ्यो । चहलपहलसँगै दुई महिना अघिदेखि नै उम्मेदवारले कार्यकर्ता र मतदातालाई रिझाउन खसी र कुखुराको मासुको व्यवस्था गरी विशेष खानपानसहित भोजभतेरको व्यवस्था गर्थे ।
यसले गर्दा निर्वाचनको अवधिमा मासुको माग पनि ह्वात्तै बढ्थ्यो', बिसीले भन्नुभयो, ‘संविधासभाको निर्वाचनताका सामान्य दिनभन्दा झन्डै ६० प्रतिशतले मासुको माग र उपभोग बढेको थियो तर यस पटक त्यस्तो छैन ।
निर्वाचनअघि सरकारीसहित निजी विद्यालय र उद्योग बन्द हुँदा अधिकांश सर्वसाधारण मतदानका लागि जिल्लातिर फर्केका कारण मासुको व्यापारमा कमी आएको हो ।
यस पटक बजार वृद्धि हुनुको साटो घट्यो ।' उहाँका अनुसार संविधानसभाको निर्वाचनकै हाराहारीमा मासु बिक्री हुने आशमा व्यवसायीले कुखुराको मासु तयारी अवस्थामा राखेका थिए । ‘मासु खपत थोरै र उत्पादन धेरै भएपछि मूल्य घटाउन बाध्य भयौं', बिसीले भन्नुभयो ।
संघकाअनुसार निर्वाचनअघि सरकारीसहित निजी क्षेत्रका विद्यालय र उद्योग बन्द हुँदा अधिकांश सर्वसाधारण मतदानका लागि जिल्लातिर फर्केका कारण मासुको व्यापारमा कमी आएको हो । उपत्यकामा सामान्य दिनमा दुई लाख ८० हजार किलोदेखि तीन लाख किलो कुखुराको मासु बिक्री हुन्छ । तर, अहिले दैनिक दुई लाख ३० हजार किलोको हाराहारीमा मासु बिक्री भइरहेको छ । मासुको व्यापारमा कमी आउँदा संघले शुक्रबारदेखि प्रतिकिलो मासुको मूल्यमा १५ रुपैयाँ घटाएको छ ।
सिनामंगलस्थित युनिक कोल्ड स्टोरकाअनुसार यस पटकको निर्वाचन मासु व्यवसायीलाई त्यति फापेन । कोल्ड स्टोरका प्रबन्ध निर्देशक सन्तोष सुवेदीकाअनुसार निर्वाचनअघि दैनिक ६ हजार किलोको हाराहारीमा तयारी कुखुराको मासु बिक्री हुन्थ्यो । अहिले निर्वाचनको चहलपहलसँगै झन्डै एक हजार किलोको हाराहारीमा मासुको कारोबार घटेको छ । ‘अचम्मै भयो । अहिले जेनतेन गरी साढे चार हजारदेखि पाँच हजार किलोको हाराहारीमा मात्रै मासु बिक्री भइरहेको छ,' सुवेदीले भन्नुभयो, ‘यस पटकको स्थानीय निर्वाचन हामीजस्ता व्यवसायीलाई त्यति फापेन । अधिकांश उपभोगकर्ता बाहिरिएपछि मासु बिक्री हुन छाडेको छ ।'
चौपाया खरिदबिक्री सेवा संघ कलंकीका अध्यक्ष दीपक थापाले पनि निर्वाचनका कारण मासुको व्यापारमा वृद्धि नभएको जानकारी दिनुभयो । अहिले दैनिक आठ सयको हाराहारीमा खसीबोका बिक्री भइरहेको छ । यसैको हाराहारीमा अरु दिन पनि बिक्री हुने थापाले जानकारी दिनुभयो । नेपाल माछा मासु व्यवसायी संघका अध्यक्ष अनिल खड्गीकाअनुसार खसीको मासुमा करिब ३० प्रतिशतले कमी आएको छ । निर्वाचनअघि दैनिक एक हजार पाँच सय खसीबोकाको मासु बिक्री हुन्थ्यो ।