प्रेमदास विघटनको कथा होइन
गत साता रेशम विरहीको पहिलो उपन्यास ‘प्रेमदासको डायरी' बजारमा आएको छ । कम्युनिस्ट आन्दोलनभित्रका असहजताहरूले उत्पन्न गरेको परिस्थितिले थिचेका उपन्यासका पात्रहरूमाथि केन्द्रित भएर विरहीसँग दीपक सापकोटा र लक्ष्मण श्रेष्ठले गरेको कुराकानी :
लेखन के हो ?
- मेरोनिम्ति लेखन जीवन भोगाइको कलात्मक प्रस्तुति हो ।
तपाईंको लेखनले समेट्ने आयाम के के हुन् ?
- मेरो लेखनमा समेटिने खासगरी तल्लो वर्गका मानिसको जीवनले मलाई आकर्षित गर्छ । म बाँचेको समाज नै मेरो लेखनको मूल आधार हो । यससँगै राज्यसत्ताको भाग पाएका र नपाएका मानिसको तुलनात्मक प्रस्तुति मेरो रुचिको क्षेत्र हो । साथसाथै सामाजिक-राजनीतिक संरचनाको गठन, विघटनलाई नजिकबाट अवलोकन गरेर प्रस्तुत गर्नु मेरो रुचिभित्र पर्छ ।
लेखनमा पक्षधरता कत्तिको आवश्यक ठान्नुहुन्छ ?
- म वर्गीय पक्षधरतामा विश्वास गर्छु । समाजमा दबाइएको वर्गको पक्षमा लेख्छु म । तर, यो पक्षधरता संगठनका कित्ताको पक्षधरता होइन । नेपालमा वर्गभित्र पनि दलीय कित्ताहरू बनाइएका छन् । म कुनै कित्ताको लेखक होइन ।
त्यो पक्षधरता कस्तो हो ?
- जुन समाज वा वर्गको विषयमा लेख्न खोजेको हो; त्यसको वास्तविकता, संघर्ष र सपनाको यथार्थ चित्रण गर्ने पक्षधरता हो मेरो ।
त्यसो भए तपाईंको लेखन सोद्देश्यमूलक हो ?
- हो, म सबै किसिमका विभेद अन्त्य भएको अनुभव गर्न चाहन्छु । गर्दै सामाजिक-सांस्कृतिक रूपान्तरणका लागि सहयोग गर्ने चेतनाको निर्माण र विस्तार गर्नु नै मेरो मूल ध्येय हो । म मेरा पात्रहरूझैं समाज परिवर्तनको सपना देखिरहेको हुन्छु ।
त्यसो भए तपाईंलाई सामाजिक यथार्थवादी भन्न मिल्छ हैन ?
- समाजवादी यथार्थवादी । म केवल यथार्थ चित्रण गर्दिनँ, परिवर्तनका लागि गरिएका संघर्षको पक्षपोषण पनि गर्छु ।
तर, पछिल्ला केही टिप्पणीकार र लेखकले सामाजिक यथार्थवादले नेपाली साहित्यलाई साँघुरो बनाएको आरोप लगाएका छन् नि ?
- लेख्नैका लागि लेखिएका कतिपय सिर्जनाले सामाजिक यथार्थवादी धारलाई कमजोर बनाएको हुनुपर्छ । तर, यसमा विचारधारामात्रै जिम्मेवार छैन ।
अब तपाईंको उपन्यासमै केन्द्रित होऊँ । ‘प्रेमदासको डायरी'लाई समाजवादी यथार्थवादी नै भन्नुहुन्छ, होइन ?
- हो, मेरो उपन्यास समाजवादी यथार्थवादी नै हो ।
तर, यो त प्रगतिको भन्दा विघटनको कथाजस्तो देखिन्छ । समाजवादी यथार्थवादले त प्रगतिको कथा भन्छ होइन र ?
- यो उपन्यास कुनै पनि हिसाबले विघटनको कथा होइन । जसले त्यसरी लिन्छ, त्यो उसको भ्रम हो । कृपया भ्रम सच्चाउनुस् ।
तीसको दशकदेखि माओवादी विद्रोहको अन्त्यसम्मको नेपाली कम्युनिस्ट आन्दोलनको एक पाटो चित्रण गरिएको छ यो उपन्यासमा । तर, सबैजसो पात्र कि मारिएका छन् कि उनीहरूले आन्दोलन त्यागेका छन् । के यो विघटनको कथा होइन ?
माक्र्सवादलाई खोटरहित, सीमारहित दर्शनको रूपमा बुझ्नु नेपालको कम्युनिस्ट आन्दोलनको एउटा ठूलो कमजोरी हो । माक्र्सवाद परिवर्तनकामी विश्वदृष्टि हो । यो जडताविरोधी छ तर यसका सीमाहरू पनि छन् ।
- यथार्थमा आन्दोलनमा विचलन छ कि छैन ? विघटन छ कि छैन ? समस्या छ कि छैन ? मैले यथार्थको चित्रण गरेको हुँ ताकि यसले नेपाली कम्युनिस्ट आन्दोलनका उठाउनुपर्ने तर नउठाइएका प्रश्नहरू उठाओस् । प्रश्न उठाउनुको अर्थ भूल र गल्तीहरू सच्याउनु हो । दोषी र निर्दोषीहरू को हुन् भनी केलाउनु हो । अगाडिको यात्रामा आउनसक्ने बाधालाई अहिले नै पन्छाउनु हो । अनि कसरी भयो त विघटनको कथा !
उपन्यासमा तपाईंले माओवादी विद्रोहसँग जोडेर पत्याउनै गाह्रो पर्ने पात्र, घटना र तथ्य उल्लेख गर्नुभएको छ । यथार्थको नाममा भ्रमहरूको सिर्जना बढी गर्नुभयो कि ?
- कतिपय यथार्थ अखबारी फ्रेममा अटाउन सक्दैनन् किनभने त्यसका लागि चाहिने प्रमाण र साक्षीहरू जुटाउन गाह्रो हुन्छ । त्यस्ता यथार्थ चित्रण गर्न कलाको आवश्यकता पर्छ । उपन्यासमा त्यस्तै यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरिएको हो । कला स्वयंमा विभ्रमको अर्को रूप हो । यो विभ्रमको सिर्जना कलात्मकताको सिर्जना हो । सपाट यथार्थ पढ्नलायक हुँदैन । उपन्यासले सिर्जना गरेको विभ्रम कलात्मक यथार्थ हो । यथार्थको कलात्मक रूपान्तरण हो ।
यो विषय नै किन रोज्नुभएको ?
- नजिक वा टाढाबाट म यही विषयसँग जोडिइरहेँ । मैले देखेका मानिस, छामेको समाज, भोगेको यथार्थ योभन्दा पर छैन । यहाँ उल्लिखित पात्रहरू कतै न कतैबाट मेरो जीवनमा जोडिएका छन् । जब यो यथार्थले बहसमा जानुपर्छ भन्ने लाग्यो, उपन्यासका रूपमा लेखेँ । पहिले त महाकाव्य नै लेखिरहेको थिएँ । विभिन्न कारणले उपन्यासको रूपमा ढालेँ ।
तपाईंको सहज क्षेत्र पनि भएर हो कि ?
- सहज/असहज म भन्न सक्दिनँ । मेरो भोगाइ, अनुभव र अनुभूतिसँग जोडिएको पक्कै हो ।
यसमा कम्युनिस्ट आन्दोलनको नकारात्मक पाटोमात्रै बढी चित्रण भएको देखिन्छ नि ?
- नकारात्मकभन्दा पनि कम्युनिस्ट आन्दोलनभित्रका कमीकमजोरीको चित्रण भन्नु ठीक होला ।
उपन्यासको मूल पात्र प्रभाकर र रेशम विरही कतिपय प्रसंगमा उस्तैउस्तै लाग्छ । प्रभाकर नै रेशम हो ?
- कथानक र घटनाक्रमले त्यस्तो आभासको अनुभव हुनसक्छ । हाम्रो समाजमा धेरै प्रभाकर छन् । कम्युनिस्ट आन्दोलनमा लागेको मजस्तो मानिसको तुलना प्रेमदासजस्ता प्रतिबद्ध मानिससँग पाठकले स्वाभाविक रूपमा गर्लान् । त्यसो त हरेक लेखनमा लेखकको उपस्थिति देखिनु अस्वाभाविक हुन्न । तर, प्रभाकर विशुद्ध रूपमा रेशम विरही होइन । रेशम विरही कम्युनिस्ट आन्दोलनलाई नजिकबाट नियाल्ने एक भौतिक पात्र हो । प्रभाकर जीवनभर कुनै न कुनै हिसाबले कम्युनिस्ट आन्दोलनमा संगठित विभिन्न पात्रको आख्यानीकृत रूप । सबैभन्दा ठूलो फरक यही नै हो ।
अरू पात्रहरू पनि यथार्थसँगै नजिक हुन् ?
- मैले कुनै पनि पात्रलाई कल्पनाको दुनियाँबाट टिपेर आख्यानको संसारमा हुलिदिएको होइन । हरेक पात्र समाजकै वास्तविकतासँग जोडिएका छन् । तर, ती कोही एकको छायाचित्र होइनन् । ती प्रवृत्ति र स्वभावहरूको साझाकरणबाट निर्मित हुन् । तपाईं उपन्यासका यी पात्रहरूलाई समाजका वास्तविक पात्रका प्रतिनिधि भन्न सक्नुहुन्छ ।
भनिन्छ, लेखक पात्रको मुखबाट बोल्छ । उपन्यासको मुख्य पात्र प्रभाकर पछिल्लो चरणमा आफूले सबैभन्दा बढी विश्वास गरेको दर्शनप्रति नै सन्देह गर्न थाल्छ । यो तपाईंकै सन्देहको प्रतिविम्ब हो ?
- माक्र्सवादलाई खोटरहित, सीमारहित दर्शनका रूपमा बुझ्नु नेपालको कम्युनिस्ट आन्दोलनको एउटा ठूलो कमजोरी हो । माक्र्सवाद परिवर्तनकामी विश्वदृष्टि हो । यो जडताविरोधी छ तर यसका सीमाहरू पनि छन् । परिवर्तनलाई ऐतिहासिक भौतिकवादी द्वन्द्वात्मक दृष्टिले हेर्नुपर्छ । किनभने माक्र्सको समयदेखि यता धेरै परिवर्तन भएका छन् ।
त्यति बेला वातावरणीय मुद्दा आजजस्तो चर्को ढंगमा उठेको थिएन । आज मानवीय अस्तित्वमै प्रश्न उठ्ने गरी खडा भएको छ यो समस्या । त्यससँग औद्योगिकीकरण, राजनीतिक स्वार्थ र सम्बन्ध जोडिएको छ । माक्र्सवादले मात्र यस जटिल समस्यालाई पूरापूर सम्बोधन गर्ने होइन । तर, यसले जीविका र वातावरणको अन्तर्सम्बन्धलाई हेरेर रणनीति तय गर्यो भने धेरै हदसम्म यसबाट सम्भव हुन्छ ।
तर, प्रभाकर भन्ने पात्र आफैंमा भ्रमित छ त । पार्टीको निर्णय स्वीकार्न पनि सक्दैन पार्टी नै छोड्न पनि सक्दैन । विवाहबारे पनि यस्तै छ । हरेकजसो प्रसंगमा कुनै ठोस निर्णय लिन सक्दैन ।
- प्रभाकर विचारमा प्रतिबद्ध छ तर व्यवहारमा कसरी जाने भ्रममा पनि छ । विवाहमा जान चाहन्छ तर परिस्थितिले साथ दिएको छैन ।
परिस्थितिको दास ! त्यो त प्रायः पात्र त्यस्तै देखिन्छन् । परिस्थितिको दास छन् सबै भन्न खोज्नुभएको ?
- नेपाली कम्युनिस्ट आन्दोलनको विडम्बना नै यही हो, प्रायः यस्तो परिस्थितिको निर्माण गरिन्छ जसले असल मानिसहरूलाई दास बनाइदिन्छ । यसको कारण सिंगो आन्दोलनमा छैन । नेतृत्वपंक्तिमा आन्दोलनको सफलताप्रतिको अविश्वास नै यसको मूल कारण हो ।
नेपाली कम्युनिस्टले आफ्नो व्यक्तिगत जीवन र सामाजिक जीवन दुवैलाई सन्तुलित ढंगले अघि बढाउन सकिरहेका छन् कि छैनन् ? के यही असन्तुलनले प्रेमदास जन्मिएको हो ?
- ठिकै भन्नुभो । नेपालमा कम्युनिस्टहरूमा मात्र होइन, अरू राजनीतिक विचारका मानिसमा पनि राजनीतिक संस्कारको अभाव छ । विचार, जीवन र सामाजिक व्यवहारमा अत्यन्त फराकिलो खाडल छ । यसले गर्दा कतिपय इमानदार मानिसहरू अवसादको सिकार भएका छन्, ओझेलमा परेका छन्, हराएका छन् । विचारलाई आचरणमा उतार्न सक्नुपर्ने हो तर अलि फरक ढंगको व्यवहार देखिनुले समाजमा राजनीतिकर्मीहरूको छवि धमिलिएको छ ।
यति धेरै असन्तुलन हुँदा पनि तपाईंले विघटनको कथा मान्नुहुन्न । उपन्यासमा परिवर्तनप्रति जबर्जस्त विश्वास देखाउन खोज्नुभएको हो ?
- विश्वास गर्न खोजेको हो ।
कसरी ?
- निराश भएर पनि विश्वास त रहिरहन्छ नि । निराश हुँदैमा विश्वास खत्तम हुने त होइन । विश्वास र निराशा फरक हो । निराश छ । आशावादी भएर हिँडिरहन्छ । सपना त मरेको छैन । त्यो कविताको खरानीझैं छरिएको छ ।
अब, विषय मोडौं । नेपाली कम्युनिस्ट आन्दोलन नै तपाईंको विषय हुने गरेको छ । नेपालमा कति खाले कम्युनिस्ट पाउनुभएको छ ?
- पार्टीगत रूपमा भन्ने हो दर्जनौं होलान् । तर, व्यवहार र निष्ठाका रूपमा भन्ने हो भने दुई थरी छन् । एक थरी निष्ठावान्, अर्को थरी उपभोगवादी छन् ।
तपाईंलाई यी दुई थरीमध्ये कस्ता कम्युनिस्ट मन पर्छन् ?
- निष्ठावान् नै मन पर्छन् ।
तपाईं कम्युनिस्ट भएपछि जीवनप्रतिको निष्कर्षमा के-कस्तो परिवर्तन आयो ?
- म भावनात्मक रूपमा कम्युनिस्ट आन्दोलनसँग जोडिएको हुँ । त्यसैले मैले कम्युनिस्ट आन्दोलनको स्वरूप, परिवर्तन र राम्रा-नराम्रा पक्षलाई निकै नजिकबाट अनुभव गरेको छु ।
नारायण वाग्लेले कार्यक्रममा भनेझैं, दोस्रो ‘देब्रे आँखा'पछि दाहिने आँखा भन्न सुहाउने यस्तो किताब, जसमा कन्टेन्टमा समानता छ । लेख्न जरुरी के थियो ?
-उपन्यासप्रति उहाँको बुझाइ फरक भयो । ‘देब्रे आँखाको एकदुईवटा निबन्धमा यस्ता कुरा देखिए होलान् । यो त आख्यान हो । यसको क्यानभास विशाल छ । यसमा इतिहासको एउटा कालखण्डको चित्रण छ । समाज र कम्युनिस्ट आन्दोलन र यसभित्रका दुरुहतालाई प्रतीकात्मक रूपमा उतारेको छ । उपन्यासमा देखा परेका भारतीय चासो र नेपालको अवस्थालाई चित्रण गर्दा चित्त नबुझ्नेहरूले पनि असहमति जाहेर गर्न सक्छन् । साथै यसका अतिरिक्त दसवर्षे ‘जनयुद्ध'प्रति विमति राख्दाराख्दै पनि सहानुभूति राख्नेहरूको पनि केही कुरूपतालाई उत्खनन गर्दा चित्त दुख्नसक्छ ।
प्रेमदास कम्युनिस्ट आन्दोलनमा लागेको प्रतिबद्ध कार्यकर्ता हो तर यौनकुण्ठाले उसलाई त्यस आन्दोलनबाट विमुख बनाएको छ नि ?
- उपन्यासको पात्र अनुराधा सोठले प्रेमदासलाई भनेकी छ— तँ मानिस महान् होस् । तर, तँ आफ्नो विचारको जगमा उभिन नसक्ने कमजोर प्राणी होस् । यो कुरा प्रेमदासले पनि स्वीकारेको छ । र, यस उपन्यासमा प्रेमदासलाई मैले तयार गरिएको एउटा जबर्जस्त परिस्थितिवश कुण्ठित हुन पुगेको पात्रकै रूपमा उभ्याएको हुँ ।
. कतिपय कम्युनिस्टहरू कालान्तरमा विचलित भएका उदाहरण थुपै्र छन् । यसलाई कसरी हेर्नुहुन्छ ?
- मूलतः माक्र्सवादलाई अपरिवर्तनीय जडशास्त्रका रूपमा बुझ्ने एउटा धार र यसलाई वस्त्रका रूपमा पहिरिने अर्को धारका कारणले गर्दा यस्ता विचलनहरू देखा परेका हुन् । उपन्यासमा चित्रित परिवेशले पनि त्यस्तो देखाएको हुनुपर्छ ।