अाज वैशाख ३१ : २० वर्षपछि मतदान हुँदै
काठमाडौं : झन्डै २० वर्षपछि जनताको घरदैलोको सरकार स्थानीय तहमा जनप्रतिनिधि छान्न आइतबार तीन प्रदेशमा मतदान हुँदैछ । पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशका २ सय ८३ स्थानीय तहका लागि मतदान हुन लागेको हो । तीमध्ये दुई तहमा प्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । २०५४ मा चुनाव भएयता स्थानीय तह जनप्रतिनिधिविहीन छ । नयाँ संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएपछि पहिलोपटक चुनाव हुन लागेको हो । स्थानीय तहको निर्वाचनबाट पहिलोपटक ठूलो संख्यामा महिला र दलित जनप्रतिनिधि बन्दैछन् ।
निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ । आयोगले ६ हजार ६ सय ४२ मतदान केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको भन्दै ‘एक दिन राष्ट्रका लागि समय दिएर मतदान गर्न' अपिल गरेको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मतसंकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदानकार्यमा उचित व्यवस्थापन मिलाउन र सहज ढंगले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई आयोगले निर्देशन दिएको छ । अपांगता भएका मतदातालाई मतदान गर्न सजिलो होस् भनेर सयभन्दा बढी मतदानकेन्द्रमा र्याम्प बनाइएको आयोगले जनाएको छ ।
उम्मेदवारहरूमा प्रमुख/अध्यक्षभन्दा उपप्रमुख/उपाध्यक्षमा महिलाको संख्या निक्कै बढी छ । दुई गाउँपालिकाका प्रमुखसहित १ सय ६० महिला र १ सय ६९ पुरुष गरी ३ सय २९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा, हराएमा वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको छ ।
‘मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भुलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ', प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शनिबार पत्रकारसम्मेलनमा भन्नुभयो ।
‘संविधानले महिला, पिछडिएका क्षेत्र, सीमान्तकृत समूह, दलित, मधेसी समुदाय र अपांगता भएका व्यक्तिहरूका साथै अन्य लक्षित समूह एवं समुदायहरूको निर्वाचनमा सहभागिता सुनिश्चित गरेको छ', पत्रकारसम्मेलनमा प्रमुख आयुक्त यादवले भन्नुभयो, ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनबाट सामान्य नागरिकहरूले पनि शासनमा सहभागिता हुन पाओस् र लोकतन्त्रमा कसैले पनि आफू वञ्चितिमा परेको अनुभूति गर्नु नपर्ने प्रावधान हुँदा स्थानीय तह निर्वाचनको महत्वव अझै बढेको छ ।'
मतदान गर्न मतदाताहरू ज्यादै उत्सुक रहेको उल्लेख गर्दै यादवले भन्नुभयो, ‘निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदानप्रक्रियामा सहभागी हुन र आफ्नो अमूल्य मत सातजना उम्मेदवारलाई प्रदान गर्न सबै मतदाता महानुभावहरूसँग आयोग हार्दिक अपिल गर्न चाहन्छ ।' आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानकेन्द्रमा प्रवेश गर्ने मतदाताले मात्र मतदान गर्न पाउने जानकारी दिँदै यादवले भन्नुभयो, ‘मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी दुःख सहेर भए पनि मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन म यहाँहरूलाई अनुरोध गर्दछु ।' आफ्नो स्थानीय सरकार कस्तो बनाउने हो, त्यो मतदाताहरूकै हातमा निर्भर रहेको उल्लेख गर्दै आयोगले आफ्नो अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय गरेर गोप्य रूपले प्रदान गर्न मतदातालाई आग्रह गरेको छ ।