काभ्रेमा गोली चल्दा एकको मृत्यु
काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेसी, मेथिन्कोटमा गोली लागी माओवादी केन्द्रका कार्यकर्ताको मृत्यु भएको छ । शनिबार राती साढे १० बजे गोली लागेर माओवादी केन्द्रका स्थानीय कार्यकर्ता नवराज पाठकको हत्या भएको हो । निर्वाचनको ९ घण्टा अगाडि भएको घटनाले मतदाता सुरक्षाको चिन्तामा परेका छन् ।
प्रहरीको गाेलीबाट पाठककाे मृत्यु भएको भनिएको छ । नेकपा माओवादी केन्द्र नमोबुद्व नगरपालिका सह-इन्चार्ज हरि तिमल्सिनाले माओवादीको जित सुनिश्चित देखेर विरोधीहरुको योजनामा गोली चलाइएको आरोप लगाउनु भएको छ । केही युवाहरु निर्वाचन बारे छलफल गरी बसिरहेका बेला प्रहरीले गोली चलाउँदा पाठकको मृत्यु भएको तिमल्सेनाले जानकारी दिनुभयो ।
पाठकको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । स्थानीयहरुले सशस्त्र प्रहरीले चलाएको गोलिबाट मृत्यु भएको बताएपनि प्रहरी प्रशासनले भने त्यसलाई स्वीकारेको छैन । घटना बारे अनुसन्धान भरहेको साहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताउनुभयो । कसले र किन गोली चलायो भन्नेबारे अनुसन्धान भइरहेको उहाँको भनाई छ ।