मताधिकार प्रयोग गर्न सबै शीर्षको आह्वन

मताधिकार प्रयोग गर्न सबै शीर्षको आह्वन

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनलाई तीन तहको निर्वाचनको ‘पहिलो खुड्किलो' बताउनुभएको छ । संविधानमा २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था रहेको र त्यसको पहिलो ‘खुड्किलो' स्थानीय तहको निर्वाचन रहेको उहाँको भनाइ छ । स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार हुने पहिलो चरणको निर्वाचनको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘नेपाली जनताको लामो संघर्षको फलस्वरूप नेपालको संविधान जारी भएपछि हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन म आह्वान गर्दछु ।'

स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने र यसले स्थायित्व एवं आर्थिक समृद्धिको ढोका खोल्ने उहाँको भनाइ छ । लामो समयपछि हुन लागेको निर्वाचनमा उत्साह एवं उमंगका साथ सहभागी भई संविधानले दिएको मताधिकार प्रयोग गर्न मतदातालाई उहाँले आग्रह गर्नुभयो । ‘शान्तिसुरक्षाका दृष्टिले निर्वाचन स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले भरपर्दो सुरक्षा प्रबन्ध मिलाएको हुँदा भय र संकोचबिना निर्धक्क भई आफूले चाहेका उम्मेदवारलाई मत खसाली ऐतिहासिक अवसरको सदुपयोग गरौं', उहाँले भन्नुभयो ।

आइतबार मतदानको दिन मात्र नभई नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि रहेको भन्दै उहाँले सबैलाई उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गर्नुभएको हो । पहिलोपटक नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको तथा लोकतन्त्रमा जनताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने माध्यम नै निर्वाचन भएको उहाँले बताउनुभयो । त्यसैले निर्वाचनमार्फत आफ्नो निर्णायक शक्तिको प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकार प्रयोग गर्ने पहिलो अवसरका रूपमा स्थानीय तहको निर्वाचन रहेको बताउनुभएको छ । त्यसैले सबैले उक्त अधिकारको प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीका रूपमा पनि स्थानीय तहको निर्वाचन रहेको र संघात्मक शासन व्यवस्थाको स्थापनामा यो एउटा कोसेढुंगा साबित हुने शनिबार जारी प्रेसवक्तव्यमा उल्लेख छ ।

निर्वाचनबाटै सिंहदरबारकेन्द्रित अधिकार र स्रोतसाधनलाई जनताको घरआँगनसम्म पुर्‍याउने ढोका खुल्ने उहाँको भनाइ छ । आगामी जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय भएका प्रदेश नं १, २, ५ र ७ का जनसमुदायलाई सक्रियतापूर्वक आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा लाग्न पनि उहाँले विशेष आग्रह गर्नुभएको छ ।

दबाब र प्रभावबाट मुक्त भई मतदान गरौं : ओली


एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले कसैको दबाब एवं प्रभावबाट मुक्त रहेर मतदान गर्न सुझाउनुभएको छ । ‘आम मतदातको सबैभन्दा निकट रहने स्थानीय सरकार आफैं छान्ने यस निर्वाचनमा उत्साहपूर्ण ढंगले सहभागी होऊँ र आफूले रुचाएका उम्मेदवारका पक्षमा मतदान गरौं', पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित पत्रकारसम्मेलनमा उहाँले भन्नुभयो ।

सरकार र सत्ताधारी दलबाट हुनसक्ने अनुचित दबाब र प्रभावबाट मुक्त रहँदै संविधान एवं कानुनले निर्धारण गरेको कर्तव्य निष्पक्षतापूर्वक सम्पन्न गर्न सबै राष्ट्रसेवक, सुरक्षाअंग र राज्यका सबै निकायसँग उहाँले आग्रह गर्नुभयो । ‘यस निर्वाचनले संविधानको कार्यान्वयन र नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई आधारभूत तहसम्म पुर्‍याउने महत्ववपूर्ण कडीको भूमिका निर्वाह गर्नेछ', शनिबार ओलीद्वारा जारी प्रेसविज्ञप्तिमा भनिएको छ। 

निर्वाचनलाई निष्पक्ष, भयरहित एवं स्वच्छ वातावरणमा सम्पन्न गराउनु र प्रत्येक मतदाताको मताधिकार र मतको सुरक्षाको प्रत्याभूति गर्नु निर्वाचन आयोग र सरकारको दायित्व भए पनि सरकार र सत्ताधारी दलका तर्फबाट निर्वाचनलाई प्रभावित गर्न राज्यकोषबाट जथाभाबी रकमान्तर गर्ने, पदीय हैसियत र सरकारी साधनस्रोतको दुरुपयोग गर्ने काम नरोकिएकोमा ओलीले चिन्ता व्यक्त गर्नुभएको छ । ‘लोकतन्त्रमा आफ्ना मान्यताको वैधता परीक्षण गर्ने र तिनमा जनताको अनुमोदन प्राप्त गर्ने उपयुक्त विधि निर्वाचन नै हो', ओलीले भन्नुभयो, ‘त्यसैले विभिन्न असहमति राखेर निर्वाचनप्रक्रियाभन्दा बाहिर रहेका दललाई पनि दोस्रो चरणको निर्वाचनमा उत्साहसाथ सहभागी बनाऔं।'

जनताको बहुदलीय जनवादको सैद्धान्तिक मार्गदर्शनलाई आत्मसात् गरेको एमालेले जनादेशको उच्च सम्मान गर्ने उहाँले बताउनुभएको छ । ‘भर्खरै हत्याहिंसाको पीडादायी कालखण्डबाट गुज्रेको नेपालमा फेरि हिंसात्मक गतिविधि किमार्थ स्वीकार्य हुन सक्दैन । तसर्थ त्यस्ता गतिविधिबाट पृथक् रहन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दै प्रभावकारी सुरक्षाव्यवस्थाका लागि सरकारसँग माग गर्दछु', उहाँले भन्नुभयो ।

निर्वाचन सफल बनाअा‌ैै : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको मतदानलाई सफल बनाउन सबैसमक्ष आग्रह गर्नुभएको छ । शनिबार सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको अवस्थामा हुन लागेको निर्वाचनको ऐतिहासिक महत्वव रहेको उल्लेख गर्नुभयो ।

स्थानीय तहको निर्वाचन संविधानले परिकल्पना गरेको स्थानीय तह, प्रदेश र केन्द्रीय तहलाई व्यवहारमा नागरिकले अनुभूत गर्न पाउने पहिलो खुड्किलो रहेको उहाँको भनाइ छ । त्यसैले निर्भयसाथ मतदान गर्न उहाँले आग्रह गर्नुभएको हो । ‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र संघीय राज्यको परिकल्पना पूरा गर्ने यो महत्ववपूर्ण अवसर हो । सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसहभागिताजस्ता लोकतन्त्रका आधारभूत मूल्यमान्यतालाई स्थापित गर्दै सुदृढ लोकतन्त्रका पक्षमा यो निर्वाचन कोसेढुंगा सावित हुने विश्वास मैले गरेको छु, विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.