स्थानीय निर्वाचन छाडेर उद्योगी व्यवसायी विदेश भ्रमणमा
काठमाडौं : यतिबेला मुलुक निर्वाचनमय भएको छ । दुई दशकपछि हुन लागेको स्थानीय निकायको निर्वाचनले सबैलाई उत्साही बनाएको छ । आइतबार (आज) निर्वाचन हुने क्षेत्रका मतदाता आ–आफ्नो निर्वाचनस्थल पुगिसकेका छन् । निर्वाचनका लागि मतदाता बाहिरिएपछि राजधानीको ट्राफिक घटेको छ । मुलुकमा चुनावी सरगर्मी चढिरहँदा कतिपय व्यवसायी विदेशतिर लागेका छन् । विदेशका विभिन्न मुलुकमा पुगेर व्यवसायीले सामाजिक सञ्जालमा फोटो अपलोड गरेको देखिएको छ ।
निर्वाचनको समय पारेर व्यवसायीको ठूलो समूह खाडी मुलुक लेवनानको बेरुत पुगेको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, कार्यकारिणी सदस्य सौरभ ज्योति, शाहिल अग्रवाललगायत भ्रमण टोलीमा छन् । यस्तै, क्याबिनेट श्रेष्ठ, नकिम उद्दिन लगायतका थुप्रै व्यवसायी पनि खाडी मुलुकमै देखिएका छन् । उनीहरू परिवारसहित ( श्रद्धा मुरारका, सुशान श्रेष्ठ, सृजना ज्योति, सिमा गोल्छा, समिरा उद्दिन) खाडी मुलुक भ्रमणमा गएका हुन् । नेपाल उद्योग परिसंघमा आबद्ध धेरै व्यवसायी पनि विदेशतिर लागेको बताइन्छ । यही मौकामा अन्य मुलुक जाने व्यवसायी पनि प्रशस्तै छन् ।
निर्वाचनको समयमा व्यवसायीको विदेश भ्रमण नौलो होइन । निर्वाचन अवधिभर व्यापार व्यवसाय नहुने भएपछि व्यवसायी परिवार लिएर विदेश जान्छन् । राजनीतिक दल र उम्मेदवारले आफ्नो चुनावी खर्चको स्रोत व्यवसायीलाई बनाउँछन् । निर्वाचनको मुखमा हुने चन्दाको आतंकबाट जोगिन पनि व्यवसायी विदेशतिर लाग्ने गरेको पाइन्छ । स्थानीय तहको निर्वाचन भए पनि राजनीतिक वृत्तबाट केन्द्रको निर्वाचनमा झैं चन्दाको दबाब आएको व्यवसायी बताउँछन् ।
निर्वाचनको समयमा विदेश नजाने व्यवसायी पनि धेरै छन् । तर, उनीहरू चन्दाको डरले मोबाइल स्वीच अफ गरेर बसेका छन् । कतिपय व्यवसायीले वैशाखयता अनावश्यक व्यक्तिसँग सम्पर्क घटाउने, मोबाइल नम्बर परिवर्तन गर्ने, सहयोगीमार्फत सम्पर्कमा आउने, सार्वजनिक कार्यक्रममा नजाले गरेका छन् । चन्दाबाट बच्न मोबाइल स्वीच अफ र विदेश सयर उपयुक्त माध्यम बन्दै आएको छ ।
निर्वाचन नजिकिने वित्तिकै व्यवसायी खुसुक्क विदेशतिर लाग्छन् । ‘कतिपय व्यवसायी निर्वाचनबाट भागेको भन्ने पनि देखाउन चाहँदैनन्, चन्दाको फेस गर्न पनि सक्दैनन्' एक व्यवसायीले अन्नपूर्णसँग भने, ‘बरु खुसुक्क परिवार लिएर विदेश गएपछि चन्दाबाट पनि बचिने, घुमघाम पनि हुन्छ ।' कतिपय व्यवसायीले विदेशी साझेदार कम्पनीसँगको बैठक तथा भेटघाट चुनावकै समयमा मिलाएर जाने गर्छन् ।
खाडी मुलुक भ्रमणमा गएका व्यवसायीको समूहले भने फेसबुकमार्फत लेबनान, जोर्डन, ओमानतिर घुमफिर गरिरहेको जानकारी गराइरहेका छन् । उनीहरू पहिलादेखि नै योजना बनाएर खाडी पुगेका हुन् । जेठ दुई गते नेपाल फर्किंने सहभागीमध्ये एक व्यवसायीले जानकारी दिए । व्यवसायी वर्षभरि नै व्यस्त रहन्छन् । उनीहरूलाई फुर्सद मिल्ने भनेको चाडपर्व र चुनावको समयमा हो । त्यही भएर पनि चुनावको समयमा परिवार लिएर घुम्न निस्कने गरेको व्यवसायी बताउँछन् । नेपाली व्यवसायी थाइल्यान्ड, मलेसिया, बैंकक, सिंगापुर, दुबई, हङकङ, इन्डोनेसियादेखि युरोप तथा अमेरिकासम्म घुम्न जान्छन् ।
राजनीतिक दल र उम्मेदवारले आफ्नो चुनावी खर्चको स्रोत व्यवसायीलाई बनाउँछन् । निर्वाचनको मुखमा हुने चन्दाको आतंकबाट जोगिन पनि व्यवसायी विदेशतिर लाग्ने गरेको पाइन्छ ।
व्यवसायको विश्वव्यापी विस्तारमा अधिकांश समय विदेशमा व्यस्त रहने फोब्र्स अर्बपति विनोद चौधरी अहिले नेपालमा छन् । उनी निर्वाचनमा भोट खसाल्न नवलपरासीको चौधरी उद्योग ग्राम पुगेका छन् । उनी नवलपरासीका मतदाता हुन् । उनीजस्ता धेरै व्यवसायीले निर्वाचनमा भोट हाल्दैछन् । खासगरी पुरानो पुस्ताका धेरै व्यवसायी निर्वाचनमा सहभागी हुँदैछन् । नयाँ पुस्ताका व्यवसायी फुर्सद निस्कने वित्तिकै भ्रमणमा निस्कने गर्छन् । मुलुकमा दुई चरणमा स्थानीय निकायको निर्वाचन हुँदैछ । पहिलो चरणमा ३, ४ र ६ प्रदेशमा ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । जहाँ ४९ हजार ७१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । १, २, ५ र ७ प्रदेशका ४१ जिल्लाको निर्वाचन जेठ ३१ गते गर्ने योजना बनाइएको छ ।
स्थानीय निर्वाचनको दुई चरणमा सरकार र उम्मेदवारको गरी झन्डै एक खर्ब रुपैयाँ खर्च हुन्छ । चुनावी प्रचारप्रसारका लागि उम्मेदवारले कार्यकर्ता परिचालन, भोटर रिझाउने, इन्धन, सवारीसाधन, प्रचार सामग्री, कार्यालय सञ्चालन लगायतमा मोटो रकम खर्चिनुपर्ने हुन्छ । चुनावी खर्चको मुख्य स्रोत उद्योगी व्यवसायीलाई बनाउँछन् । चुनावी खर्च जुटाउन उम्मेदवार व्यवसायीलाई फोन गर्नेदेखि अफिससम्म धाउँछन् । नेपालमा चुनाव महँगिदै गइरहेको छ । टन्न पैसा नभएको व्यक्ति चुनावमा उठेर जित्न नसक्ने अवस्था छ ।