मोदीको चिन्ता
छिमेकको शान्ति, समृद्धि र स्थायित्वको चाहना अक्सर स्वाभाविक चाहना हुने गर्छन् हरेक मुलुकमा । नेपालका दुई विशाल छिमेकी मुलुक भारत र चीनले सिद्धान्ततः नेपालको स्थायित्व, शान्ति र समृद्धि नै उनीहरूको ‘निहित स्वार्थ' हो भन्नेसम्मको अभिव्यक्ति दिँदै आएका छन् । पक्कै पनि उनीहरूका अभिव्यक्ति र ‘नीतिगत चाहना' लाई व्यवहारको कसीमा राखेर हेरिनुपर्छ ।
भर्खरै नेपालले चीनले अघि सारेको उसको रणनीतिक अवधारणा ‘वन बेल्ट वन रोड' प्रस्तावमा हस्ताक्षर गरेको छ । त्यसको अर्थ हो आगामी वर्षहरूमा नेपाल र चीनबीच विकास, भौतिक परियोजना निर्माण, रेल मार्ग, सडक, ऊर्जा तथा विद्युत् ग्रीड आदि क्षेत्रमा सहकार्य बढ्नेछन् ।
सिद्धान्ततः नेपालले राष्ट्र एकीकरण अर्थात पृथ्वीनारायण शाहको पालादेखि नै आफूलाई ‘दुई ढुंगाबीचको तरुल' मानी सन्तुलित र व्यावहारिकता मिश्रित विदेश नीति अपनाउँदै आएको छ । तर यता आएर खासगरी माओवादी सशस्त्र विद्रोहपछिको अवस्थामा आन्तरिक राजनीतिमा देखिँदो वैदेशिक हस्तक्षेप भोगिरहेको छ ।
नेपाल अहिले राजनीतिक अस्थिरता मात्र हैन असफलतातर्फ उन्मुख हुन थालेको अड्कलबाजी मुलुकभित्र र बाहिर हुन थालेको छ । यसै परिपेक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मस्थान नेपालको परिस्थिति भयावह रहेको र त्यसबाट उसले कहिले निकास पाउने हो भन्न कठिन रहेको अभिव्यक्ति दिएका छन् । त्यो अभिव्यक्ति यथार्थभन्दा टाढा छैन । तर नेपालमा त्यो परिस्थिति आउनमा भारतको आफ्नै कति हात छ, खासगरी त्यहाँको राजनीतिक हस्तक्षेप र आन्तरिक मामिलाको ‘माइक्रो म्यानेज्मेन्ट' बाट, त्यसको इमानदार विश्लेषण गरी आवश्यक सुधारात्मक कदम चालेमा नेपालले ज्यादा लामो समय अनिश्चितता खेप्नुपर्ने छैन ।
नेपालको बेथितिको जरोमा भारतीय प्रशासक (त्यहाँको विदेश मन्त्रालय) र सशस्त्र विद्रोहमा रहेका माओवादी नेतृत्वबीचको साँठगाँठ र सहकार्य छ । बाह्रबुँदेले नेपालका ठूला राजनीतिक दल, खासगरी नेपाली कांग्रेस र एमालेलाई माओवादीका अनुयायी या ‘बी टीम' बनायो भने अर्कोतिर ‘भारतीय बाबुहरू' को आदेशपालक ।
नेपाली जनतासँग नेपाली राजनीतिको सम्बन्ध तोडियो । जनतासँग सम्बन्ध नरहेको, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताप्रति संवेदनशीलता गुमाएको नेतृत्व र राजनीति प्रजातान्त्रिक व्यवस्थाको लक्षण हुँदैन ।
राजनीतिक नेतृत्वले जनताको सम्मान र विश्वसनियता गुमाएपछि कूटनीतिक सन्तुलन प्रभावित हुन्छ नै । अहिले छिमेक र नेपाली जनताको नजरमा नेपाली नेतृत्वबारे त्यस्तै किसिमका आशंका छन् ।
त्यस अर्थमा मोदीका अभिव्यक्ति र चिन्तासँग नेपाली जनता निकै हदसम्म सहमत भए पनि यहाँको राजनीति र समग्र परिस्थितिलाई यो अवस्थामा पुर्याउन दिल्लीको हात थिएन भन्न सकिन्न । त्यो पाटोलाई मोदीले सम्बोधन गरेमा नेपाली जनताले नेपाली नेतालाई तत्काल वाध्य बनाउनेछन्, सुध्रिन र स्थिति सुधार्न ।