निर्वाचनले छोएन पर्वतीय कामदारलाई
आधारशिविर सोलुखुम्बुः दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पर्वतीय कामदारहरु मतदान गर्न उत्साहित देखिएको छैन । मुख्य सिजन मानिने यो बसन्तको समयमा हिमाल आरोहण र अवलोकनका लागि आएका विदेशी पर्यटकलाई सहयोग गर्नुमै व्यस्त रहेका पर्वतीय कामदारहरु निर्वाचन बारे चासो नभएको बताउछन् ।
काठमाडौ कपन घर भएका लाक्पा नुर्वु शेर्पा आफु काम छाडेर भोट लगाउन जाने पक्षमा नभएको बताउनुभयो । समय बढी लाग्ने र खर्च पनि बढी लाग्ने भन्दै उनी हिमाल आरोहण सम्पन्न भए पछि मात्र घर फर्कने पक्षमा रहेको बताउनुभयो । नुप्से, ल्होत्से र सगरमाथा हिमाल आरोहण गर्न २७ राष्ट्रका करिव ६ सय बढी आरोहीको सहयोगका लागि एक हजार पाँच सय जना पर्वतीय कामदार सगरमाथा आधारशिविरमै रहेका छन् । यहाँ रहेका कामदार मध्ये ५० प्रतिशत बढीको आइतबार मतदान गर्ने दिन भएको बताएका छन् ।
करिव तीन सय बढी कामदारले मतदान नगर्ने भएका छन् । यता धौलागिरी, मनास्लु, कञ्चनजंघा, मकालु लगायतका हिमालमा समेत सयौ कामदार मतदान गर्नुबाट वञ्चित भएका छन् ।
सगरमाथा आधारशिविरमा रहेका कामदारलाई निर्वाचनमा मतदान गर्न किन नजाने भन्ने प्रश्नमा केहीले इच्छा भए पनि भौगोलिक कठिनाइले गर्दा भने तर केहीले भने जीवन जीउन र परिवार धान्ने पेशानै गुम्ने भएको भन्दै निर्वाचनमा नजाने बताएका छन् । आधारशिविरमा रहेका आरोहणदलका सदस्यहरु आफ्नो जिम्मेवारी पुरा नभएसम्म घर नर्फकने भन्दै निर्वाचन हाप्ने पक्षमा भएको बताएका छन् ।