लाक्पा आठौंपटक सगरमाथामा
काठमाडौँ : सगरमाथाको चुचुरोमा आठौ पटक पाइला टेकेर लाक्पा शेर्पाले आफ्नै किर्तिमान तोड्नु भएको छ । शनिबार बिहान ६ः३५ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन । ४४ वर्षीया शेर्पाले नेपालबाट सन् २००० मा सगरमाथा आरोहण गरेका थिए भने त्यस पछि यस बर्ष समेत गरी क्रमस सात पटक तिव्वत क्षेत्रबाट सगरमाथाको सफल आरोहण गरेको हो ।
प्रमुख आरोहण गाइड निमादोर्ची शेर्पा र सहायक गाइड ङिमा ओङदी शेर्पाको साथमा लाक्पाले आठौ पटक सगरमाथाको सफल आरोहण गरेको पर्वतारोहण व्यवस्थापक तथा लाक्पाका भाई मिङमा गेलु शेर्पाले बताउनुभयो । संखुवासभाको मकालुमा जन्मनुभई हाल अमेरिकामा बस्दै आएका उहाँले आफ्नै किर्तिमान तोडेका हुन् ।
आधारशिविरमा रहेका व्यवस्थापक मिङमा गेलुले दिदीले आरोहण गरी क्याम्प दुई फर्कि सकेको र दुई दिन पछि आधारशिविर फर्किसक्ने जानकारी दिनुभयो । शनिबार लाक्पासँगै ११ शेर्पा ६ जना भारतीय आरोही गरी १८ जनाले सगरमाथाको आरोहण गरेको मिङमाले जानकारी दिनुभयो । बैसाख १० गते तिव्वतको आधारशिविर तर्फ हिडेका लाक्पाले छोटो समयमा आरोहण सफल बनाएको छ । तीन सन्तानकी आमा समेत रहेकी लाक्पा शेर्पा पासाङल्हामु पछिको दोस्रो आरोही नेपाली महिला हुन भने हाल सबै भन्दा धेरै पटक सगरमाथाको आरोहण गर्ने महिला हुन् ।
यता नेपाल तर्फको मोहोडाबाट सगरमाथा आरोहण गर्न खराव मौसमका कारण नसकिएको आरोहीहरुको भनाई छ । आधारशिविरमा बैठक गरी जेठ ३ गते सम्ममा क्याम्प ४ देखि चुचुरो सम्मको बाटो निर्माण गरी आरोहण शुरु गर्ने तयारी भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।
पर्वातारोहण सञ्चालक संघले क्याम्प दुई भन्दा माथि रुट फिक्स गर्ने भन्दै प्रत्येक आरोहीबाट दुई सय अमेरिकी डलर असुल गरे पनि रुट फिक्स नगरेको भन्दै गोरखा एभरेष्ट एक्सपीडिसन २०१७ का वेलायतका गोरखा सैनीकहरुले भने आफै बाटो निर्माण गरी आरोहण गर्ने लक्ष्य लिएर शुक्रबारनै चुचुरो तर्फ लागेका छन् । नेपाल तर्फ आरोहणका लागि ३७ आरोहणदलका तीन सय ६३ जना आरोही आरोहणका लागि तयारीमा छन् । यता मौषमकै कारण कञ्चनजंगा हिमालको आरोहण गर्न सकेका छैनन भने मकालु हिमालको भने तीन दिन अघि आरोही टोलीले सफल आरोहण गरी सकेका छन् ।