सीमासम्म सडक र रेल सञ्जालले जोड्न चीनलार्इ नेपालकाे प्रस्ताव
काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गर्नुभएको छ।
चीन भ्रमणमा रहनुभएका मन्त्री लेखकले साेमबार चीनका यातायात मन्त्री लि जियाओ पेङसँगको भेटवार्तामा यस्तो प्रस्ताव राख्नुभएको हो। भेटका अवसरमा चिनियाँ मन्त्री पेङले ओबिओआर (वन बेल्ट वन रोड) मा हस्ताक्षरपछि नेपालको आर्थिक विकासमा नयाँ सुरुवात भएको बताउनुभयो।
मन्त्री लेखकको नेपालमा लगानी र ठूला परियोजनामा सहयोगका लागि गर्नुभएको प्रस्तावलाई पनि उहाँले स्वीकार गर्नुभएको स्वकीय सचिव जनक भट्टले जानकारी दिनुभयो। ठूला परियोजनामा लगानीका लागि नेपालका तर्फबाट चीनका लागि राजदूत लीलामणि पौडेललाई सम्पर्क व्यक्ति तोकिएको छ ।
यसैगरी चीनले यो परियोजनाका लागि अन्तर्राष्ट्रिय विभागका महाप्रबन्धकलाई स्रोत व्यक्ति तोकेको छ । दुवै सम्पर्क एवम् स्रोत व्यक्तिको समूहले आजैदेखि काम अघि बढाएको छ। रासस