रियल मड्रिड ला लिगाको उपाधि नजिक, मालागासँग बराबरी खेले पुग्ने
काठमाडौंः रियल मड्रिड ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ। ला लिगा अन्तर्गत गएराति भएको खेलमा सेल्टा डि भिगोलाई ४–१ ले पराजित गर्दै रियल मड्रिड उपाधि नजिक पुगेको हो।
लिगको एक खेलमात्र बाँकी रहँदा रियल मड्रिड दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा तीन अंकले अगाडि रहेको छ। सेल्टा भिगोमाथि ४–१ को जित निकाल्दा रियलका लागि क्रिष्टियानो रोनाल्डोले दुई तथा करिम बेन्जिमा र टोनी क्रसले एक–एक गोल गरे। सेल्टा भिगोका लागि गुइडेट्टीले सन्तोना गोल फर्काए।
खेलको ६२ औं मिनेटमा लागो एस्पास दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेल्टा भिगो १० खेलाडीमा सीमित भएको थियो। जितपछि रियल मड्रिडलाई उपाधि उचाल्न एक अंकमात्रै चाहिएको छ। लिगको अन्तिम खेलमा मालागासँग बराबरी खेलेपनि रियल मड्रिडले ला लिगाको उपाधि जित्ने छ।
सन् २०१२ मा ला लिगाको उपाधि उचालेको रियल मड्रिडले त्यसयता घरेलु लिगको उपाधि उचाल्न सकेको छैन। लिगका एक खेल बाँकी रहँदा रियलको ३७ खेलबाट ९० अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ८७ अंक छ।