रोनाल्डोको नयाँ कीर्तिमान, बने युरोपका शीर्ष पाँच लिगमा धेरै गोल गर्ने खेलाडी
काठमाडौंः रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन्। ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेल्टा डि भिगोलाई ४–१ ले हराउँदा दुई गोल गरेका रोनाल्डोले नयाँ कीर्तिमान कायम गरेका हुन्।
सेल्टा भिगोविरुद्ध दुई गोल गरेका रोनाल्डो युरोपा शीर्ष पाँच लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन्। इंग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगामा गरी अहिलेसम्म ३ सय ६७ गोल गरेका रोनाल्डो युरोपका शीर्ष पाँच लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी मात्र बने। योसँगै रोनाल्डोले सन् १९७१ मा इंग्ल्याण्डका जिम्मी ग्रेएभेसले बनाएको कीर्तिमानी भंग पनि गरे।
चेल्सी, टोटनह्याम, वेष्ट ह्याम र एसी मिलानबाट खेलेका जिम्मीले लिगमा ३ सय ६६ गोल गरेका थिए। युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा वार्यन म्युनिखका पूर्व खेलाडी गेर्ड मुलर छन् भने बार्सिलोनाका लियोनल मेसी २ सय ४६ गोलका साथ चौथो स्थानमा छन्।