जेठ ८ गते आखेटोपहार नष्ट गरिने
काठमाडौँ: लामो समयदेखि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा र सशस्त्र वनरक्षक तालिम केन्द्र टिकौलीमा थन्किएर रहेका दुर्लभ वन्यजन्तुका आखेटोपहार यही जेठ ८ गते नष्ट गरिने भएको छ।
आजको मन्त्रिपरिषद् बैठकले सोबारेमा निर्णय गरेको वन तथा भूसंरक्षण मन्त्रालयले जनाएको छ। निर्णयानुसार कुहिएर जाने सबै आखेटोपहारलाई नष्ट गर्ने र राम्रो अवस्थामा रहेका केही आखेटोपहारलाई वैज्ञानिक अध्ययन अनुसन्धान, प्रदर्शनी तथा अन्य प्रयोजनका लागि नमुना बारकोडका साथ सुरक्षित राखिनेछ।
सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समेत उपस्थित हुने तय भएको जनाइएको छ। हालै संशोधित राष्ट्रिय निकुञ्ज वन्यजन्तु ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम वर्षौंदेखि भण्डारण गरिएका आखेटोपहार नष्ट गरिन लागेको मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिनुभयो। यसअघि कानुनको अभावमा आखेटोपहार नष्ट गर्न सकिएको थिएन।
चितवनका टिकौली र कसरामा वर्षौदेखि भण्डारण गरिएका आखेटोपहारको व्यवस्थापन गर्ने सम्बन्धमा यसअघि व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिले पनि सरकारलाई निर्देशन दिएको थियो। मन्त्रालयबाट पटक पटक सोबारेमा प्रयास भए पनि ती प्रयास असफल भएका थिए। वनमन्त्री शङ्कर भण्डारीले भने मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बेलामा नै यसलाई प्राथमिकतामा राख्नुभएको थियो।
भण्डारण गरिएका कतिपय छाला बिग्रिएर एकै ठाउँमा छरपष्ट रहेको, टुक्रिएको र कुहिएकाले पनि नष्ट गर्न लागिएको हो। कसरा र टिकौलीमा सयौँ थान गैँडाका खाग, पाटेबाघ, चितुवा, चरी बाघ, निगाले बाघ र सालकको छाला, जङ्गली हात्तीका दाह्रा, भालुको नङ्ग्रा र पित्त, कस्तुरी मृगको बिनालगायत आखेटोपहार सङ्कलन गरिएको छ।
मुलुकभरबाट बरामद गरिएका सबैखाले आखेटोपहार कसरा र टिकौलीमा भण्डारण गरिएको छ। वन्यजन्तु प्राकृतिक रुपमा मरेमा, चोरी सिकारबाट मारिएमा र तस्करबाट बरामद भएमा वन्यजन्तुका हाड, छाला, रौँ, खाग, खुरलगायत महत्वपूर्ण अङ्ग झिकेर त्यहाँ सुरक्षित राख्ने गरिएको थियो। रासस