गितारका गुरु

गितारका गुरु

व्यावसायिक रूपमा संगीतकर्ममा लागेको दुई दशकभन्दा बढी भयो । यसबीचमा प्राप्त उपलब्धि, सन्तुष्टि र पहिचानबाट उनी खुसी छन् । नेपाली सांगीतिक क्षेत्रमा बहुप्रतिभाशाली मानिने रोशन बान्तवा गितार एवं किबोर्ड वादन, संगीत सिर्जना र संगीत संयोजन विधामा खास दखल राख्छन् । २०५४ सालमा उनले लेखेको पुस्तक 'गितार सोलुसन' गितारप्रेमीका लागि प्रिय पुस्तक साबित भयो ।

पहिलो पुस्तकमा पाठकको मायाबाट उत्साहित उनले २०५६ सालमा 'सजिलो किबोर्ड' नामक दोस्रो पुस्तक प्रकाशन गरे । संगीतका विद्यार्थीले बुझ्ने गरी लेख्नु रोशनको विशेषता हो । उनले लेखेका अन्य पुस्तकमा 'गितार बुक्स एन्ड कर्ड ग्यालरी' (२०६०), 'किबोर्ड गाइड' (२०६०), 'सजिलो गितार' (२०६३) र हालै प्रकाशित 'की बोर्ड गाइड' (२०७४) हुन् । राजधानी र मोफसलका धेरै म्युजिक इन्स्टिच्युटले उनका पुस्तकलाई आधार मानेर पढाउने गरेका छन् ।

गितार र किबोर्डसम्बन्धी सातवटा पुस्तक लेखिसकेका बान्तवाले हङकङ र दार्जिलिङबाट यससम्बन्धी ज्ञान हासिल गरेका छन् । दार्जिलिङमा कहलिएको 'ट्रिनिटी म्युजिक स्कुल'मा उनले दुई वर्ष गितार सिकेका हुन् । यो स्कुल विश्वमै चर्चित मानिने बेलायतको ट्रिनिटी म्युजिक स्कुलको शाखा हो ।

'कुनै बाजामा सुरमात्रै हुन्छ भने कुनैमा तालमात्रै । तर, गितारमा सुर र ताल दुवै हुने भएकाले विश्वसंगीतमै गितार सबभन्दा बढी प्रयोग हुने लोकप्रिय वाद्ययन्त्र हो ।

पाँचथरको कुरुम्बामा २०३१ सालमा जन्मिएका बान्तवा २०४८ सालदेखि राजधानीमा रही संगीतकर्ममा क्रियाशील छन् । पछिल्लो समय नेपाली संगीतमा गितारको प्रयोग र क्रेज बढेकोमा उनी खुसी छन् । 'विश्व संगीतमै गितार सबभन्दा बढी प्रयोग हुने वाद्ययन्त्र हो', रोशन भन्छन्, 'कुनै बाजामा सुरमात्रै त कुनैमा तालमात्रै हुन्छ तर गितारमा सुर र ताल दुवै हुने भएकाले लोकप्रिय भएको हो ।' बाँसुरी, हार्मोनियम, सितार, भायोलियन, सारंगीजस्ता बाजामा सुरमात्रै हुन्छ भने तबला, मादल, ढोलक, ड्रमसेट लगायतका बाजाले तालमात्रै दिन्छ ।

अझ गितार बोक्न सजिलो हुनुका साथै युवापुस्ताको प्रिय बाजा साबित भएको छ । कुनै समय नेपाली संगीतमा रक, पप, आधुनिक गीतमा मात्रै गितार बजाउने गरिए पनि अहिले लोक, दोहोरी, गजलदेखि भजनमा समेत गितार बजाउन थालिएको छ ।

राजधानीका युनाइटेड एकेडेमी, भीएस निकेतन, फ्युचर स्टार, ग्रामरलगायतका विभिन्न स्कुलमा संगीत शिक्षकका रूपमा समेत काम गरेका उनले पछिल्लो समय संगीत संयोजनलाई प्राथमिकता दिएका छन् । यस क्षेत्रमा लाग्न उनलाई त्यति सहज भने थिएन । एसएलसीपछि घरपरिवारले उच्च शिक्षाका लागि धनकुटा पठाउन खोजेका थिए । तर, संगीतमा केही गर्ने सपना लिएर उनी सात भञ्ज्याङ नाघेर राजधानी आए ।

अहिले संगीतकर्मबाट उनले प्राप्त गरेको उपलब्धिबाट परिवार पनि सन्तुष्ट छन् । 'अहिले नेपाली संगीत क्षेत्रमा पनि अवसर छ तर प्रतिस्पर्धा गर्न सक्नुपर्छ', रोशन भन्छन्, 'परिवारको चाहनाविपरीत यो क्षेत्रमा लागे पनि अहिले सबै खुसी र सन्तुष्ट हुनुहुन्छ । काम, दाम सबै पाएको छु । फुर्सदमा बस्नु परेको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.