मनले मागेको मज्जाले खाने हो !
नेपाली चलचित्र क्षेत्रमा हरेक दिन नयाँ अनुहार झुल्किने क्रम बढ्दो छ । झुल्किने सबै अनुहार यही क्षेत्रमा अडिइरहन सक्दैनन् । पछिल्लो समय चल्तिकी नायिका हुन् ऋचा शर्मा । पिता जगदीशप्रसाद शर्मा र माता रीनादेवी शर्माकी कान्छी छोरी ऋचाको जन्म सुदूरपश्चिमको धनगढीमा भएको हो । उनको प्राथमिक शिक्षा स्थानीय मालिका बोर्डिङ स्कुलमा सुरु भए पनि राजधानीको लिटिल एन्जल्सबाट एसएलसी गरेकी हुन् ।
बुवा भारतको गडवाल र आमा काठमाडौंकी भएकाले उनको सानैदेखि कलाकार बन्ने रहरमा कसैले तगारो हालेन । 'माइली दिदीको त्यो रहर पूरा भएन', नायिका शर्माले भनिन्, 'मेरो पालमा आइपुग्दा उहाँहरू कन्भिन्स भइसक्नुभएको थियो, मलाई सपोर्ट गर्नुभयो ।' उनले कलाकारिताको पहिलो पाइला आलोक नेम्वाङले बनाएको म्युजिक भिडियोबाट चालिन् । यश कुमारको 'थाकेको यो नजरमा' बोलको गीतमा उनको अभिनय निकै रुचाइयो।
नायिका ऋचा पढाइमा मात्र अब्बल थिइनन् उनी त्यहीबेला टेलिभिजनमा भिडियो जक्की भएका काम थालिन् । मिस नेपाल २००७ मा सहभागी उनी टप १० भित्र पर्दै मिस ब्युटिफुल स्माइलको उपाधि हात पारिन् । सन् २०१० मा 'फस्ट लभ'बाट नायिकाका रूपमा डेब्यु गरेकी उनले 'लुट', 'लुट २', 'भिजा गर्ल', 'टलकजंग भर्सेस टुल्के'मा अभिनय गरिसकेकी छन् भने पछिल्लो समय चलचित्र 'आधा लभ' निर्माण गरेकी छन् । यो चलचित्र जेठ २६ मा रिलिज हुँदैछ ।
ऋचाको खानपान
टलकजंग भर्सेस टुल्केको अब्बल अभिनयले दर्शकको मनमा मात्रै बसिनन्, यसले उनलाई नेसनल अवार्ड समेत दिलायो । दर्शकले रुचाएकी नायिका ऋचाको खानपान शैली कस्तो छ त ? धेरैको जिज्ञासा हुन सक्छ । यही जान्न अन्नपूर्णले उनलाई मध्यबानेश्वरमा रहेको डाइनिङ पार्क रेस्टुराँमा निम्त्यायो । नायिका ऋचाले मेनु मागिन । 'न लन्चको टाइम भो, न ब्रेकफास्टको', ऋचाले हाँस्दै भनिन्, 'मन परेको चिज त खानै पर्यो ।' उनले असाध्यै मनपर्ने सी-फुडमा गोल्डेन फ्राइड प्राउन, चिकेन साँधेको र ब्ल्याक मसरुम अर्डर गरिन् ।
'मलाई मसरुम यति धेरै मन पर्छ कि जसका लागि म मासु पनि छोडिदिन सक्छु', नायिका ऋचाले भनिन्, 'त्यसो त मलाई मन नपर्ने कुनै चिजै छैन, जे पाए पनि गमागम खान सुरु गरिहाल्छु ।' भनाइअनुसार उनको खवाइमा भने त्यस्तो देखिएन । उनलाई नेपालीमा थकाली, नेवारी खाना खाइरहुँजस्तो लाग्छ । विदेशमा जाँदा उनको रोजाइमा सी-फुडभन्दा अर्को हुँदैन । 'नेपालमा हत्तै सी-फुड पाइँदैन', उनले भनिन्, 'पाइयो भने पनि निकै महँगोपर्छ, तर डाइनिङ पार्कको सी-फुड निकै मन पर्यो ।'
खानपानमा ऋचाको बानी ठीक उल्टो छ । उनी रुघाखोकी लाग्दा आइसक्रिम खाइदिन्छन् । 'मनले मागेको म रोक्दिनँ, आज नपाए भोलि भए पनि खाएरै छोड्छु', ऋचाले भनिन्, 'मेरो बुवा पनि खानाको सौखिन हुनुहुन्छ, मुवाले भने मुख बारन भनेर कराउनुहुन्छ, म बार्दिनँ ।' खानकै लागि संघर्ष गरेपछि भोलि त के हो के हो ! भन्ने सिद्धान्त उनको छ । नखाएर नखरा गर्नुभन्दा खाएरै फिट हुनुपर्ने उनको सुझाव छ । आम नेपालीले जस्तै उनी पनि मज्जाले दालभात, रोटी, तरकारी, दही, अचार नै खान्छिन् । रेस्टुराँमा पस्दा भने उनका लागि मनले मागेको कुनै वस्तु नखाने भन्ने हुँदैन ।
एक्सरसाइजमा भने उनी प्रायः ध्यान दिन्छिन् । धेरै गर्न नसके पनि हरेक दिन मज्जाले हिँड्नु उनको बानी नै हो । शारीरिकभन्दा कलाकारमा कलात्मक आकर्षण हुनुपर्ने उनको मान्यता छ । रोगी नै भइएछ र डाक्टरले नै नखाऊ भनेपछि भने त्यो मान्नुपर्ने उनी सुझाउँछिन् ।
ऋचाको नजरमा डाइनिङ पार्क
नायिका ऋचालाई आकर्षण यहाँको वातावरण आकर्षक लाग्यो । प्रेस र अर्डरअनुसारको हाइजेनिक खाना उनलाई मन पर्यो । सी-फुड र मसरुम परिकार थप आकर्षक लागको उनले बताइन् । आगन्तुकप्रति यहाँका कर्मचारीको वास्ता गर्ने शैली निकै मिजासिलो भएको बताउँदै जाँदाजाँदै भनिन्, 'चाइनिज खाना खान फेरि आउँछु।'
डाइनिङ पार्कको विशेषता
पुरानो बानेश्वरदेखि नयाँ बानेश्वर जाँदा पीपलबोट नजिकै दाहिनेपट्टि रहेको डाइनिङपार्कको वातावरण खुला र युरोपियन शैलीको छ । रेस्टुराँ स्वच्छ र शान्त हुनु यसको विशेषता हो । प्राइभेट लाउन्ज, भीआईपी लाउन्ज, सेप्रेट बार, फाइन डाइनिङ, खोजेअनुसारको खाना, ककटेल ड्रिङ्स, छुट्टाछुट्टै बेकरी र कफी क्याफे यसको विशेषता हो । भनेजस्तो पार्किङस्थल, हरियाली वातावरण अनि हरेक शुक्रबार लाइभ कन्सर्ट यसको थप आकर्षण हुन् ।
ककटेल ड्रिङ्समा एस्प्रेसो मार्टिनी, माइताई र मिरारोस्का डाइनिङपार्कको नयाँ स्वाद भएको मार्केटिङ तथा सेल्स एक्जक्युटिभ अनिशा महर्जनले बताइन् । ब्रेड, बेकरी, चिकेन प्याटिज, भेज प्याटिजको सेवा आफूहरूको आकर्षण भएको उनले बताइन् । डाइनिङ पार्कमा सेवा प्रदान गर्ने हरेक कर्मचारी बीएचएम ब्याकराउन्डका भएकाले पनि अहिलेसम्म कुनै पनि आगन्तुकको गुनासो सुन्नु नपरेको महर्जनले बताइन् ।
पारिवारिकदेखि साना र ठूला पार्टीहरूसमेत आयोजना गर्न सकिने डाइनिङ पार्क सञ्चालनको चार महिनामात्रै भएको छ ।