निर्देशनमा रेनाशा
नृत्य गर्नुभन्दा खुसी अरू केहीमा लाग्दैन रेनाशा राईलाई । डान्स कोरियोग्राफर रेनाशाको अनुभवमा नृत्यमा यति मजा हुन्छ कि यसले फिजिकल फिटनेस र माइन्ड फ्रेस एकैचोटि गराउँछ । नाचिरहँदा शरीरसँगै मनमस्तिष्क पनि छमछमाइरहेको हुन्छ । 'नृत्य गर्न लगाव र इच्छाशक्ति हुनुपर्छ', उनी भन्छिन्, 'म कसैबाट पनि नाच्न प्रेरित भएको होइन । यिनै दुई कुराले गाइड गरेको हो ।'
मन परेको विषय र क्षेत्रलाई करिअरमा बदल्न सक्नु अर्को महत्वपूर्ण पक्ष हो । उनी त्यसमध्येकी एक उदाहरण हुन् । नृत्यबाट करिअर सुरु गरेकी उनले यही क्षेत्रबाट नाम, दाम, काम सबै कमाइन् । नेपाली चलचित्रमा सर्वाधिक रुचाइएकी र सफल कोरियोग्राफरका रूपमा दरिएकी उनले यस क्षेत्रमा क्रान्ति नै गरिन् भन्दा फरक पर्दैन । १० वर्ष लामो डान्स कोरियोग्राफीपछि उनी अहिले चलचित्र निर्देशनमा जम्प गरेकी छन्।
यसै साता राजधानीमामा घोषणा गरिएको 'इन्टु मिन्टु लन्डनमा'मार्फत निर्देशनमा डेब्यु गर्न लागेकी उनी यस चलचित्रको तयारीमा जुटिसकेकी छन् । 'पछिल्लो समय नेपाली चलचित्र उद्योग निकै राम्रो भइरहेको छ । राम्रा र ठूलो लगानीमा चलचित्र बन्न थालेका छन्', रेनाशा भन्छिन्, 'नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा पुग्न थालेको छ ।' रेनाशा जुन टिमवर्क र मेहनतका कारण कोरियोग्राफीमा सफल भइन्, त्यसैको प्रतिफल र उत्साहका कारण निर्देशन गर्ने आँट र अवसर प्राप्त गरिन् । 'नेपाली चलचित्रमा परिवर्तनको खाँचो छ । केही परिवर्तन देखाउन पाए हुन्थ्यो भन्ने लागेको छ', उनी भन्छिन् ।
चलचित्र 'इन्टु मिन्टु लन्डनमा'मार्फत धीरज मगर नायकका रूपमा डेब्यु गर्दैछन् । लन्डन बस्दै आएका उनी युट्युबर पनि हुन् । उनलाई साम्राज्ञी राज्यलक्ष्मी शाहको साथ रहनेछ । साम्राज्ञी अभिनीत यो चौथो चलचित्र हो । उनले पनि यो चलचित्र आफूले यसअघि गरेकोभन्दा फरक भएकाले 'च्यालेन्ज'का रूपमा लिएको बताएकी छन् । प्रेमकथामा आधारित भए पनि यसको प्रस्तुति केही हुने रेनाशाको भनाइ छ । 'यस चलचित्रमा इन्टु र मिन्टुको लभ केमेस्ट्री छ', उनले भनिन्, 'मैले धेरै रोमान्टिक फिल्मका गीतमा कोरियोग्राफी गरेकाले यो विषयमा काम गर्न सजिलो र रमाइलो लागेको छ ।'
'इन्टु मिन्टु लन्डनमा'को छायांकन असारको पहिलो सातादेखि सुरु हुँदैछ । चलचित्रको ७० प्रतिशत छायांकन लन्डन र बाँकी नेपालमा हुनेछ । 'यो चलचित्रबाट मैले धेरै आशा गरेको छ । लगानी पनि धेरै नै लाग्ने भएको छ', उनले भनिन्, 'लन्डनजस्तो महँगो स्थानमा छायांकन गर्दा बजेट त धेरै नै लाग्छ ।'
डान्स कोरियोग्राफीमा प्रभुशमशेर जबराले निर्माण गरेको चलचित्र 'मेरो एउटा साथी छ'मार्फत नेसनल अवार्ड जितेकी छन् । चलचित्र विकास बोर्डमार्फत राज्यले दिने यो अवार्ड हरेक कलाकारका लागि विशेष हुन्छ ।
रेनाशाले चलचित्रमा डान्स कोरियोग्राफी सुरु गर्दा यो पेसा व्यवसायका रूपमा स्थापित भएको थिएन । अहिले हरेक चलचित्रमा डान्स कोरियोग्राफी अनिवार्य ठानिन्छ । डान्स कोरियोग्राफीमार्फत सबैभन्दा धेरै अवार्ड जितेकी उनले मेरो एउटा साथी छ, ए मेरो हजुर २, ग्याग्स्टार २, प्रेमगीत २, झोले, वीरविक्रम, मधुमास, कलिउड, के म तिम्रो साथी हैन रलगायत दर्जनौं चलचित्रमा काम गरिसकेकी छन् ।
पाँचथर सदरमुकाम फिदिममा जन्मिए उनी दमकका हुर्केकी हुन् । प्लस टु सकेर काठमाडौं आएकी उनी अर्को वर्ष विवाह गर्ने योजनामा छिन् । 'मलाई धेरैले विवाह कहिले कोसँग गर्ने भनेर सोध्छन्', उनले भनिन्, 'कोसँग भनेर अहिले नै खुलाउन मिल्दैन तर अर्को वर्ष म प्रेमविवाह गर्ने सोचमा छु ।'