मेरो लक्ष्य एन्टरप्रेनर
मिस युथ २०१५ की विजेता हुन्, दीपिका केसी । सानैदेखिको रुचि र परिवारको साथका कारण सौन्दर्य प्रतियोगिताप्रति आकर्षित उनी 'हाउस अफ फेसन् २०१६' की सेकेन्ड रनरअप पनि हुन् । ललितपुरको हात्तीवनमा जन्मेकी २१ वर्षीया दीपिका ५ फिट ५ इन्च अग्ली छिन् । जावलाखेलस्थित डीएभी कलेज अफ म्यानेजमेन्टमा बीबीए चौथो वर्षमा अध्ययनरत उनको मोडलिङ, अभिनयमा रुचि भए पनि भविष्यमा 'इन्टरप्रेनर' बन्ने लक्ष्य लिएकी छन।
मिस युथ भएपछिको उपलब्धि ?
धेरै ज्ञान र अनुभव लिन पाएँ । आत्मविश्वास बढेको छ । उपाधि चुमेपछि मलाई धेरैले चिन्न थालेका छन् ।
यस्ता प्रतियोगिताका फाइदा के रहेछ ?
आफूले आफैंलाई चिन्ने माध्यमका रूपमा लिन्छु म । राम्रा प्रतियोगोगीता छ र त्यहीअनुसार ग्रुमिङ गराइयो भने सहभागीको आत्मविश्वास बढ्छ । आत्मविश्वास हरेक क्षेत्रमा चाहिन्छ । धेरै कुरा सिक्न पाइन्छ । त्यो ठूलो कुरा हो ।
बेफाइदा पनि त होला नि ?
केही कमी कमजोरी त होलान् तर मैले महसुस गर्न पाएकी छैन । संघर्ष सबै क्षेत्रमा गर्नुपर्छ । यो क्षेत्रबाट चिनिन पनि सजिलो छैन ।
ग्ल्यामर क्षेत्रमा परिवारको साथ ?
म परिवारको साथ र सहयोगकै कारण यहाँसम्म आएकी हुँ । मलाई मिस नेपालमा पनि प्रयास गर्नु भनिरहनु भएको छ ।
के कारणले यो क्षेत्रतिर आकर्षित हुनुभयो ?
मलाई सानैदेखि टेलिभिजनमा आउनु, एमसी गर्न रुचि थियो । फोटो सुट गर्न, पोज दिन रमाइलो लाग्ने । मिस नेपाल हेरेपछि सौन्दर्य प्रतियोगिताप्रति आकर्षण बढ्यो ।
मोडलिङ अभिनयतिर रुचि ?
रुचि छ र अफर पनि आएको हो । तर गरेकी छैन । अझ केही सिकेरमात्रै काम गरौं भन्ने लागेर म्युजिक भिडियो एवं चलचित्रका लागि आएका अफर स्वीकारेको छैन ।
तपाईंलाई मनपर्ने मिस नेपाल?
सृष्टि श्रेष्ठ ।
जीवनको लक्ष्य ?
ग्ल्यामर क्षेत्रमा अहिले रुचि भए पनि भविष्यमा व्यावसाय तिरै लाग्ने हो । एन्टरप्रेनर बन्ने मेरो लक्ष्य हो ।