भक्तपुर-९ मा नेमकिपा, सूर्यविनायक ५ मा एमाले र ६ मा काँग्रेस
भक्तपुर: भक्तपुर नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीको समूह नै विजयी भएको छ।
नेमकिपाका रवीन्द्र ज्याख्य तीन हजार ३६५ मत प्राप्त गरी विजयी हुनुभएको छ।उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्र लाछिमस्युले ६९२ र काँग्रेसका किरण प्रजापतिले ५३१ मत प्राप्त गर्नुभएको छ । महिला सदस्य छोरी मैयाँ ह्यौमिखा तथा खुला सदस्यद्वयमा जितेन्द्र मुनकर्मी र ज्ञानकुमार मगजु विजयी भएका छन्।
त्यसैगरी सूर्यविनायक नगरपालिका-५ को वडाध्यक्षसहित समूह नै नेकपा(एमाले)ले जितेको छ । भर्खरै सार्वजनिक मत परिणामानुसार एमालेका राजकुमार जोशी एक हजार ४८० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण थापाले ८४६ प्राप्त गर्नुभएको छ । त्यसैगरी महिला सदस्यमा कमला पोखरेल सुवेदी, दलित महिला सदस्यमा गीता बिसुङ्खे तथा खुला सदस्यमा मनोज थापा र वासुदेव पोखरेल विजयी हुनुभएको छ।
सूर्यविनायक-६ का वडाध्यक्षमा भने काँग्रेसका रामेश्वर ध्वजू विजयी हुनुभएको छ। ध्वजूले ४९२ र उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्णगोपाल त्वायनाले २३४ मत प्राप्त गर्नुभएको छ । विजयी हुने सदस्यमा काँग्रेसका तर्फबाट महिला सदस्य रमा गौतम, दलित महिला सदस्य सरला विक, खुला सदस्य राजेन्द्र त्वाती तथा एमालेका सुदाम केसी विजयी हुनुभएको छ।
विवादपछि मतगणना स्थगित
चाँगुनारायण नगरपालिका वडा नं ३ को मतगणता स्थगन भएको छ। स्वस्तिक छापमा फरक रङको छाप लगाइएको पाइएको भन्दै विवाद भएपछि मतगणना स्थगन भएको हो।
राप्रपाले फरक मसीको स्वस्तिक छापको प्रयोग भएको भन्दै विवाद भएपछि मतगणना स्थगन भएको मतगणनास्थलबाट सुरक्षाकर्मीले जानकारी दिएको छ। विवाद भएर मतगणना रोकिएपछि प्रजि द्रोण पोखरेल, प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मासहित सर्वदलीय बैठक सुरु भएको छ। रासस