टीकापुर घटनाका पीडित भन्छन् ‘राज्यसँग हामी निरीह भयौं'
काठमाडौं : प्रहरीमा एसएसपी रहेका श्रीमान् लक्ष्मण न्यौपानेको ड्युटीमै छँदा टीकापुरमा बीभत्स हत्या भएको लामो समय बितिसक्दा पनि अरुणा त्यो शोकबाट बाहिरिन सकेकी छैनन् । उनी अझै खुलेर बोल्न सक्दिनन् । श्रीमान्को कुरा निकाल्नेबित्तिकै भक्कानिन्छिन्, अझै घरबाट बाहिर निस्किन सकेकी छैनन् । घटना भएको करिब दुई वर्ष बित्न लागे पनि यो परिवारलाई एउटै आशा छ, ‘कम्तीमा लक्ष्मण हत्याका दोषीलाई कारबाही होला र अब यस्तो घटना नदोहोरिएला ।'
सरकारले बिहीबार राजनीतिक सहमतिको नाममा उक्त घटनासँग जोडिएका अभियुक्तविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेपछि सबैभन्दा बढी मर्माहत यही परिवार छ । ‘बुहारी (अरुणा) हामीसँगै राम्रोेसँग बोल्न सकिरहेकी छैनन् । भक्कानिरहन्छिन् । यस्तो अवस्थामा सरकारले नै ती अभियुक्तविरुद्ध दर्ता भएका मुद्दा फिर्ता लिने भएपछि मैले मेरी बुहारीलाई अब कसरी सम्झाउने', स्वर्गीय लक्ष्मणका माइला दाजु नइनविनोद भन्छन् ।
०७२ भदौमा कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा तत्कालीन अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको हत्या भएको थियो । उक्त घटनाका प्रमुख योजनाकारसहित ९० भन्दा बढी अभियुक्त फरार छन् । उक्त घटनामा दूधेबालकसमेत मारिएका थिए ।
‘जे नहुनु भएपछि हाम्रो आशा न्याय थियो । कानुनी राज्यमा हामीले आशा गर्ने नै यही हो । तर, एउटा पार्टी वा व्यक्तिलाई खुसी पार्न कानुनी राज्यलाई कमजोर बनाउने प्रयास भएको छ । अब हामीले कोसँग के अपेक्षा गर्ने', नइनविनोदले गुनासो पोखे, ‘सरकारको यो निर्णयबारे जुम्लाका जनतालाई सोध्नुस्, उनीहरू मुद्दा फिर्ता लिनु हुँदैन भन्छन् । दार्चुला वा ताप्लेजुङमा गएर सोध्नुस्, त्यहाँका जनता यही जवाफ दिन्छन् ।'
मुद्दा फिर्ता लिने सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।
जनआन्दोलनमा शान्ति–सुरक्षामा खटिने सुरक्षाकर्मी खुलेआम मारिनु र यसमा राज्य संयन्त्रले राजनीतिक सहमतिको नाममा कानुनी राजलाई आँखा चिम्लिनुले स्वयं प्रहरी प्रशासनमा समेत असन्तुष्टि बढेको छ । ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै कानुनी शासन र जनमतको कदर हो । तर, हाम्रोमा त लोकतन्त्रको क्याबिनेटले मैले बोलेपछि जंगेले बोलेजस्तो हुन्छ, म जे गर्छु, चुप लागेर बस भन्दै छ', नइनविनोद भन्छन् ।
अधिवक्तासमेत रहेका नइन उक्त मुद्दामा लक्ष्मणको परिवारको तर्फबाट आफू लडिरहेका छन् । टीकापुर घटनामा मारिएका अन्य सुरक्षाकर्मीका परिवारले समेत नइनविनोदलाई फोन गरेर अब के गर्ने सोधिरहेका छन् । नइनलाई थाहा छ, भाइको अपराधीविरुद्ध लड्ने उनीसँग कानुनी अधिकार छ । सँगसँगै उनलाई के पनि थाहा छ भने यो राज्यविरुद्ध एउटा परिवारको लडाइँ हो ।
‘राज्यसँग एउटा परिवार लागेर केही हुन्न । हामीलाई पार्टी गुहार्न पनि आउँदैन । लोकतन्त्रमा योभन्दा ठूलो विडम्बना हुन्न', नइनविनोद भन्छन् । उनी अब सरकारको निर्णयविरुद्ध अदालतमा रिट लिएर जाने तयारीमा छन् ।