१५ वर्षपछि लाभांश वितरण गर्दैै नेपाल आयाल निगम
काठमाडौं : नेपाल आयल निगमले १५ वर्षपछि सेयर होल्डर (लगानीकर्ता) लाई लाभांश वितरण गर्ने भएको छ । निगमको शुक्रबार सम्पन्न गत आर्थिक वर्ष २०७२/०७३ को ३५ औं साधारणसभाले निगमका लगानीकर्तालाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । पछिल्लो दुई आर्थिक वर्षमा गरेको नाफा अनुसार सम्पूर्ण ऋण भुक्तानी गरेर निगमले १५ वर्षपछि लगानीकर्तालाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । निगमले सेयर रकमको ५० प्रतिशतका दरले लाभांश वितरण गर्ने जनाएको छ ।
निगमका प्रवक्ता तथा वितरण विभाग प्रमुख सीताराम पोखरेलका अनुसार निगमले सरकार, नेपाल बैंक लिमिटेड, नेशनल ट्रेडिङ लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बिमा संस्थानलाई यस्तो लाभांश वितरण गर्न लागेको हो । निगममा सरकारको ९८.३७ प्रतिशत, नेपाल बैंकको ०.२३ प्रतिशत, नेशनल ट्रेडिङको ०.७८ प्रतिशत, वाणिज्य बैंकको ०.१५ र राष्ट्रिय बिमा संस्थानको ०.४७ प्रतिशत लगानी छ । ‘निगम नाफामा गएर सम्पूर्ण ऋण भार फस्र्योट गरेर लगानीकर्तालाई ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको छ', प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
निगमका निमित्त प्रबन्ध निर्देशक नागेन्द्र साहकाअनुसार निगमले गत आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म एक अर्ब ५८ करोड सञ्चित मुनाफा आर्जन गरेको थियो । २०७१ कात्तिकदेखि कार्यान्वयनमा आएको स्वचालित मूल्य प्रणाली (अटो प्राइस) का कारण निगमले गत आर्थिक वर्ष २०७१/०७२ मा १५ अर्ब मुनाफा आर्जन गरेको थियो । यस्तै गत आर्थिक वर्ष २०७२/७३ मा २० अर्ब नाफा गरेको थियो । यसअघि २०५८/५९ देखि २०७१/७२ सम्म निगम निरन्तर घाटामा गएको थियो ।
स्वचालित मूल्य प्रणाली लागु गरेपछि निगमले गत आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म एक अर्ब ५८ करोड सञ्चित मुनाफा आर्जन गरेको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार निगमले इन्धनको मूल्य समायोजना नगर्दा गत पुष र माघ महिनामा मासिक रूपमा करिब साढे १८ करोड रुपैयाँसम्म घाटा व्यहोरेको थियो । अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाउने मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्दा निगमले घाटा व्यहोरेको थियो । मूल्य समायोजन नहुँदा मुख्य गरी डिजेल र खाना पकाउने एलपी ग्यासतर्फ निगमले ठूलो घाटा व्यहोरेको थियो ।
पछि पेट्रोलमा पनि केही घाटा भएको थियो । पछिल्लो चैत महिनादेखि निगम मासिक २० करोड रुपैयाँको हाराहारीमा नाफा आर्जन गर्दै आएको छ । साहकाअनुसार वार्षिक रूपमा एक खर्ब २५ अर्ब इन्धनको कारोबार गर्ने निगमसँग अहिले ३० अर्ब अधिकृत र जारी पुँजी छ भने नौ करोड ६७ लाख १५ हजार चुक्ता पुँजी छ । स्थापनाकालमा निगमको अधिकृत र जारी पुँजी एक करोड र चुक्ता पुँजी १० लाख रुपैयाँ थियो ।
निगमले मुनाफा आर्जन गरेपछि विभिन्न समयमा लिएको ऋण सरकारको १५ अर्ब ६४ करोड, नागरिक लगानी कोषको नौ अर्ब ३८ करोड, कर्मचारी सञ्चय कोषको १२ अर्ब ६० करोड र अन्य बैंकको दुई अर्ब २४ करोड गरी कुल ३६ अर्ब ८७ करोड रुपैयाँ २०७३ असारसम्म चुक्ता गरिसकेको छ ।