एक प्रशिक्षकको ओलम्पिक सपना
भनिन्छ, कुशल प्रशिक्षक हुन सफल खेलाडी हुनुपर्छ भन्ने छैन । औसत खेलाडी पनि चर्चित र सफल प्रशिक्षक बनेको धेरै उदाहरण छन् । यही कोटीमा पर्छन्, तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर (३८) । औसत खेलाडी कुँवर प्रशिक्षकका रूपमा भने अब्बल र सफल देखिएका छन् ।विभिन्न विद्यालय र क्लबमा तेक्वान्दो सिकाउँदै आएका कल्याण पारा तेक्वान्दोका एक्ला प्रशिक्षक हुन् । पारा तेक्वान्दोमा मास्टर्स कोर्स पूरा गरेका कुँवरले २०७० सालदेखि पारा तेक्वान्दो प्रशिक्षणमा हात हाले । सुरुमा उनले आफ्ना माइला दाइ यादव कुँवरलाई घरमै पारा तेक्वान्दोका कला सिकाए । कल्याणलाई सानोमा तेक्वान्दोको प्रारम्भिक कला यादवले नै सिकाएका थिए । उनकै प्रेरणामा कल्याणले 'दोबक' लगाएका थिए ।
यादवले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेपछि भने उनले पारा तेक्वान्दोको महत्र्व बुझे र खेलाडी उत्पादनमा सक्रिय रहे । घरघरमा पुगेर खेलाडी खोज्नेदेखि उनीहरूलाई तालिम दिने काममा अहोरात्र खटिएका कुँवरको एकलव्य भावप्रति तेक्वान्दो संघ नतमस्तक भयो । संघले कुँवरकै नेतृत्वमा पारा तेक्वान्दो कमिटी गठन गरेर आधिकारिक रूपमा उनलाई जिम्मेवारी सुम्पियो ।
पाँचौं डान कल्याणले पारा तेक्वान्दो रोज्नुको विशेष कारण छ । लामो समय खेलकुदमा संलग्न उनका दाइ यादव कुँवरले वैदेशिक रोजगारीका सिलसिलामा दायाँ हात गुमाए । मेसिनमा परेर हात गुमाएपछि स्वदेश फर्किएका दाजुलाई कल्याणले घरमै तेक्वान्दो सिकाउन थाले । लगातारको प्रशिक्षणपछि यादव अन्तर्राष्ट्रिय पदक जित्न सफल भए । उनले एसियन पारा च्याम्पियनसिपमा सन् २०१५ र २०१६ मा लगातार पदक जिते । उनले विश्व च्याम्पियनसिपमा पदक ल्याएपछि यसप्रति संघको पनि ध्यान पुगेको कल्याण बताउँछन् । 'पारा तेक्वान्दो खेलको विकास र विस्तारका लागि संघले कमिटी गठन गरेको छ तर सोच अनुरूप काम भने गर्न सकेको छैन' कल्याण भन्छन् ।
पारा तेक्वान्दोको विकासमा कल्याणले अहिले पनि स्वयमसेवक रूपमा काम गर्दैै आएका छन् । विभिन्न स्थानमा पुगेर अपांगता भएका खेलाडी खोज्नेदेखि उनीहरूलाई तालिम दिनेसम्मको काम आफैंले गरिरहेका छन् । अहिले पनि उनले ११ जना अपांगतायुक्त खेलाडीलाई तालिम दिइरहेका छन् । उनीहरूले विगत तीन वर्षदेखि राष्ट्रिय टोलीसँगै लगातार तालिम गरिरहेका छन् । वैदेशिक रोजगारीमा अप्रत्याशित रूपमा हात गुमाएपछि विक्षिप्त दाइबाट उनले अपांगतायुक्त व्यक्तिले पनि खेलकुदमा केही गर्न सक्छ भन्ने प्रमाणित गरिदिए । यादवले वल्र्ड च्याम्पियनसिपमा पदक जित्न सफल भएपछि कुँवरको मेहनत साकार भयो ।
दाइको सफलताबाट हौसिएका उनी अपांगतायुक्त खेलाडी खोज्न र उनीहरूलाई निखार्न थाले । अपांगतायुक्तलाई जम्मा पारेर तेक्वान्दोको प्रारम्भिक सीप सिकाउन थालेका उनले सशस्त्र द्वन्द्वका समयमा एम्बुसमा परेर घाइते (स्पाइनल इन्जुरी) भएका नेपाली सेनाका सातजना खेलाडीलाई पनि तेक्वान्दोको नियमित प्रशिक्षण दिँदै आएका छन् । उनीहरूले विभिन्न प्रतियोगितामा सहभागिता जनाउनेदेखि डेमोस्ट्रेसन गर्दै आएका छन् ।
'सादा जीवन उच्च विचार'को अनुयायी कल्याणले एउटा लक्ष्य निर्धारण गरेका छन् । यही लक्ष्यलाई साकार पार्न उनले अपांग खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । सन् २०२० को टोकियो ओलम्पिकमा राष्ट्रका लागि पहिलो पदक भित्र्याउने लक्ष्य उनको छ । 'विश्व खेलकुदको कुम्भमेलामा अहिलेसम्म नेपाली खेलाडीले सफलता हासिल गर्न सकेका छैनन् । टोकियो ओलम्पिकमा सपांग खेलाडीले नसके पनि अपांगता भएका खेलाडीले पदक ल्याउँछन् । म त्यही लक्ष्यलाई अर्जुनदृष्टि बनाएर खेलाडीहरूलाई तालिम दिइरहेको छु' कुँवर भन्छन् ।
तेक्वान्दो खेलको विकास र विस्तारमा लामो समय खर्चिएका कल्याण यस क्षेत्रबाट टाढा हुन नसक्ने बताउँछन् । 'मैले लामो समय यही क्षेत्रमा खर्चिएँ । अब यस क्षेत्रबाट टाढा हुने कल्पनासम्म पनि गर्न सक्तिनँ' कुँवर भन्छन् ।
चितवनको रत्ननगर नगरपालिका-१ बकुर्लर बिर्ताका कुँवरले सानैमा तेक्वान्दो सिक्ने अवसर पाए । माइला दाइ यादव कुँवरको प्रेरणामा कल्याणले १० वर्षको उमेरमा सेतो 'दोबक' लगाएर 'किक' हान्न सिकेका थिए । सानोमा उनले रहरले भन्दा पनि देखासिखीले तेक्वान्दो सिक्न थाले । तर खेलमा ध्यान दिँदा उनको पढाइ बिग्रियो । उनको ध्यान पढाइमा भन्दा तेक्वान्दोमा केन्द्रित हुन्थ्यो । जसले गर्दा घरमा सधैं गाली खानुपथ्र्यो । कल्याणले खेल्न नछोड्ने बुवाआमाले सधैं गाली गरिरहने प्रवृत्ति धेरै पटक दोहोरिरह्यो ।
आफैंलाई तेक्वान्दो सिकाएका दाजुले वैदेशिक रोजगारीको क्रममा हात गुमाएपछि कल्याण कुँवरले उनै दाजुलाई पारा तेक्वान्दोको च्याम्पियन बनाए । अहिले उनी अपांगतायुक्त खेलाडीबाटै ओलम्पिक मेडल नेपाल भित्र्याउने ध्याउन्नमा छन् ।
तेक्वान्दोप्रति भाइको लगाव देखेर माइला दाजु यादव कुँवरले उनलाई सहयोग गरे । कल्याणलाई तेक्वान्दोमा लाग्ने प्रेरणा दिए । सुरुमा देखासिखीको भरमा थालेको तेक्वान्दो पछि नशा बन्दै गयो ।
कल्याणलाई परिवारले चाहेर पनि उनलाई तेक्वान्दोबाट टाढा राख्न सकेनन् । तेक्वान्दोप्रतिको उनको समर्पण देखेर परिवारले पनि उनलाई साथ दियो । पढाइ नबिगार्ने सर्तमा उनले खेललाई अगाडि बढाउन पाए । त्यसपछि उनले पढाइ र खेललाई सँगसँगै बढाए ।
परिवारबाट सहयोग पाएपछि कल्याणले चितवन चैनपुरको सौराह तेक्वान्दो डोजाङबाट उनले आफ्नो खेल जीवनलाई अगाडि बढाए । उनी बिहान बेलुका डोजाङमा गुरु कृष्ण चौधरीबाट सिक्थे । डोजाङमा सिकेको कला घरमा प्राक्टिस गर्थे । त्यसलाई निखार्ने काम माइला दाजु यादवले गर्ने गर्दथे । दाजुभाइको 'तेक्वान्दो ट्युनिङ' मिलेपछि कल्याणले सानै उमेरमा सफलता हासिल गरे ।'बुवाआमाबाट जति गाली खाए पनि मैले खेल्न छाडिनँ । तेक्वान्दोप्रतिको मेरो लगाव देखेर माइला दाइले धेरै सहयोग गर्नु भयो । दाइको प्रेरणा र हौसलामा मैले तेक्वान्दो खेल्न पाएँ' कल्याणले आफ्नो विगतलाई सम्झिँदै भने ।
दाइकै प्रेरणा र हौसलामा उनले विभिन्न प्रतियोगितामा सहभागिता जनाए । वि.सं २०५१ सालमा जिल्लास्तरीय प्रतियोगितामा रजत पदक जितेका कल्याणले थुप्रै प्रतियोगितामा सहभागी भए । २०५३ सालमा बागलुङमा भएको क्षेत्रीय प्रतियोगितामा पनि रजत पदक प्राप्त गरे । यसपछि पनि उनले थुप्रै प्रतियोगितामा सहभागिता जनाएर पदक जित्ने अभियानलाई अगाडि बढाइरहे ।