भरपर्दो नयाँ विकल्प नपाएसम्म मतदाता पुरानै शक्तिलाई रोज्दा रहेछन् : नयाँ शक्ति नेपाल
काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले स्थानीय तहको निर्वाचले भरपर्दो नयाँ विकल्प नपाएसम्म मतदाता पुरानै शक्तिलाई रोज्न वाध्य हुँदा रहेछन् भन्ने निष्कर्ष निकालेको छ । स्थानीय तहमा नयाँ शक्तिले एक स्थानबाहेक अन्य स्थानबाहेक अरु सुरक्षित गर्न नसकेको समीक्षा गर्र्दै चुनावले महत्वपूर्ण शिक्षा दिएको निचोड निकालेको हो ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुरा भट्टराई प्रेस विज्ञप्ति जारी गर्दै चुनावी अनुभवले पार्टीको पुनर्निर्माणको अवसर दिएको उल्लेख गर्नुभएको छ । ‘हामीले गरेका प्रयासहरुमा कहाँ कमजोरी रहन गयो भन्ने शिक्षा दिएको छ, त्यसबाट शिक्षा लिँदै हामी देशव्यापी रुपमा पार्टी संगठन पुनर्निर्माण र नवनिर्माण गर्दै जनता नजिक जानेछौं' विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा अझ दृढताका साथ लाग्न र पुराना शक्तिहरुप्रतिको विकर्षणको सही विकल्प बन्न र बनाउन उच्च मनोबलका साथ अगाडि बढ्न शिक्षा प्राप्त भएको विज्ञप्तिमार्फत भट्टराईले बताउनुभयो ।
‘समग्र परिणाम निश्चय नै हाम्रो आशा अनुरुप थिएन तर वर्ष दिन अघिमात्र खुलेको र दर्ताका हिसाबले कान्छो पार्टीको राष्ट्रिय रुपमा हामीले पाएको मतका आधारमा हाम्रो उपलब्धिलाई न्यूनीकरण गर्न मिल्दैन, यात्रा बल्ल सुरु भएको छ, अघिल्तिर सम्भावनाका अनन्त क्षितिज उघ्रिएका छन्' विज्ञप्तिमा भनिएको छ ।
लामो समयको राजनीतिक अन्यौललाई चिर्दै मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु एउटा ऐतिहासिक उपलब्धि भएको बताएको छ । नयाँ शक्तिले पुरानो स्थानीय निकायको निर्वाचन नभई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको पहिलो निर्वाचन भएकाले ऐतिहासिक निर्वाचनमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेको छ ।
वैकल्पिक राजनीतिसँग डराएर षड्यन्त्रपूर्वक दलीय निर्वाचन चिन्ह नदिइएको नयाँ शक्तिले आरोप लगाएको छ । पुराना राजनीतिक शक्तिहरुले राजनीतिलाई देशको सबैभन्दा ठूलो र भ्रष्ट संगठित उद्योग बनाएको नयाँ शक्तिले उल्लेख गरेको छ ।
भनिएको छ-‘ वैकल्पिक राजनीति आजको भोलि नै सत्ता प्राप्त गर्ने राजनीति होइन, राजनीतिको अर्थहीनतालाई चुनौति दिन र नयाँ राजनीतिक संस्कार र प्रणाली स्थापना गर्ने यात्रामा छौं ।'