राजधानीमै ‘लाइसेन्स’ बिना चलाएको ट्रिपरको ठक्करले उपसचिवको मृत्यु
काठमाडौं : काठमाडौंको दुर्घटनाग्रस्त क्षेत्रका रुपमा लिइने गोंगबु क्षेत्रमा शनिबार मिनि ट्रिपरको ठक्करबाट पैदलयात्री उपसचिवको मृत्यु भएको छ। मृत्यु हुनेमा उपसचिव ४६ वर्षीय ऋषिराम पण्डित रहेका छन्।
श्रीमतीसँगैं मर्निङवाकमा निस्किएका पण्डितलाई टोखा नगरपालिका ८, बानियाँटारमा बा २ ख ५७३० नम्बरको ट्रिपरले ठक्कर दिएको थियो। गोंगबुबाट टोखातर्फ गइरहेको मिनिट्रिपरले बिहान पाँच बजे सडक पेटीमा हिडिरहेका पण्डितलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि त्यहाँको अवस्था केही समय तनावग्रस्त बनेको थियो। तनहुँ ब्यास नगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा पण्डित काठमाडौंको बानियाँटारमा परिवारसहित बस्दै आएका थिए। दुर्घटनामा सामान्य घाइते भएकी पण्डित पत्नीको उपचार भइरहेको छ।
‘घटनास्थलमै पण्डितको मृत्यु भएको हो। उहाँकी पत्नीको उपचार भइरहेको छ। उनको अवस्था सामान्य छ’, महाराजगञ्ज प्रहरी वृतका डीएसपी गोविन्द पुरीले भन्नुभयो।
पैदलयात्रीलाई ठक्कर दिने मिनिट्रकका चालक नुवाकोटका २५ वर्षीय लक्ष्मण सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सिटौलाको सवारीचालक अनुमती पत्र समेत नभएको जनाएको छ। मिनिट्रकका धनी भने सम्पर्कमा आएका छैनन्।