युवा संघका जिल्ला अध्यक्षमाथि आक्रमण
विदुर : निर्वाचनको सन्दर्भलाई लिएर नुवाकोटसँगै जोडिएको हिमाली रसुवा जिल्लाका युवा संघका जिल्ला अध्यक्षमाथि शुक्रबार बेलुकी सांघातिक आक्रमण भएको छ। आक्रमणमा परी एक युवा गम्भीर घाइते हुनुभएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ स्याफ्रुबेसीमा युवा संघका जिल्ला सदस्य २५ वर्षीय फुर्वास्याङ्बो तामाङलाई स्थानीय तरुण दलका कार्यकर्ता २७ वर्षीय रिसावाङ्दी तामाङलगायतले बेलुकी बजारमै आक्रमण गरी खुकुरीलगायत घरेलु हतियार प्रहार गरी गम्भीर घाइते बनाएको सांसद जर्नादन ढकालले जानकारी दिनुभयो। तत्काल तरुण दलका कार्यकर्ता रिसावाङ्दीलाई पक्राउ गरी कारबाही गरिनुपर्ने सांसद ढकालको माग छ।
स्थानीय तहको निर्वाचनमा रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा कांग्रेसले पराजय बेहोरेपछि तरुण दलका कार्यकर्ताले युवा संघका कार्यकर्तामाथि सुनियोजित रूपमा आक्रमण गरेको उहाँले बताउनुभयो। स्थानीयवासीले आक्रमणकारी युवालाई नियन्त्रणमा लिएर पहिले नपाली सेनाको जिम्मा लगाएकोमा सेनाले आक्रमणमा उत्रिएका रिसावाङ्दी तामाङलाई केही समयपछि प्रहरीको जिम्मा लगाएको थियो। प्रहरीले भने कारबाही नगरी छाडिदिएको युवा संघ रसुवाका अध्यक्ष माहिला श्रेष्ठले बताउनुभयो।
गम्भीर घाइते युवा तामाङको टाउको, शरीर तथा हातमा गम्भीर चोट लागेको छ। गम्भीर घाइते युवालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडांै लगिएको छ।