खेतको गरामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

खेतको गरामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

मंगलसेन : चारैतिर खेतीका लागि जोतिएको जमिन छ । बीचको एउटा गरामात्र खनजोत गर्न बाँकी छ । त्यही गराको पनि छेउछाउमा गोबर मल पनि छरिसकिएको छ । तर, सोही गरामा स्टम्प गाडेर जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता चलिरहेको छ । यो दृश्य हो, अछाम सदरमुकाम मंगलसेनस्थित पुरानो जिल्ला विकास समितिको कार्यालय भवनको उत्तरतर्फको खेतबारीको । त्यहाँ वैशाख ३१ गतेदेखि जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको चौथो संस्करण सुरु भएको छ ।

वर्षेबाली लगाउन जोतिएका गरामात्र नभएर चारैतिरको बाउन्ड्रीभित्र पनि स्थानीयका घर, सानादेखि ठूलठूला रूख, केराका बोट र सडक रहेका छन् । गराको छेउछाउ तथा नालीमा प्रशस्त मात्रामा सिस्नो उम्रिएको छ । फिल्डिङ गर्ने क्रममा सिस्नोले खेलाडीलाई नमज्जाले पोल्छ । टन्टलापुर घामको चर्को राप र सिस्नोको पोलाईलाई समेत वास्ता नगरी खेलाडी क्रिकेट खेल्नमा व्यस्त छन् ।

‘फिल्डिङ गर्दा लडेर कति गरा तल पुगिने हो, पत्तै हुँदैन तर, गरामा क्रिकेट खेल्नुको आनन्द बेग्लै हुँदो रैछ', कैलालीको टीकापुरबाट क्रिकेट खेल्न अछाम आएका मंगला विकास कल्ब ओली गाउँका खेलाडी महेश कँवरले आफ्नो रमाइलो अनुभव सुनाए, ‘ध्यान सबै बलमा केन्द्रित हुने भएकाले दौडँदै जाँदा सिस्नोले चिलेर तिरिमिरी झ्याइँ पार्छ ।'

चौका—छक्का हुने बल पनि रूख र गराको भित्तामा लागेर एक रन लिन पनि धौधौ पर्छ । रूख र घरले गर्दा कहिलेकाहीँ बल नदेखिएर अम्पायरलाई चौका हो या छक्का भनेर छुट्याउनै हाम्मेहाम्मे पर्छ । ए स्टार युवा क्लब मंगलसेनले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्लाका १६ वटा टोलीले सहभागिता जनाएका छन् । स्थानीयलगायत राष्ट्रिय तथा क्षेत्रीयस्तरका प्रतियागितामा सहभागी भइसकेका खेलाडी पनि यो प्रतियोगितामा विभिन्न टोलीबाट खेलिरहेका छन् ।

टन्टलापुर घामलाई समेत सहँदै खेलाडीजस्तै दर्शक पनि क्रिकेटको मज्जा लिन बाक्लो रूपमा उपस्थित भएका छन् । मैदानको अभावमा खेतको गरामा पनि क्रिकेट प्रतियोगिता आयोजना हुनु र दर्शक तथा सहयोगीको गतिलो साथ पाउनुले क्रिकेट खेलप्रति ग्रामीण भेगमा समेत क्रेज बढ्दो अवस्थामा रहेको देखिन्छ । यू-१९ राष्ट्रिय प्रतियोगिता खेलिसकेका सागर भण्डारीले खेतका गरामा भए पनि जिल्लास्तरीय प्रतियोगिता आयोजना हुनुले युवापुस्तामा क्रिकेट खेलप्रतिको क्रेज निकै बढेको संकेत दिएको धारणा व्यक्त गरे ।

यसैगरी खेतको गरामा खेलेर पनि राष्ट्रलाई योगदान पुर्‍याउने खेलाडी जन्माउन सकिने विश्वाससमेत उनले व्यक्त गरे । आयोजक ए स्टार युवा क्लबका अध्यक्ष तपेन्द्र विष्टले क्रिकेट खेलप्रति युवाको आकर्षण बढेकाले खेतको गरामा भए पनि प्रतियोगिता अयोजना गरिएको बताए । ‘सहयोगी निकाय र दर्शकको बाक्लो उपस्थितिले पनि प्रतियोगिता सञ्चालनमा थप हौसला मिलेको छ', विष्टले भने ।

१० ओभरको उक्त प्रतियोगिताको विजेता टोलीलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि मात्र मंगलसेनकै ओली गाउँमा जिल्लाकै सर्वाधिक राशिको जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेको छ । मंगला विकास क्लबले आयोजना गरेको उक्त प्रतियोगिता १०औं सस्करण हो । लगातार १० वर्षदेखि खेतको गरामा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । आयोजकले नै जितेको उक्त प्रतियोगिताको विजेता टोलीले ३६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पाएको थियो ।

यस्ता जिल्लास्तरीय प्रतियोगिताबाहेक गाउँगाउँमा समेत थुप्रै क्लबस्तरीय प्रतियोगिता खेतको गरामै आयोजना हुने गरेका छन् । अहिले खेतको गरामा क्रिकेट प्रतियोगिता चलेजस्तै पहिला भलिबल प्रतियोगिता पनि हुने गथ्र्यो । पछिल्लो समय भलिबल खेल्ने खेतको गरामा क्रिकेट खेल्न थालिएको हो । टेलिभिजनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता देखेर अछाममा पनि क्रिकेट खेलको क्रेज बढिरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छविराज ढुंगाना बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.