राजनीति र तरकारीखेती सँगसँगै
प्युठान : युवा अवस्थामै राजनीति क्षेत्रमा होमिएका झिमरुक गाउँपालिका बांगेमरोठ बौंडाका प्रेम पुनले घरमै व्यावसायिक तरकारीखेती गरेर लाखौं आम्दानी गर्नुभएको छ । तीन वर्षदेखि नौ रोपनी क्षेत्रफल जग्गामा उहाँले तरकारी फलाउँदै आउनुभएको छ । मौसमी र बेमौसमी तरकारीखेती आम्दानीको भरपर्दो स्रोत भएको उहाँले बताउनुभयो । बन्दा, काउली, टमाटर, भेडे खुर्सानी र आलुखेती गर्दै आइरहेको पुनले जानकारी गराउनुभयो ।
हिजोआज उहाँको खेतभरि बन्दा र काउली फलेको छ । 'वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी भइरहेको छ', उहाँले भन्नुभयो, 'मेहनत गर्नसके घरमै आम्दानी गर्न सकिँदो रहेछ ।' प्रमाणपत्र तह (प्लस टु) अध्ययन गर्नुभएका पुनले व्यावसायिक खेतीलाई अझै विस्तार गर्दै लैजाने सोच बनाउनुभएको छ । उनका धेरै दौतरी घरखर्च चलाउनकै लागि विदेश गएका छन् । '६ वर्षदेखि घरमा तरकारी किनेर खाएका छैनौं', उहाँले भन्नुभयो, 'घरमा खानलाई पहिलेदेखि नै खेती गर्थेँ । तीन वर्षदेखि व्यावसायिक खेती गरिरहेको छु ।'
व्यावसायिक खेतीसँगै राजनीतिक यात्रालाई पनि सँगै लगेको उहाँ बताउनुहुन्छ । साविकको बांगेमरोठ गाविसमा नेकपा माओवादी केन्द्रबाट उहाँले लामो समयदेखि दलीय प्रतिनिधित्व जनाउँदै आउनुभएको छ । 'राजनीतिमा पूरै समय खर्चिन हुँदैन', पुनले भन्नुभयो, 'नेताले भाषण मात्र गर्ने हैन । उत्पादनसँग जोडिएर कार्यकर्तालाई उदाहरण पनि दिन सक्नुपर्दो रहेछ ।'
३० वर्षीय पुनले खेतमा पाँचवटा टनेल बनाएर तरकारी लगाउनुभएको छ । खेत नजिकैबाट नेवारेखोला बगिरहेकाले सिँचाइ समस्या नरहेको उहाँले सुनाउनुभयो । 'उत्पादन गरेपछि बिक्री गर्न समस्या छैन', पुनले भन्नुभयो, 'धेरै ग्राहक घरमै आउँछन् ।' छिमेकी जिल्ला अर्घाखाँचीको गोखुंगा, गुल्मीको पुरकोटदहसहित स्थानीय बांगेफेदी र मच्छी बजारमा तरकारी बिक्री गर्दै आएको उहाँले जानकारी गराउनुभयो ।
नेवारेखोला–बांगे–बौडा हुँदै अर्घाखाँची र बांगेफेदी–पुरकोटदह (गुल्मी) सडक सञ्चालनमा आएपछि तरकारी बिक्री गर्न धेरै सहज भएको उहाँले जानकारी गराउनुभयो । जिल्ला कृषि विकास कार्यालय प्युठानले टनेल खरिदमा अनुदान दिएको पुनले बताउनुभयो ।
जन्मघर बांगेमरोठको बौंडा भए पनि विगत नौ वर्षदेखि उहाँ आफ्नो परिवारलाई लिएर अठ्ठाइसेमा बसाइ सर्नुभएको छ । 'बेसी झरेदेखि नै तरकारी खेतीमा लागेका हौं', उहाँकी जीवनसंगिनी पवित्रा पुनले भन्नुभयो, 'विहान उठेदेखि साँझसम्म तरकारीबारीमै व्यस्त हुन्छौं ।' तरकारीसँगै व्यावसायिक कुखुरापालन पनि यो जोडीले अघि बढाइरहेको छ ।