गौतमबुद्ध विमानस्थल निर्माणमा ढिलासुस्ती

गौतमबुद्ध विमानस्थल निर्माणमा ढिलासुस्ती

भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलासुस्ती भएको भन्दै आयोजनाले चिनियाँ कम्पनी नर्थवेस्टलाई कारबाही गर्ने चेतावनी दिएको छ । चिनियाँ ठेकेदारको आलटाले प्रवृतिले विमानस्थलको काम प्रभावित भएपछि आयोजनाले कठोर कदम चाल्न बाध्य हुने अवस्था आएको हो ।

राष्ट्रिय गौरवको आयोजना निर्माण कार्य सम्झौताबमोजिम चिनियाँ कम्पनीले उत्साहजनक ढंगले काम अगाडि बढाउन नसकेकोप्रति तीव्र असन्तोष प्रकट भइरहेको छ । काममा ढिलासुस्ती कायमै रहे अबको एक महिनापछि कारबाही थालिने आयोजनाका निर्देशक ओम शर्माले जानकारी दिनुभयो ।

'यही जुन महिनासम्म टाइम लाइन दिएका छौं । ठेकेदार कम्पनीले जुनसम्म ४० प्रतिशत काम पूरा गर्ने प्रतिबद्धता गरेको छ । 'यदि समयमै सन्तोषजनक काम नभए, जुनसुकै किसिमको कारबाही गर्न सकिने अवस्था छ', उहाँले भन्नुभयो । रिटेन्डर वा टर्मिनेसन गर्ने वा नगर्ने र चिनियाँ ठेकेदारलाई जरिवाना गर्नेलगायत विषयमा जुनसम्म टुंगो लाग्नेछ ।

समयमै निर्माण कार्य सम्पन्न गर्न आयोजनाले चिनियाँ कम्पनी नर्थवेस्टको प्रशंसा गर्ने, सकारात्मक आलोचना गर्ने, काममा सहयोग एवं इनकरेज गर्ने रणनीति लिएको छ । जुनसम्म ४० प्रतिशत काम देखाउनुपर्छ तर त्यो सम्भव देखिँदैन । आयोजनाको हालसम्म २४ प्रतिशत काम पूरा भएको प्रमुख निर्देशक ओम शर्माले जानकारी दिनुभयो ।

दिनहुँ डेढ करोड खर्च हुनेगरी कामको स्पिड बढाउनुहोस् । कम्तीमा ५०० जना लेबर मिस्त्री राखेर काम कजाउनुहोस्, तबमात्र समयमै १३ महिनामा काम सकिन्छ । अहिलेको अवस्थाले दुई वर्षमा पनि मुस्किल पर्ने देखिन्छ । सबै क्षेत्रको अप्ठ्यारो काम सकिएको छ । अब भटाभट स्पिडमा काम गर्न सकिने र सजिलो काम छ । तर, कम्पनीले गत वर्षको गतिमा काम गरेको छैन । आन्तरिक व्यवस्थापनको कमीले एक महिनादेखि काम रोकिएको छ।

कम्पनीको आन्तरिक व्यवस्थापन चुस्त नहँदा काममा ढिलाइ भएको हो । अर्कोतर्फ विमानस्थल निर्माण कार्यमा कम्पनी स्वयंले आवश्यक जनशक्ति, उपकरण एवं लगानी गरेको छैन । नेपाली ठेकेदारलाई पेटीमा काम दिएको छ । अहिले नेपाली र चिनियाँ ठेकेदारबीच कामदाममा बिबाद हँदा एक महिनादेखि विमानस्थल निर्माणको काम रोकिएको छ । ठेकेदार बिचको समस्या सुल्झाउन र कामलाई तीव्रता दिन डा. युवराज संग्रौलाले सहजीकरण गरिरहनुभएको छ ।

आयोजनाले निर्माण कार्यमा आर्थिक, प्राविधिक तथा निर्माण सामग्रीमा अभाव हुन नदिन ठेक्काको २० प्रतिशत रकम मोबिलाइजेसनका लागि ठेकेदारलाई अग्रिम रूपमा दिएको थियो । 'यसबाहेक ठेकेदारले पाउने नियमित भुक्तानी कामको आधारमा बिलबमोजिम पाइरहेको छ । यसैबिचमा चाइनिज कम्पनी नर्थवेस्टले पनि ठेक्का लिँदा ६२ करोड धरौटी राखेको छ । कम्पनीले आयोजनाबाट ७८ करोड मोबिलाइजेसनबापत पेस्की, काम गरेअनुसार बिलबमोजिम ५३ करोड, थप १० करोडसहित हालसम्म एक अर्ब ४१ करोड रुपैयाँ लिएको आयोजनाले जनाएको छ ।

वर्षातअघि तीन हजार मिटर रनवेमा मिस्कट बलौटे माटोको काम र अन्तर्राष्ट्रिय टर्मिनल एवं प्रशासनिक भवनको जमिनसँगको पहिलो तला निर्माणको काम सम्पन्न गरिसक्नुपर्छ । नत्र हालसम्म भएको काम वर्षाले बिग्रने, पुन: बनाउँदा खर्च बढ्नेछ । अर्कोतर्फ मर्मत गरे पनि गुणस्तरीय नहुने र निर्धारित समयमा काम पूरा नहुने अवस्था आउन सक्छ । यसैले ठेकेदारलाई तीव्र गतिमा काम अगाडि बढाउन बारम्बार निर्देशन जारी राखेको आयोजना निर्देशक ओम शर्माले बताउनुभयो ।

धावन मार्गको दोस्रो चरणको काम पूरा भएको छ । अब त्यसमा तेस्रो र चौथो चरणको काम गर्न बाँकी छ । अहिले रनवेमाथि मिस्कट र गिट्टी बिच्छाउने काम सुरु भएको छ । विभिन्न तहमा रोलिङ गर्दै अझै दुई फुट अग्लो ग्राभेलिङ गरिसेकेपछि मात्र रनवेमा कालोपत्रे गरिनेछ । आइकाव एवं अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका विमानस्थलमा भूकम्पप्रतिरोधी संरचना निर्माण गरिँदैछ ।

विमानस्थलमा आवश्यक पर्ने निर्माण सामग्री एवं कच्चा पदार्थ वर्षा सुरु हुनुभन्दा पहिले नै जम्मा गर्न र कामलाई तीव्रता दिन जरुरी छ । २०२३ सालमा घासे मैदानबाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थल स्तरोन्नति गरी अहिले अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण कार्य जारी छ ।

चीनको नर्थवेस्ट कम्पनीका विमानस्थल निर्माणमा खटिएका प्रमुख प्रतिनिधि जु जोले कन्ट्रयाक्टर लगानी गर्न आएको होइन, कामको स्पिडमा पैसा लिएको बताउनुभयो । 'चीन सरकारमातहत कन्ट्रयाक्टर हुँदा जथाभावी काम गर्ने अधिकार आफूलाई छैन, बाहिरबाट सिधै पैसा झिकाउन सजिलो छैन, आफ्नै सीमा र प्रक्रिया छन् । काम नभएको होइन गरिरहेकै छौं', उहाँले भन्नुभयो । 'धेरै अप्ठेरा हुँदा काममा अलि ढिला भयो तर अझसम्म केही बिग्रेको छैन ।' यसैबीच एक महिनादेखि विमानस्थल निर्माणको काम रोकिएकोप्रति गम्भिर चासो देखाउँदै सिद्धार्थ उद्योग वाणिज्य संघको व्यापारिक मण्डलले आयोजनाका निर्देशक एवं चिनियाँ ठेकेदार प्रतिनिधिलाई काम सुचारु गरी निर्धारित समयमै सम्पन्न गर्न दबाब दिएको छ ।

६ अर्ब २२ करोड ५१ लाख २० हजार द्ई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो तर, मधेस आन्दोलन एवं भूकम्पको प्रभावले काम रोकिँदा ठेकेदारलाई ६ महिना म्याद थप गरी २०१८ को जुनसम्म जसरी पनि सक्नुपर्नेछ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम सुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.