उद्योग बन्द हुँदा मजदुरको बिचल्ली
वीरगन्ज : पथलैया औद्योगिक कोरिडोरको इस्टर्न टेक्सटाइल इन्डस्ट्रिज लिमिटेड डेढ वर्षदेखि बन्द हुँदा त्यहाँ कार्यरत मजदुको बिचल्ली भएको छ । बाराको जितपुरमा रहेको उद्योग घाटामा गएको भन्दै उद्योग सञ्चालकले २०७२ साल कात्तिकमा बन्द गरेपछि कार्यरत ४७ जना मजदुको बिचल्ली भएको छ ।
काम गरेको समयको तलब भत्ता, सञ्चय कोष, दसैं खर्च, बोनसलगायत रकम वितरण नै नगरी सञ्चालकले उद्योग बन्द गरेको र डेढ वर्षदेखि उक्त तलब सुविधाका लागि पटकपटक धाउँदा पनि नपाएको मजदुरले बताएका छन् । पीडित ४७ जना मजदुरले शनिबार पत्रकार सम्मेल गरी उद्योग सञ्चालकले आफूमाथि अन्याय गरेको भन्दै न्याय दिलाइदिन माग गरेका छन् । बन्द उद्योगको मूल गेटमै पत्रकार सम्मेलन गरी पीडितले सरकारको नियम कानुनको धज्जी उडाउँदै उद्योग सञ्चालक र व्यवस्थापकले बिचल्लीमा पारेको बताए । न्यायका लागि पहल गरिदिन उनीहरूले आग्रह गरेका छन् ।
मजदुरका तर्फबाट वीरगन्जस्थित श्रम कार्यालयमा दिइएको निवेदन बिचाराधीन अवस्थामा रहेको अवस्थामा पनि उद्योग प्रशासनले आफू निकटका सीमित मजदुरलाई मात्र राखी २०७१ साल फागुन २७ गते गरेको सहमति आफूलाई मान्य नभएको पीडित मजदुरले बताएका छन् ।
पत्रकार सम्मेलनमा पीडित मजदुर मध्येका रामबाबु पासवानले श्रम कार्यालयका प्रतिनिधिसमेत नराखी गोप्यरूपमा गरिएको सहमतिको कुनै औचित्य नहुने बताउनुभयो ।डेढ वर्ष पहिले उद्योगका मुख्य सञ्चालक मुकुल लोहीयाले उद्योग घाटामा रहेको भन्दै मजदुरको तलब नदिई अचानक उद्योग बन्द गरेपछि उद्योग प्रशासन बिरुद्ध पीडित मजदुरले २०७१ साल असोज २७ गते नै श्रम कार्यालयमा विभिन्न मागसहित निवेदन पेस गरेका थिए ।
श्रम कार्यालय वीरगन्जमा उद्योगमा कार्यरत मजदुर रामबाबु राम पासवानसहित २० जना मजदुरले उद्योगलाई विपक्षी बनाइ पेस गरेको निवेदन उपर छलफल गरी श्रम कार्यालयले उद्योगमा कार्यरत मजदुरको माग बमोजिम तलब भत्ता तथा सुविधा दिलाई काममा निरन्तरता दिन आदेशसमेत दिएको थियो ।
इष्ट्रन टेक्सटाइल उद्योगमा कार्यरत मजदुरहरुले २०७२ सालको असारदेखि कात्तिकसम्मको पारि श्रमिक, दसैं खर्च, बिदा रकम, सञ्चयकोष, बिमा रकम, मृत्यु भएका कामदारको हरहिसाब, राजीनामा दिएकाको हिसाब समेत अनुचित ढंगबाट कम्पनीले रोक्का गरेको भन्दै उक्त रकम दिलाईदिन श्रम कार्यालयमा निवेदन दिएका थिए ।
श्रम कार्यालय वीरगन्जका प्रमुख राधेश्याम झाले गरेको निर्णय उद्योग व्यवस्थापनले कार्यान्वयन नगरेकाले सरकारी ऐन कानुनको धज्जी उडाउने उद्योग प्रशासनलाई कारबाही गर्न समेत मजदुरले माग गरेका छन् ।
२०७३ साल वैशाख १६ गते श्रम कार्यालय वीरगन्जले गरेको फैसलामा , निवेदक मजदुरको माग जायज रहेको उल्लेख छ । श्रम कार्यालयले गरेको निर्णय चित्त नबुझे निर्णय भएको मितिबाट ३५ दिनभित्र श्रम अदालतमा पुनरावेदन गर्न सक्ने समयसीमा समेत गुजारेको उद्योग प्रशासनले आफूहरूको माग नसुनेको पीडित मजदुर मध्येका सन्जय तिवारीले गुनासो गर्नुभयो ।
नियम अनुसार कुनै पनि उद्योग तथा व्यवसाय स्थायी वा अस्थायी रूपमा बन्द गर्नुअघि श्रम कार्यालयको स्विकृति लिनुपर्ने व्यवस्था छ । तर, इस्ट्रन टेक्सटाइल उद्योगले उद्योग बन्द गर्ने विषयमा कुनै पनि जानकारी सरकारी निकायलाई गराएको छैन ।
यस बारेमा उद्योगका मुख्य सञ्चालक लोहीयालाइ सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । स्रोतका अनुसार मुख्य सञ्चालक लोहियाले उद्योगको रकम काठमाडौंमा हाउजिङमा लगानी गरेको र उक्त हाउजिङ विनाशकारी भूकम्पका बेला चर्किएपछि उनको त्यो लगानी डुबेपछि उद्योग सञ्चालन ल्याउन नसकेका हुन् ।
बाराको जितपुरमा रहेको उद्योग घाटामा गएको भन्दै उद्योग सञ्चालकले २०७२ साल कात्तिकमा बन्द गरेपछि कार्यरत ४७ जना मजदुको बिचल्ली भएको छ ।