परराष्ट्रका कर्मचारी सरुवाको तयारी

परराष्ट्रका कर्मचारी सरुवाको तयारी

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने तयारी गरिरहँदा परराष्ट्रमन्त्री प्रकाशशरण महतले विदेशस्थित विभिन्न नेपाली नियोगका कर्मचारीको सरुवा गर्ने तयारी गर्नुभएको छ ।

८ उपसचिव, ५ शाखा अधिकृत र ७ जना सुब्बा तहका कर्मचारीको सरुवा आइतबार टुंगो लगाउने तयारी गरिएको जानकारी मन्त्रालय स्रोतले दिएको छ । सरकारको बहिर्गमनअघि मन्त्री महतले गर्न लाग्नुभएको सरुवा परराष्ट्रकै केही कर्मचारीका कारण विवादास्पद पनि बनेको छ ।

परराष्ट्र कर्मचारी सरुवा निर्देशिकाअनुसार गत चैतमा नै विदेशस्थित नियोगका कर्मचारीको सरुवा गर्नुपर्ने भए पनि अनावश्यक विवाद झिकेर रोकेर थाती राखेको आरोप कर्मचारी लगाउँछन् । स्रोतका अनुसार मन्त्री महतको निर्देशनमा हालै मात्र निर्देशिकामा दोस्रोपटक हेरफेर गरिएको छ ।

विगतमा ६÷६ महिनामा कर्मचारी सरुवा हुने गरेको भए पनि केही कर्मचारी ‘एड्जस्ट गर्नुपर्ने' भन्दै आगामी २०७५ वैशाखसम्ममा पद रिक्त हुने नियोगमा समेत सरुवाको तयारी भइरहेको छ । ‘मन्त्री निकटलाई आकर्षक नियोगमा सरुवा दिलाउन निर्देशिका हेरफेर गरिएको छ । यसले इमानदार कर्मचारीबीच निराशा र असमझदारी पैदा गरेको छ', परराष्ट्र स्रोतले भन्यो ।

आफ्नै सचिवालयमा कार्यरत उपसचिव प्रकाश अधिकारीलाई क्यानडास्थित नेपाली दूतावासमा सरुवा गर्र्ने पक्षमा मन्त्री महत अडिग हुनुहुन्छ । मन्त्रालयका कर्मचारीले अधिकारीलाई आकर्षक नियोगमै पठाउनु निर्देशिका र स्थापित मान्यताविपरीत हुने बताउँदै आएका छन् । अधिकारीले यसअघि आकर्षक मानिएको क वर्गका न्युयोर्क र डेनमार्कस्थित नियोगमा काम गरिसक्नुभएको छ ।

क्यानाडास्थित नियोगमा सरुवा पाउनुपर्ने अडानमा उपसचिव दुरपदा सापकोटा पनि हुनुहुन्छ । तर सापकोटालाई आउँदो वैशाखमा रिक्त हुने काठमाडौंस्थित सार्क सचिवालयको निर्देशकमा पठाउने तयारी भइरहेको परराष्ट्र स्रोतको भनाइ छ । सरुवा हुने उपसचिवको सूचीमा प्रकाश अधिकारी, दुरपदा सापकोटा, दधिराम भण्डारी, सागर फुयाँल, सुधीर भट्टराई, पारस पण्डित, कुमार राई र रामसिंह थापा हुनुहुन्छ ।

बेइजिङ, श्रीलंकाजस्ता आकर्षक नमानिने ‘ग' वर्गका दूतावासबाट करिब दुई वर्षअघि मन्त्रालय फर्किनुभएका उपसचिव राई र थापालाई सरुवासूचीमा राखिएको छैन । ‘तर एक वर्षअघि मात्रै फर्किएकालाई भने सरुवाको तयारी गरिएको छ । यो अन्यायपूर्ण छ', एक सहसचिवले भने ।

साउदी अरेबियास्थित दूतावासमा कार्यरत सुब्बा अरेन्द्र महर्जनलाई फ्रान्समा सरुवा गर्ने तयारी भएको छ । महर्जनलाई हालै कारबाहीको सिफारिस भएको स्रोत बताउँछ । नियमित रूपमा हुनुपर्ने प्रक्रियाअनुसार तथा न्यायपूर्ण सरुवा हुनुपर्नेमा मन्त्रीको तहबाट भएको अनावश्यक हस्तक्षेपले कर्मचारीबीच असन्तुष्टि चुलिएको कर्मचारी बताउँछन् । सहसचिव स्तरमा सरुवा समिति बनाइए पनि मन्त्री तहबाट भएको हस्तक्षेपले समस्या उत्पन्न भएको अधिकारी बताउँछन् ।

‘मन्त्रीले परराष्ट्रको संस्थागत हित, विदेश नीति सञ्चालनका लागि ठोस पहल र सुदृढीकरणमा ध्यान दिनुपर्नेमा अधिकृत, उपसचिव र सुब्बा तहका कर्मचारीको सरुवामा ध्यान केन्द्रित गर्नु अत्यन्त दुःखद् छ', एक सहसचिवले अन्नपूर्णसँग भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.