वीरगन्जमा नागरिक समाजका अगुवाहरुको पुत्ला दहन
वीरगन्ज : संविधान संशोधनको मुद्दा थाँती राखेर जेठ ३१ मा दोश्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि सार्वजनिक अपिल सहितको विज्ञप्ति जारी गर्ने नागरिक समाजका अगुवाको वीरगन्जमा पुत्ला दहन गरिएको छ ।
युवा शक्ति संघ नेपालको आह्वानमा मधेसी दल सम्बद्ध युवाले शनिबार साँझ वीरगन्जको घण्टाघर चोकमा पत्रकार कनकमणि दिक्षित , पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, संविधानसभाको संवैधानिक समितिका पूर्व अध्यक्ष निलाम्बर आचार्य, तात्कालीन स्थानीय तह पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल, संविधानविद् विपिन अधिकारी , पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठलगायतको पुत्ला जलाएका हुन्।
नागरिक समाजको नाममा शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै मुलुकमा पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा सीमांकन हेरफेर, स्थानीय तहको संख्या थपघट, ऐन संशोधन जस्ता काम गर्ने अधिकार वर्तमान संविधानसभा र सरकारलाइ नभएको र यसो गर्दा निर्वाचन आचारसंहिता विपरित हुने भएकाले तत्काल संविधान संशोधनको मुद्दालाइ थाँती राखेर जेठ ३१ को दोश्रो चरणको चुनाव सम्पन्न गर्न सार्वजनिक अपिल गरेका थिए।
नागरिक समाजका अगुवाहरुको नाममा शुक्रबार जारी गरिएको विज्ञप्ति मधेस विरोधी हुनुका साथै पछिल्लो समय मधेसी दल र सरकारबीच भएको सहमतिलाई भाँडने नियतले ल्याइएको भन्दै वीरगन्जमा पुत्ला दहन गरेका हुन् ।
संविधान संशोधन, सीमा निर्धारण र स्थानीय तहको संख्या थपघटको विषयलाई कानुनी अड्चन बताउदै नागरिक समाजका अगुवाको नाममा मधेस विरोधीले आफु अनुकुल अवसरको खोजीका लागि आगामी निर्वाचन भाँड्ने र देशलाई फेरि अस्थिरताको दलदलमा फसाएर विदेशी डलरको खेती गर्ने दुष्प्रयास गरेको भन्दै मधसी दलका युवाले विरोध जनाएका हुन्।
पुत्ला दहन पछि आयोजित विरोधसभालाई सम्बाधेन गर्दै राष्ट्रिय जनता पार्टीका युवा नेता ओम प्रकाश सर्राफले नागरिक समाजका अगुवाको नाममा डलरको खेती गर्ने खसवादी सोचले ग्रस्तहरुले मुलुकमा पछिल्लो समय देखा परेको सहमतिको वातावरणलाई भाँड्ने षडयन्त्र गरेको आरोप लगाउनु भयो।
विरोधसभालाइ सानो पाइलाका शैलेन्द्र त्रिपाठी राष्ट्रिय जनता पार्टीका युवा नेता बृजकिशोर साह र नेतृ मुन्नि श्रीवास्तवले पनि सम्बोधन गर्नु भएको थियो ।